बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनले मजदुरको बेहाल : एकातिर कोरोनाको त्रास, अर्कोतिर भोकै मरिने चिन्ता

सोमबार, २४ चैत २०७६, १४ : ०२
सोमबार, २४ चैत २०७६

जनकपुर । कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुक विगत १४ दिनदेखि ‘लकडाउन’मा छ । सामाजिक दूरीबाट मात्र यो भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम हुन सक्ने भएकाले विश्वका कयौँ मुलुकले ‘लकडाउन’ घोषणा गरेका छन् ।

कोरोना संक्रमण नियन्त्रणमा ‘लकडाउन’ प्रभावकारी हुने देखिए पनि दैनिक ज्यालादारीमा काम गर्ने मजदूर वर्गलाई भने यही ‘लकडाउन’ कोरोना संक्रमणभन्दा ठूलो अभिशाप बन्न थालेको छ ।

‘लकडाउन’ का कारण विद्यालय, कलकारखाना, लामो तथा छोटो दूरीको सवारीसधान, हाट बजारमात्र नभई दैनिक ज्यालादारीमा गरिने कामसमेत अहिले ठप्प छ ।

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा लकडाउनका कारण विपन्न तथा मजदूर वर्गलाई परेको असर कम गर्न प्रहरी प्रशासनदेखि विभिन्न क्षेत्रका व्यक्तिहरुले राहत वितरण गरिरहेको दावी गरेका छन् । तर जनकपुरधाम उपमहानगरपालिकाका मजदुरहरु आफ्नो पीडा र बेदना कसैले नसुनेको गुनासो गर्दै आएका छन् ।

दैनिक ज्यालादारीमा काम गर्ने र ठेला चलाएर जीविका चलाउँदै आएका मजदुरले ‘लकडाउन’ का कारण आफूहरुले काम गर्न नपाएको र राहतको नाममा समेत केही पाउन नसकेको गुनासो गरेका छन् ।

सरकारले लकडाउनको घोषणा गरेपछि सामाजिक दूरी कायम गर्दै कोरोनाविरुद्धको अभियान सफल पार्न घरमै बसेका त्यस्ता मजदुरहरु दुई साता बित्दा जीविकोपार्जनकै समस्या भएको भन्दै छट्पटाउन थालेका छन् । एकातिर कामधन्दा बन्द भएका कारण आम्दानी ठप्प भएको र अर्कोतिर बचतसमेत नहुँदा परिवारको पेट पाल्न समस्या हुन थालेको उनीहरुको गुनासो छ ।

जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ३० वर्षीय राजा सहनी लकडाउन सुरु भएयता समस्या बढेको बताउँछन् । ठेला चलाएर आफ्नो र परिवारको गुजारा टार्दै आएका उनी ‘लकडाउन’ का कारण ठेला चलाउन नपाएर आम्दानीको बाटो नै बन्द भएको जिकिर गर्छन् ।

राजा सहनीले ठेला चलाएकै भरमा परिवारका ५ जनाको पेट पालिन्छ । रोजीरोटीको माध्यम बनेको ठेला चलाउन नपाउँदा करिब एक सातादेखि खानपिउन धौ धौ परेको उनको भनाइ छ । त्यसमाथि पनि छोरा बिरामी भएकाले समस्या बढेको उनी बताउँछन् । ‘अहिले मेरो परिवार भोक र रोगले ग्रस्त छ,’ उनी भन्छन्, ‘खै कता हो राहत बाँडेको सुन्छु, हामीलाई कसैले सोधखोज गरेको छैन ।’

अन्ततः पत्नीसँग रहेको ३ दाम सुनको गहना बेचेर उनले १ हजार रुपैयाँको जोहो गरे । त्यही रकमले उपचार गर्न भन्दै सिकिस्त रहेका छोरालाई लिएर उनी प्रादेशिक अस्पताल जनकपुर पुगे । त्यहाँ ईमर्जेन्सीको रसिद काटे । तर काउण्टरमा डेढ सय रुपैयाँको रसिद लिई सकेपछि अस्पतालले उनलाई फर्काइदियो । अहिले कोरोना रोगी बाहेक कसैको उपचार हुँदैन भनेर अस्पतालबाट फर्काइएको उनको भनाइ छ ।

स्थानीय पत्रकारको सहयोगमा उनी पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र यादवको नीजि अस्पताल जानकी हेल्थ केयरमा पुगे । बल्लतल्ल त्यहाँ उनको छोराको चेकजाँच र उपचार भयो । औषधी किनेर बाँकी रहेको रकमले उनले खाद्यान्नको जोहो गरे ।

राजा झैं अन्य मजदुरको समस्या पनि उस्तै छ । दैनिक काम गरेर गुजारा गर्दै आएका उनीहरु करिब दुई सातादेखिको लकडाउनका कारण दुई छाक टार्न कठिन हुँदै गएको बताउँछन् ।

कतिपयले फेसबुकका भित्ता रङ्ग्याउँदै राहत वितरणको तस्वीर राख्ने गरे पनि राजाजस्ता मजदुरहरु भने अहिलेसम्म कतैबाट सहयोग नपाएको गुनासो गरिरहेका छन् । उनीहरु कोरोनाभाइरस संक्रमणले आफूहरुलाई छुने हो या होइन, त्यो टुंगो नभए पनि त्यसअघि नै भोको पेटकै कारण मर्नुपर्ने अवस्था आउनेतर्फ चिन्तित हुन थालेका छन् ।

माछा मार्ने काम गर्दै आएका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ निवासी ४३ वर्षीय रामप्रसाद सहनीले लकडाउनका कारण रोजीरोटी खोसिने अवस्था आएको बताए । 

घरमा भएको चामल सकिएको र बाहिरबाट किनेर ल्याउनका लागि पैसा नभएकोले दुई दिनदेखि भोकै बस्नु परेको अर्का मजदुर सुवोध मण्डल बताउँछन् । उनी भन्छन्, ‘अहिले रोगले भन्दा पनि भोकले मर्ने अवस्था आएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप