शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अध्ययन भन्छ – लक्षण नदेखिएका संक्रमितबाट कोरोनाभाइरसको फैलावट धेरै, नेपालमा परीक्षण गर्नै आनाकानी

आफै सम्पर्क गर्दा पनि कतार एयरवेजबाट आएका यात्रुको परीक्षण नै गरिएन (भिडियोसहित)
आइतबार, २३ चैत २०७६, १४ : २९
आइतबार, २३ चैत २०७६

काठमाडौँ । गत चैत ४ गते कतार एयरवेजमार्फत नेपालमा आएका यात्रुमा कोरोनाभाइरसको संक्रमण देखिएपछि सरकारले उक्त विमानमा आएका सबै यात्रुलाई खोज्ने कार्य तीव्र पारेको बताएको छ । सो जहाजबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्न सम्बन्धित निकायलाई निर्देशन पनि दिइसकेको भनिएको छ । स्थानीय तहसमेत उनीहरुको खोजीमा लागेको भनिएको छ । तर, ग्राउन्डमा रियालिटी भने सरकारको दाबीभन्दा फरक छ ।

महोत्तरी सुगा जलेश्वर वडा नम्बर–४ का हामिद राजा गत चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ विमानबाट नेपाल आएका थिए । जब सोही विमानमा रहेकी एक युवती कोरोनाभाइरसबाट संक्रमित भएको समाचार बाहिर आयो, उनी आफैले टेकु अस्पताललाई सम्पर्क गरेर 'आफू पनि सोही विमानमा आएको र आफ्नो स्वास्थ्य परीक्षण गर्न आग्रह' गरे ।

तर अस्पतालले स्वास्थ्य परीक्षण गर्नुको साटो घरमै बस्न सुझाव दियो । राजाले भने, ‘मैले टेकु अस्पतालमा सम्पर्क गर्दा 'तपाईंलाई कुनै लक्षण देखिएको छ ?' भनेर प्रश्न गरियो । श्वास लिनमा अप्ठ्यारो भइरहेको छ ? रुघा खोकी छ ? ज्वरो छ ? भनेर सोधियो । तर, तीमध्ये मलाई केही पनि थिएन । त्यसपछि उहाँहरुको सुझाव रह्यो कि होम क्वारेन्टाइनमै बस्नुस् ।’ जबसम्म कुनै लक्षण देखिदैन तबसम्म कुनै परिक्षण नगरिने टेकु अस्पतालले जवाफ दिएको उनले सुनाए ।

त्यसपछि समाजिक अभियान्ता सरोज रायलाई सम्पर्क गरेपछि मात्र उनको दबाबले जिल्ला तथा वडाहरुबाट सम्पर्क गर्न थालेको राजाले बताए । उनले भने, ‘जलेश्वर गएर ज्वरो जचाएँ, तापक्रम ९७ भन्दा तल नै थियो । तपाईंलाई कुनै समस्या छैन, समस्या भयो भने सम्पर्क गर्नुहोला भनेर पठाइदियो ।’

‘मलाई चित्त नै बुझेको थिएन । मैले पटक–पटक टेकु अस्पताललाई सम्पर्क गरे,’ उनले भने, ‘मेरो चाहना थियो कि कुनै लक्षण नदेखिए पनि एकपटक जाँच गरौँ । मेरो कारणले गाउँ समाजलाई कुनै असर नपरोस् । म आफूलाई ढुक्क पार्न चाहन्थे ।’

क्वारेन्टाइनमा १४ दिनसम्म बस्न भनिन्छ तर हमिद आएको शनिवार १९ दिन पुगेको छ । शनिवार उनी प्रदेश २ को प्रादेशिक अस्पतालमा पुनः स्वाब परीक्षणका लागि गए । तर उनको परीक्षण भएन । बरु, उनलाई आइसोलेसनमा बस्न भनियो । आफूलाई कुनै लक्षण नदेखिएकोमा ‘किन आइसोलेसनमा बस्ने ?’ भन्दै उनले परीक्षणका लागि आग्रह गरे । परीक्षणबाट आउने परिणाम अनुसार आफू अगाडि बढ्ने उनले अस्पताललाई भनेका थिए । उनले आफू घरमा पनि सुरक्षित तरिकाले नै बसिरहेको हुनाले आइसोलेसन भन्दा घरमै बस्ने र भोलि आएर परीक्षण गराउने भनि घर फर्केका थिए ।

उनी भन्छन्, ‘विदेशबाट आएपछि म आफैले चासो लिए । मैले आफै सबैतिर सम्पर्क गरे । मलाई कुनै समस्या छैन होला । तर, यदि भित्रैभित्रै म संक्रमित भएको भए, म आफैलाई खतरामा राख्थे नै अन्य व्यक्ति पनि जोखिममा हुन्थे ।’ 

हमिदले आफै मात्र होइन, आफ्नो भाइलाई पनि परीक्षणका लागि साथमा ल्याएका थिए । दबाबपछि उनीहरुलाई आइतबारका लागि समय दिइएको छ ।’ सोही एयरवेजबाट आएका अन्य एकजनाको पनि प्रादेशिक अस्पतालमा स्वाब परिक्षण भएको छ । तर रिपोर्ट आएको छैन ।

नेपालको उल्टो चाल

अझै पनि विज्ञहरु कोरोनाभाइरसबारे धेरै विषयहरुमा अनजान छन् । यद्यपि, यस भाइरसको संक्रमणको सुरुवाती केन्द्रविन्दु बनेको चीनलगायत विभिन्न देशहरुमा गरिएको अध्ययनले के देखाएको छ भने ३० देखि ५० प्रतिशत कोरोनाभाइरसका संक्रमितमा यसका लक्षणहरु नै देखिदैन । र, यसरी लक्षण नदेखिएका कोरोना संक्रमितहरु नै भाइरसको फैलावटमा बढी जिम्मेवार हुने गरेका छन् ।


त्यही भएर विश्व स्वास्थ्य संगठनले पटक–पटक जोड दिएर – ट्रेस एण्ड टेस्ट (कोरोनाभाइरस संक्रमितसँग सम्पर्कका आएकाहरुको पहिचान गर्ने र परीक्षण) गर्न भनेको छ । विश्व स्वास्थ्य संगठनले सकेसम्म धेरै परीक्षण गर्न पनि सुझाव दिएको छ । दक्षिण कोरिया र चीनले यही नीति अवलम्बन गर्दा त्यहाँ कोरानाभाइरसको संक्रमणलाई नियन्त्रणमा लिन सुरुवाती सफलता हासिल भइरहेको छ ।

तर, नेपालमा भने संक्रमितको सम्पर्कमा आएकाहरुको पहिचान गर्न कागजी पहलबाहेक केही पनि भइरहेको पाइएको छैन । संक्रमित भएका व्यक्तिसँग नजिक भएकाहरु आफै सम्पर्कमा आए पनि यहाँ लक्षण नदेखिएसम्म परीक्षण नै नगरिने नीति अख्तियार गरेको पाइन्छ । लकडाउनलाई उपयोग गर्दै सरकारले परीक्षणको दायरालाई फराकिलो बनाउनु पर्ने हो । तर, सरकार यसमा नराम्ररी चुकिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप