शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चेपाङ गाउँमा सकियो खानेकुराः माग्न बाध्य

सोमबार, २४ चैत २०७६, १३ : ५७
सोमबार, २४ चैत २०७६

धादिङ । फाटेको पुरानो अनि मयल परेको लुगा । धमिलो अनुहार अनि काखमा एकसरो लुगामा काखे शिशु बोकेर गाउँ हिँडेका अवस्थामा भेटिइन् २१ वर्षीया सानुमाया चेपाङ । बेनीघाटरोराङ गाउँपालिका–६ ममाङकी सानुमाया गाउँमा कोरोनाको त्रास बढे पनि बाँच्ने आशामा गाउँ घुम्न बाध्य भएकी छिन् । केही दिनअघि घर आगलागी भयो । खरको छानाको घर जलेर नष्ट भयो । ज्याला गरेर ल्याइएको अन्न र घरमा भएको लुगा सबै जल्यो । घरमा खानेकुरा भएन । बुमराङ गाउँमा भेटिएकी सानुमाया काखमा एक महिनाको शिशु बोकेर खानेकुरा माग्दै हिँडेही थिइन् । उनका दुई शिशु घरमा नै छन् । उनका श्रीमान् घरमा तिनलाई कुरेर बसिरहेका छन् ।  

एक हलको मेलो जग्गाले उनीहरुलाई खान पुग्दैन, ज्याला गरेर खानुपर्छ ।  कोभिड–१९ को त्रास फैलिएका बेला गाउँमा समेत काम नपाएपछि सो परिवार समस्यामा परेको हो । गाउँमा मागेको खानेकुराले परिवार पालिएको सानुमायाले बताइन् ।

खरको छानो भएको घरभित्र एक डोको मकै, खाना पकाइने भाँडा र लगाइने लुगा समेत एकसरो पुरानो मात्र रहेको ३० वर्षीया सोल्टीमाया चेपाङको परिवार छुट्टै समस्याले गाँजिएको छ । खोरियाबारी । ज्याला गरेर बाँच्नु पर्ने अवस्थाको परिवार । श्रीमान् ६० वर्षका भए । हाल उनीसँंग सात जनाको परिवार छ । खानबस्न  समस्या छ । दादुराका कारण थलिएकी छोरी कोरोनाको त्रासका कारण उपचार नपाएर आँगनमै बसिरहेकी छन्  समस्यामाथि समस्या आएको चेपाङ परिवार बाँच्नका लागि हरेक दिन संघर्ष गरिरहेछ । कोरोना भाइरसको जोखिमले लकडाउन भएपछि काम नपाइएकाले आफूहरु थोरैथोरै खोले खाएर बसिरहेको सोल्टीमायाले बताइन् ।

चेपाङ गाउँका यी प्रतिनिधिमूलक परिवार हुन् । गाउँमा समेत काम नपाएपछि उनीहरु जस्तै बुमराङका सात परिवार, बुङपुङ तार्केटारका पाँच परिवार र रोतेसका सात परिवार खानेकुरा सकिएर समस्यामा परेको वडाध्यक्ष देवकृष्ण आलेले बताए । यो हालको समस्याले बढी समस्यामा परेको भए पनि खोरियाबारी अनि थोरै अन्नले परिवार पाल्दै आएको यस क्षेत्रमा २२० घर चेपाङ संघर्षपूर्ण तरिकाले बाँचिरहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप