बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

संकटमा दोहोरीः कोरोना रोकथाममा काँग्रेसको यस्तो रणनीति

आइतबार, २३ चैत २०७६, १९ : ३६
आइतबार, २३ चैत २०७६

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रणमा राजनीतिक दलले समन्वयकारी भूमिका देखाउन नसकेको कतै लुकेको छैन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारी कामको ‘ब्याज’मा रमाएको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पनि विज्ञिप्तमै सीमित देखिन्छ । अन्य प्रतिपक्षी दलको अवस्था पनि त्यस्तै छ ।

कोरोना कहरकाबीच यतिबेला मुलुक भ्रष्टचारको गन्धभित्र रुमल्लिएको देखिन्छ । मन्त्री, नेकपा नेता र प्रतिपक्षी नेताहरुबीच कोरोना रोकथामको विमर्शभन्दा भ्रष्टचार लुकाउने र देखाउने खेलले प्रसय पाएको छ ।
यस्तै विषयमा रातोपाटीसँग काँग्रेस नेता डा.शेखर कोइराला भने, ‘कोरोना भाइरसको महामारी रोकथामका लागि काँग्रेसले सरकारलाई पूर्ण साथ दिएको छ । सरकारले राम्रो काम गर्दा राम्रो भनिरहेका छौँ । तर गलत गरेपछि त औंला उठाउनुपर्यो नि ?’

संकटको बेला भन्दैमा प्रतिपक्षीले सरकारको बदमासीलाई पनि समर्थन गर्न नसक्ने उनको भनाई छ । सरकारले बदमासी गर्ने अनि प्रतिपक्षीले संकटको बेला हो भनेर सहन त सकिँदैन नि ? सरकारले यस्तो बेला पनि बदमासी गर्ने ?,’ उनले भने, ‘प्रश्न त उठ्छ , जनताको स्वास्थ्यमाथि खेलबाहाड गर्ने ? चीनबाट रद्दि स्वास्थ्य सामग्री किन ल्याएको भन्नु पनि गलत हो ? त्यो त सरकारलाई सचेत गराएको हो । तिमी गलत गर्दैछौँ भनेको पो हो । यस्तो बेलामा भ्रष्टाचार गर्ने ।  प्रश्न उठाउँदा चुनावी आरोप प्रत्यारोप जस्तो भयो भन्ने ?’ 

शनिबार मात्र पर्यटनमन्त्री योगश भट्टराईले ‘संकटकालीन अवस्थामा आम चुनावको प्रचार अभियान जसरी एउटा पार्टीले अर्को पार्टीका बिरुद्ध र एउटा उम्मेदवारले अर्को उम्मेदवारकाविरुद्ध आरोप र प्रत्यारोपझै सञ्चारमाध्यममा छरपस्ट नहोऔं’ भनेका थिए ।

यता, काँग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकारलाई पारदर्शी ढंगले जनता केन्द्रित भएर काम गर्न भन्न संकटले नछेक्ने तर्क गरे । उनले भने, ‘यस्तो बेलामा पनि सरकार भ्रष्टाचार गर्नतिर लागेको छ । संकट भएपनि सञ्चारमाध्यम र हामीले प्रश्न उठाउनु नै पर्यो । यस्तो भ्रष्टाचार नगर, पारदर्शी बन, जनता केन्द्रित भएर काम गर त भन्नुपर्यो नि ।’

काँग्रेस आफू के गर्दै छ ?
कोरोना रोकथाम र नियन्त्रणका लागि अधिकांश ठाउँमा पार्टी पंक्ति परिचालन भएको काँग्रेस नेताहरुको दाबी छ ।  नेता कोइरालाले भने, ‘कोरोना रोकथाममा पार्टी संगठन परिचालन गरिएको छैन भन्ने पनि होइन । कही कही भएको छैन होला । धेरै ठाउँमा परिचालित भएको छ । काँग्रेसले जितेका २३६ वटा स्थानीय तहबाट पनि पार्टी पंक्ति परिचालित भएको छ । यसरी नै अन्य राजनीतिक दलले पनि परिचालन गरिएको पाइएको छ ।’ 

यद्यपि, विदेशबाट आएका नागरिकको समयमै पहिचान गरि क्वारेन्टाइमा राख्ने प्रबन्ध मिलाउने पाटोमा भने काँग्रेस पनि चुकेको कोइरालाले स्वीकारे ।  ‘विदेशबाट आएका सबैको स्वास्थ्य परीक्षण गरेर क्वारेन्टाइन राख्नुयथ्र्यो । यसमा सरकार चुक्यो, प्रतिपक्षी पनि चुक्यो, नागरिक समाज पनि चुक्यो,’ उनले भने,‘सबै ठाउँमा सरकारी तथा निजी विद्यालयहरु थिए । विद्यालय विदा छ । ट्यान्ड गाडेर क्वारेन्टाइन बनाइ राख्नुपर्ने अवश्यकता थिएन । विद्यालयलाई क्वारेन्टाइन बनाएर त्यहाँ बसेकालाई विहान बेलुका खाना खाने व्यवस्था सरकारले मिलाइदिनुपथ्र्यो । त्यसमा हामी कसैको ध्यान जान सकेन ।’

कोइरालाका अनुसार आफूहरुले समयमै त्यतातिर ध्यान दिएको भए नेपाली नागरिकहरु सीमा नाकामा अलपत्र पर्ने अवस्था आउने थिएन । उनले भने, ‘भारतबाट गड्डाचौकी, वनबास, रुपडियाँलगायतका नाका हुँदै दैनिक २०–३० हजार नेपालीहरु मुलुक प्रवेश गर्दा उनीहरुलाई क्वारेन्टाइनमा राख्न सरकारसँग हामीले पनि भूमिका खेल्न सक्नुपथ्र्यो । त्यहाँ हाम्रो पनि कमजोरी देखियो ।’ 

सहमहामन्त्री महत भने कोरोना रोकथाममा काँग्रेस अग्रपंक्तिमा देखिएको बताउँछन् । उनले भने, ‘कोरोनाको सन्त्रास फैलिँदै गर्दा यसको रोकथाममा काँग्रेस सचेत देखिएको छ । हामीले सुरुमा संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएर छलफल गराएका थियौँ । यस्तै हामीले प्रतिपक्षीमा हुँदा पनि पार्टीको तर्फबाट ५० लाख सरकारकै कोषमा जम्मा गर्यौं ।’ 

साथै उनले यसको रोकथाम र नियन्त्रणका लागि काँग्रेसले साथ दिँदै आएको पनि बताए । ‘कोरोना रोकथाममा सरकारलाई साथ दिँदै आएका छौँ । सरकारले लकडाउन घोषणा गरेपछि हामीले पार्टीका सबै निकायलाई यसको कार्यान्वयनका लागि अनुरोध गर्यौं ।’

बरु उनी सरकारले लकडाउन घोषणा गर्नबाहेक अन्य कर्तव्य पुरा नगरेको जिकिर गर्छन् । नागरिकलाई समस्या परेको ठाउँमा सम्बन्धित क्षेत्रका आफ्ना नेता कार्यकर्ताले समन्वय गरिरहेको महतको दाबी छ ।  तर नेता कोइराला भने विदेशबाट आएकाहरुको पहिचान गरी स्वास्थ्य जाँचको प्रवन्ध मिलाउन वडा तहमा रहेको पार्टी पंक्ति परिचालन गर्नुपर्ने आवश्यक देख्छन् ।

‘अब हामीले वडा तहमा रहेको हाम्रो पार्टी संगठनलाई विदेशबाट आएका मान्छे पहिचान गरी सामाजिक दुरी कायम गर्दै स्वास्थ्यकर्मी परिचालन गरी बेलाबेला उनीहरुको स्वास्थ्य अवस्थाको जानकारी लिने प्रवन्ध मिलाउन लाग्नुपर्छ । त्यसका लागि पार्टीले सर्कुलर जारी गरोस्,’ उनले भने । आफूले भने उक्त कार्य सुरु गरिसकेको नेता कोइरालाले बताए । 

‘हिजो (शनिबार) म मोरङको एउटा गाउँपालिकामा गएको थिए । त्यो गाउँपालिका ४६ जना खाडी मुलुकबाट आएका रहेछन् । मैले त्यहाँको गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई स्वास्थ्यकर्मी पठाएर उनीहरुको स्वास्थ्य जाँच गर्न लगाउनुहोस् भनेर भनेको थिएँ,’ उनी अरुलाई पनि आग्रह गर्दै भन्छन्, ‘सबै ठाउँमा यस्तो गर्नुपर्यो । विदेशबाट आएका सबैको कोरोना परीक्षण गर्न ढिलाई गर्नु हुँदैन ।’ तर महतले पहिले सीमानामा रहेका नेपालीलाई स्वदेश आउने प्रबन्ध मिलाउने कुरा प्रमुख भएको बताए ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका उनले सरकारले सक्दैन भनेर हात उठाउँदा समस्या भएको बताए ।  ‘सीमा नाकामा २ हजार बढी मानिस अलपत्र छन् । उनीहरुलाई नेपालमा ल्याएर विद्यालयलाई क्वारेन्टाइन बनाएर राख्न सकिँदैन ? यसबारेमा कैलाली, कञ्चनपुर, बाँके र बर्दियाका हाम्रा साथीहरुले प्रमुख जिल्ला अधिकारीलाई बारम्बार सुझाव र दबाब दिइरहेका छन्,’ महतले भने, ‘केन्द्रको निर्देशन भन्दै स्थानीय प्रशासन पन्छिराखेका छन् । हामीले केन्द्रीय सरकारलाई भन्दा सरकार हामी सक्दैनौँ भनेर हात उठाउँछ ।’  सरकारको गैरजिम्मेवारीका कारण आफूहरुलाई काम गर्न गाह्रो भएको र नेपालीहरु अलपत्र परेको उनले बताए ।

‘लकडाउन लगाएपछि सरकारको गैरजिम्मेवारी देखायो । हामी मैदानमा गएर काम गर्ने अवस्था छैन । कि त लकडाउनलाई तोड्दै नाका तोड्न जुलुस निकाल्नुपर्यो । त्यस्तो पनि गर्नु भएन,’ महतले भने ।  उनले आफ्नो क्षेत्रमा व्यक्तिगत रुपमा राहत वितरणमा जुटेको बताए । ‘मैले पनि यहाँ केही मास्क वितरण गरेको थिए । मेरो गृहजिल्ला नुवाकोटमा २ सय घरपरिवारलाई खाने व्यवस्था गरेँ,’ महतले भने, ‘सबै नेता कार्यकर्ताले आफ्नो ठाउँबाट सक्दो सहयोग गरिरहेका छन् । सरकारले सबैलाई राहतको व्यवस्था गर्नुपर्छ । त्यो भइरहेको छैन ।’  अस्पतालहरुले अधिकांश सेवा बन्द गरेकाले कोरोना बाहेकका बिरामीको उपचार गर्ने प्रबन्ध मिलाउन सरकार गम्भीर बन्नुपर्ने बताए । 

पदाधिकारी बैठक किन बस्न सकेन ?

पार्टी पदाधिकारीबीच छलफल गरेर सरकारलाई सुझाव दिँदा प्रतिपक्षीको अधिकारिक धारणा जाने नेता कोइरालाको भनाइ छ । ‘यस्तो बेलामा केन्द्रीय समिति बैठक बस्ने अवस्था छैन ।  करिब  सय जना जति केन्द्रीय सदस्यबीच छलफल हुने अवस्था छैन,’ कोइरालाले भने, ‘तर पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीबीच छलफल गरेर सरकारलाई सुझाव दिन जरुरी छ । सभापतिले, प्रवक्ताले वा मैले विज्ञप्ति लेख्दैमा सरकारले लिनुपर्छ भन्ने छैन ।’ 

पार्टीको आधिकारिक निकायको बैठक बसेर काँग्रेसको आधिकारिक धारणा आउँदा प्रभावककारी हुने उनको बुझाई छ । काँग्रेसमा नेतापिच्छे विज्ञप्ति निकाल्ने होडबाजी छ । पछिल्लो समय सभापति, महामन्त्री र प्रवक्ताले एकै दिन विज्ञप्ति निकालेको पाइन्छ ।

पार्टीका शीर्ष तहका नेताहरुबीच छलफल गरेर सरकारको कामको समीक्षा गर्दै विज्ञसँग विमर्श गरेर सरकारलाई सुझाव दिनुपर्ने कोइरालाको सुझाव छ । सहमहामन्त्री महतले पार्टी नेतृत्वमा रहेका नेताहरुबीचको छलफलबाट मात्र पार्टी नेताहरुले धारणा दिने गरेको बताए । तर वरिष्ठ नेता रामचन्द्र पौडेलको धारणा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले खण्डन गरिदिएका थिए ।

महतले भने, ‘फोनबाट कुराकानी गरेर नेता कार्यकर्तालाई  निर्देशन र सरकारलाई सुझाव तथा दबाब दिने काम गरिरहेकै छौँ । त्यही अनुसार पार्टी नेतृत्वमा रहेका नेताहरुले सरकारसँग कुराकानी गरिरहनुभएको छ ।’ उनका अनुसार सरकारलाई सुझाव र दबाब दिने काम पार्टीको संसदीय दलले पनि गरिरहेको छ ।

‘सामुहिक रुपमा छलफल गर्न सकिएको छैन । पासको पनि समस्या छ । मैले नै पास पाउन सकिरहेको छैन,’ उनले भने, ‘पार्टी पदाधिकारीले सामाजिक दुरी कायम गरेर छलफल गर्नुपर्ने देखिएको छ । अब त्यो पनि गरौँला ।’ तर एक ठाउँमा नबसेकै कारणले पार्टीको काम ठप्प नभएको उनले दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप