शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

के हुँदैछ दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था, सरकारको सहुलियत कहाँ पुग्यो ?

आइतबार, २३ चैत २०७६, १८ : ३०
आइतबार, २३ चैत २०७६

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरण गर्न सरकारले आह्वान गरेको लकडाउनका कारण सर्वसाधारणको जनजीवन प्रभावित हुन पुगेको छ । 

लकडाउनको करिब दुई साता बित्दा नबित्दै बजारमा त्यसको प्रत्यक्ष असर देखिन थालिसकेको छ । विशेषगरी दैनिक उपभोग्य वस्तु दाल, चामल, नुन, तेल जस्ता सामग्रीको जोहो गर्न नसक्दा, मजदूर, असहाय र विपन्न बर्गका नागरिक नराम्ररी प्रभावित भएका छन् । सरकारले उनीहरुका लागि राहतको घोषणा गरेको भएपनि अझैपनि उनीहरुसम्म राहत पुगिसकेको अवस्था छैन । 

कोरोनाको प्रभाव न्यूनीकरण गर्न भन्दै गत हप्ता सरकारले आयात निर्यातको भन्सार छुटदेखि एक महिना घरभाडा छुट दिनेसमेतको प्याकेज ल्याएको थियो । दैनिक उपभोग्य वस्तु नुन, तेल, दाल, चामल लगायतका खाद्यान्नमा १० प्रतिशत छुट सहुलियत दिने समेत सरकारको निर्णय थियो । तर सो छुट पनि अझै सर्वसाधारणहरुले पाउन सकेका छैनन् ।

उक्त निर्णय कार्यान्वयनकै चरणमा रहेको र अबको १–२ दिन भित्रै कार्यान्वयनमा आउने खाद्य व्यवस्था तथा व्यापार केन्द्रका नायव महाप्रवन्धक श्रीमणी खनालले बताए । 

‘अहिले हामीले कसरी हुन्छ बजार आपूर्ति व्यवस्थालाई सहज बनाउन लागि रहेका छौं । अतिरिक्त आउटलेटहरुबाट हुन्छ कि वा घुम्ति सेवा दिएर हुन्छ, उपभोक्ताहरुलाई खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुहरु उपलब्ध गराइरहेका छौं’ नायव महाप्रवन्धक खनाले भने, ‘सरकारले दिने भनेको १० प्रतिशत सहुलियत छुट भने अहिले नै कार्यान्वयनमा गइसकेको छैन । यो कार्यान्वयनकै चरणमा छ । सम्भवतः आजभोलिदेखिनै यो कार्यान्वयनमा जान्छ ।’

यता, नुन, चिनी जस्ता सामग्री आपूर्ति गर्ने नेपाल साल्ट ट्रेडिङ्गले पनि १० प्रतिशत सहुलियत छुट कार्यान्वयनमा गइनसकेको बताएको छ । तर, मुलुक कोरोनाका कारण लकडाउनमा जाने वित्तिकै साल्टले आफैले चिनीमा प्रतिकेजी ५ रुपैयाँ र नुनमा २ रुपैयाँ घटाएर बिक्रिवितरण गर्दै आएका साल्ट ट्रेडिङका बजार प्रवन्ध निर्देशक ब्रिजेशकुमार झाले बताए ।

‘विशेषतः साल्टले नुन, चिनी र ग्यासको कारोबार गर्दै आएको छ । अन्य खाद्य वस्तुहरु त साल्टले बजारबाट ल्याएर प्याकिङ्ग गरेर उपभोक्तालाई उपलब्ध गराउने मात्र हो । तर नुन र चिनीमा भने हाम्रो विशेष योगदान र जिम्मेवारी रहन्छ ।’

उनले अगाडि भने, ‘कोरोनाको प्रकोप आउने बित्तिकै हामीले नुन र चिनीमा बजार मूल्य घटाएर सर्वसाधारणलाई उपलब्ध गराएका छौं । तर, सरकारी निर्णयको १० प्रतिशतको छुट भने कार्यान्वयनमा गइसकेको अवस्था छैन । कार्यान्वयनकै चरणमा रहेकाले केही ढिला हुन गएको हो । केही दिनमा नै त्यो पनि कार्यान्वयनमा आउला ।’

उनका अनुसार अहिले ७८ रुपैयाँ प्रतिकेजी पर्ने चिनी साल्टबाट ७३ मै उपलब्ध भइरेको छ भने २० रुपैयाँ प्रतिकेजी पर्ने नुन १८ रुपैयाँमा नै बिक्रीवितरण भइरहेको छ । 

यता, बजार आपूर्ति व्यवस्था तथा दैनिक उपभोग्य वस्तु लगायत खाद्यान्नको सहज बिक्रिवितरणका लागि भनेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ्गले उपत्यका भित्र विभिन्न स्थानका आउटलेटमार्फत सूपत मूल्यका पसलहरु संचालन गरिरहेका छन् ।

खाद्य व्यवस्थाले उपत्यका ५ स्थानहरु रामशाहपथ, नख्खु, थापाथली, लगनखेल र भक्तपुरको सूर्यविनायकबाट दैनिक उपभोग्य वस्तु दाल चामल, पिठोको लगायतका खाद्यान्न बिक्री वितरण गरिरहेको छ । 
त्यस्तै, साल्टले सतुंगल, कालिमाटी, भक्तपुर, जडिबुटी, जावलाखेल लगायतका स्थानमा आउटलेट बिक्री केन्द्रहरु स्थापना गरी दैनिक उपभोग्य वस्तु नुन, तेल, ग्यास लगायत खाद्यान्नको बिक्रीवितरण गरिरहेको छ । कोरोना पछिको लकडाउनको विषम परिस्थितिमा सर्वसाधारणलाई सहजता दिने उद्देश्यले साल्टले ३ डेलिभरी भ्यानहरुबाट घुम्ति सेवा समेत प्रवाह गरिरहेको प्रवन्ध निर्देशक झाले जानकारी दिए ।

उपभोक्ताको चाप छैन 


विषम परिस्थितिलाई मध्यनजर गर्दै आवश्यक स्थानहरुमा अतिरिक्त आउटलेट सेवा उपलब्ध गराइपनि उपभोक्ताहरुको खासै चाप नभएको बिक्री केन्द्रहरुको भनाइ छ । कोरोनाको त्रास र कडाउनका कारण उपभोक्ताहरु बाहिर निस्कनै नचाहँदा सुपथ मूल्यका पसलहरुमा समेत ग्राहकको चहल पहल कम भएको खाद्य व्यवस्था तथा व्यापार केन्द्र थापाथलीका प्रवन्ध निर्देशक रणबहादुर बुढाथोकीले बताए ।

‘कोरोनाको डर र  लकडाउनका कारण मान्छेहरु बाहिर निस्कनै चाहेका छैनन् । बिहान बेलुका निक्लिहाले पनि नजिकका पसलहरुबाट सामान किन्ने र जाने गर्छन् । हामीले तोकेका बिक्री केन्द्रहरुमा कमै मात्र उपभोक्ताहरु आउँछन्,’ प्रवन्धनिर्देशक बुढाथोकीले भने,‘सर्वसाधारणको समस्यालाई मध्यनजर गर्दै अब खाद्य व्यवस्थाले घुम्ति सेवा संचालन गर्दैछ ।’

खाद्यान्नको अभाव छैन, ३३ हजार मेट्रिकटन मौज्दात
अहिले बजारमा खाद्यान्नको अभाव भएको भन्ने हल्ला चलेपनि त्यो सत्य नभएको र सरकारसँग पर्याप्त खाद्यान्न मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार केन्द्रले बताएको छ । कोरोनाको विषम परिस्थितिमा पनि खाद्यसँग अझै २३ हजार मेट्रिक टन चामल रहेको र १० हजार मेट्रिक टन आयात हुँदै गरेको खाद्यका नायव प्रवन्ध निर्देशक खनालले बताए । 

बजारमा खाद्यान्नको अभाव भयो भनेर प्रचार हुँदा अचम्म लाग्छ । हामीले बजारमा खाद्यान्नको अभाव हुन दिएका छैनौं । आवश्यक भएको स्थानमा विषम परिस्थितिमा पनि हवाई जहाज चार्टर गरेर भनेपनि खाद्यान्न पठाइरहेका छौं’ खनालेले भने, ‘यस्तो विषम अवस्थामा हुम्ला जुम्लालाई खाद्यान्न अभाव हुन नदिन प्लेनमा चामल पठाएका छौं । उक्त विकट क्षेत्रमा पहिले नै ३२–३३ क्वीन्टल खाद्यान्न मौज्दात रहेकोमा थप ४०० क्वीन्टल पठाइसकिएको छ । यसले साउन भदौसम्म धान्न पुग्छ ।

खनालका अनुसार खाद्य व्यवस्था तथा बिक्री केन्द्रले अहिले उपत्यका तीनै महानगरपालिका काठमाडौं, भक्तपुर र ललिपुरका आवश्यक स्थानहरुमा अतिरिक्त आटलेटहरुबाट सामानहरुको बिक्री वितरण गरिरहेको छ भने, अन्य बाहिरी क्षेत्रमा स्थानीय तहहरुको माग अनुसार आपूर्ति व्यवस्था सहज गरिरहेको छ । सरकारी व्यवस्था अनुसार अहिले स्थानीय तहले खाद्यान्नको माग गरिरहेका छन् ।

खनालकै अनुसार अहिले झापाको विराटनगर, मोरङ्ग, पर्सा, जुम्ला, लगायत काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानीय तहहरुले चामल माग गरिरहेका छन् । विभिन्न स्थानमा गरी करिब १४–१५ सय क्वीन्टल चामल पठाइसकिएको छ भने, बाँकी अन्य स्थानीय तहहरुमा समेत चामको माग भएको र पठाइने क्रम जारी रहेको छ । 

हाल खाद्य व्यवस्था तथा व्यापार केन्द्रसँग २३ मेट्रिकटन चामल र साल्ट ट्रेडिङ्ग लिमिटेडसँग १६५ मेट्रिक टन (१० महिनालाई पुग्ने) नुन र चिनी १० हजार मेट्रिक टन रहेको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप