शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना विरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग आवश्यक छ: मन्त्री ढकाल

सोमबार, २४ चैत २०७६, १२ : ०३
सोमबार, २४ चैत २०७६

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस विरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग उपलब्ध भइरहेको बताएका छन्  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज नर्भिक इन्टरनेसनल अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा मन्त्री ढकालले सरकारलाई निजी क्षेत्रले सहयोग गरिरहेको बताएका हुन् । ‘कोरोना महामारी विरुद्धको अभियानमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग उपलब्ध भइरहेको छ’, उनले भने, ‘हामी सबै यस अभियानमा जुट्नुपर्छ ।’ रोग फैलिन नदिन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उनले बताए । 

‘अब हामीले आजदेखि कोरोना विरुद्धको अभियानको दायरा फराकिलो बनाएका छौँ’, मन्त्री ढकालले भने, ‘उपचारमा अहोरात्र खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सुरक्षालाई ध्यानमा राखी उपचार प्रक्रिया अघि बढाएका छौँ ।’ कैलालीमा विदेशमा नगएको व्यक्तिमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएकाले सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेको उनको भनाइ थियो । 

सो अवसरमा नर्भिक अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनका प्रतिनिधिले मन्त्री ढाकाललाई रु ६० लाख बराबरको स्वास्थ्यजन्य सामग्री हस्तान्तरण गरेका थिए । फाउन्डेसनले थ्री एम एन९५ मास्क दुई हजार थान, थ्री प्ले सर्जिकल मास्क ४८ हजार थान तथा मेडिकल कम्प्लिट सेट एक हजार थान मन्त्रालयलाई उपलब्ध गराएको हो । नर्भिक अस्पतालले चैत मसान्तसम्म उक्त अस्पतालमा उपचाररत सबै बिरामीलाई २० प्रतिशत छुट दिने सो अवसरमा फाउन्डेसनले मन्त्री ढकाललाई जानकारी गराएको थियो ।

फिभर क्लिनिक र आइसोलेसन कक्षमा उपचार गराउने विपन्न बिरामीलाई निःशुल्क उपचारको व्यवस्था मिलाइएको सो अस्पतालले जनाएको छ ।  सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा फाउन्डेसनले यसअघि नै रु ५० लाख उपलब्ध गराइसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप