शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय क्वारेन्टाइनमा कस्तो छ नेपालीको अवस्था ?

आइतबार, २३ चैत २०७६, १८ : ४१
आइतबार, २३ चैत २०७६

काठमाडौं । कोरोनाभाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि नेपाल र भारत दुवै देशमा लकडाउन छ । खुला सीमा तथा ‘रोटी बेटीको सम्बन्ध’ रहेको दुई देशका नागरिकलाई एकअर्को मुलुक आवतजावत गर्न, रोजगारी गर्न कुनै रोक नभएकाले ठूलो संख्यामा नेपालीहरु भारतमा र भारतीयहरु नेपालमा बस्ने गरेका छन् ।

अचानक भएको लकडाउनका कारण यसरी नेपालमा बस्दै आएका भारतीय र भारतमा बस्दै आएका नेपालीहरु आफ्नो देश फर्किन पाएका छैनन् । कतिपय नागरिक सीमासम्म पुगेर पनि आफ्नो मुलुक प्रवेश गर्न वञ्चित भएका छन् ।

यस्तो अवस्थामा दुवै देशबीच एक–अर्काको नागरिकलाई लकडाउन अवधिमा जहाँ छन्, त्यहीँ व्यवस्थापन गर्ने सहमति पनि भएको छ । सीमा नाकामा रहेका र स्वदेश फर्किन चाहेका नेपाली तथा भारतीय नागरिकलाई एक अर्का देशले आ–आफ्नो क्वारेन्टाइनमा राखेका छन् । 

दुवै देशका स्थानीय अधिकारी र स्वास्थ्यकर्मीहरु यसका लागि अहोरात्र खटिएका छन् । महाकाली पारी भारतका धार्चुला, पिथौरागढ र दिदिहाट जिल्लाहरुमा बनाइएको १० वटा क्वारेन्टाइनमा एकहजार २७३ जना नेपालीहरु बसिरहेका छन् । उनीहरु भारतका विभिन्न सहरबाट घर जाने क्रममा फर्किएर त्यहाँसम्म आइपुगेका हुन् । लकडाउनका कारण सीमा क्षेत्रमा रोकिएका उनीहरु नेपाल प्रवेश गर्न पाएका छैनन् भने भारतीय पक्षले नै उनीहरुको रेखदेख गरिरहेको छ ।

उनीहरुलाई भारत सरकारले खान र बस्नका साथै स्वास्थ्य परीक्षण र काउन्सिलिङ पनि गरिरहेको छ । आफ्नो देश फर्किन दृढ इच्छा हुँदा हुँदै पनि सीमा नाका बन्द भएको कारण फर्किन नसक्दा कतिपय नेपाली निकै दुःखी देखिन्छन् ।

त्यस्ता नेपालीलाई भारतीय कर्मचारी तथा स्वास्थ्यकर्मीले काउन्सिलिङ पनि गरिरहेको नेपालस्थित भारतीय दूतावास स्रोतले जनाएको छ । 

समय समयमा उनीहरुको स्वास्थ्य परीक्षण पनि गरिँदैछ । धार्चुलाको एउटा क्वारेन्टाइनमा बसेका गोविन्द धामीले भने, ‘परिवारभन्दा टाढा बस्नुपरेको दुःख त छँदैछ, सीमा नाका कहिले खुल्ला भने पर्खाइ पनि छ तर भारत सरकारले हाम्रो लागि राम्रो व्यवस्था गरेको कारण खुशी छौं ।’ 

नेपालीहरु मजदुरीका लागि भारतको हरियाणा, पञ्जाव लगायत विभिन्न सहरमा जाने गर्दछन् । भारतमा लकडाउन भएपछि घर फर्केका उनीहरु सीमानासम्म आइपुग्दा नेपालतर्फ पनि लकडाउन भएर रोकिएका हुन् ।

उनीहरुमध्ये अधिकांश सुदूरपश्चिमका छन् ।

अर्घाखाँचीका सुनिल विकले भारत सरकारका तर्फबाट आफूहरुलाई खान–बस्नाका साथै अन्य आधारभूत आवश्यकतामा राम्रो व्यवस्था भएको बताए । स्वास्थ्य परीक्षण गर्नुको साथै समयमा खाना, नास्ताको व्यवस्था समेत भएको उनले बताए ।

गुल्मीका बीरु जिसीले आफूहरुका लागि भारत सरकारले राम्रो व्यवस्था गरे पनि आफ्नो देश र समाजको याद आउने गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप