मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतबाट भित्रिए खाद्य र ग्यास बोकेका २ सय गाडी

सोमबार, २४ चैत २०७६, १२ : २१
सोमबार, २४ चैत २०७६

जनकपुरधाम । लकडाउनका अवधिमा आपूर्ति सहज बनाउनका लागि भारतबाट आवश्यक खाद्य सामग्री र इन्धन बोकेका करीब दुई सय गाडी भित्रिएको छ । पर्सास्थित वीरगञ्ज एकीकृत सुख्खा बन्दरगाहबाट तरकारी र फलफूल बोकेका २०  गाडी, पेट्रोलियम पदार्थ बोकेका ७०  ट्याङकर, खाना पकाउने एलपिजी ग्यासका ५३  र मालवाहक ट्रक १७  भित्रिएको प्रदेश नं २ सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए ।

सोही नाकाबाट रिफाइन तेल बोकेका १४ गाडी र तीन  कन्टेनरका साथै महोत्तरी जिल्लाको नाका भएर तीन मालवाहक ट्रक पनि भित्रिएको उनले बताए । यहाँ लकडाउन पूर्णपालना गराउनका लागि पूर्ण रुपले कडाइ गरिएको छ । भारतसँग जोडिएका १०९ वटै नाकामा कडाइ गरी आवतजावत बन्द गरिएको छ ।

दुई हजार सवारी साधन नियन्त्रित
अहिलेसम्म लकडाउन उल्लंघन गर्ने दुई हजार १३५ सवारी साधनलाई नियन्त्रणमा लिइएको तथा अत्यधिक मूल्य लिई कालोबजारी गर्ने २५ जनालाई कारवाही गरिएको  छ । त्यस्तै प्रदेश नं २का १४२ क्वारेन्टाइनमा आइतबारसम्म ८६५ जना क्वारेन्टाइनमा, एक हजार ८० जना होम क्वारेन्टाइनमा र २७ जना आइसोलेशनमा बसेको सचिव घिमिरेले बताए ।  आइतबारसम्म प्रादेशिक अस्पतालमा ३४ जनाको स्वाब परीक्षणका लागि लिएको छ ।  तीमध्ये ६ जनाको नेगेटिभ आएको र अन्यको रिपोर्ट आउन बाँकी रहेको उनले बताए । 

राहतकोषमा ४८ लाख जम्मा
प्रदेश नं २को सरकारले स्थापना गरेको कोरोना भारइस सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा निजामती कर्मचारीबाहेक आजसम्म रु ४८ लाखभन्दा बढी सहयोग प्राप्त भएको छ । सिभिल बैङ्क जनकपुरस्थित कार्यालयका प्रतिनिधिले आज मुख्यमन्त्री लालबावु राउतलाई रु पाँच लाखको  ट्रान्सफर डिटेल हस्तान्तरण गरेपछि अब सो कोषमा रु ४८ लाख एक हजार जम्मा भएको छ ।

 प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैङ्कको जनकपुर शाखामा सञ्चालित कोरोना भारइस सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषको खाता नं १२२०५०३०००००१ मा रकम जम्मा गर्न सबैमा आग्रह गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप