शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य सामाग्री खरिद गर्दा भ्रष्टाचारमा संलग्नलाई कारवाही गर्न नेकपा मालेको माग

आइतबार, २३ चैत २०७६, १३ : ३२
आइतबार, २३ चैत २०७६

काठमाडौं । नेकपा मालेले विश्वमा डरलाग्दो गतिमा फैलिरहेको नोवल कोरोना भाइरस (कोविड–१९) को महामारीलाई नेपालमा फैलिन नदिने कार्य जटील बन्दै गइरहेको बताएको छ ।

सो पार्टीका महासचिव सीपी मैनालीले कोरोनाविरुद्ध सरकारले समयमै कदम नचालेकोले र अनुभवी तथा सक्षम मित्रराष्ट्रले यसको निम्ति नेपाललाई आवश्यक पर्ने हरप्रकारको सहयोग गर्न अघि सारेको प्रस्तावलाई समेत वेवास्ता गर्दै जनस्वास्थको सुरक्षाको निम्ति ठोस योजना बनाई लागु नगरेकोले यस्तो स्थिति उत्पन्न भएको बताएका हुन् ।

महासचिव मैनालीले विज्ञप्ति जारी गर्दै यसमाथि वर्तमानमा तीनवटै तहका कतिपय कार्यकारी पदाधिकारीहरू जनतामा सेवा, सुविधा र सुरक्षा पु¥याउन भन्दा महामारी रोकथामको आडमा अनियमितता र भ्रष्टाचार गरी ब्यक्तिगत र गुटगत ‘शुभलाभ’ कमाउनको निम्ति लागिपरेकाले स्थिति झन् भयावह बनेको अवस्थामा पार्टीका तर्फबाट चारवटा काम गर्न सुझाव दिएका छन् ।

यस्ता छन् मालेका सुझाव :

१. मित्रराष्ट्र चीनबाट मध्यस्थ दलाल खडा गरी कोविड–१९ महामारी नियन्त्रण गर्ने सम्वन्धी स्वास्थ सामाग्री खरिदमा भएको ब्यापक अनियमितता सम्बन्धी सञ्चार माध्यममा आएका समाचारहरूबाट सरकारका मन्त्री तथा उच्चपदस्थ कर्मचारीहरू नै भ्रष्टाचारमा संलग्न भएको देखिएको छ । यसको छानवीन गरी दोषीमाथि अविलम्व कडा कार्वाही गरियोस् ।

२. सञ्चार माध्यम अनुसार स्वास्थ सामाग्री खरिदमा नेपाली सेनालाई संलग्न गराउने भन्ने चर्चाले हाम्रो ध्यान गंभीररुपले आकर्षित गरेको छ । यसले सरकारका अन्य प्रशासनिक निकायहरूप्रति विश्वास नरहेको र लोकतान्त्रिक राज्य–ब्यवस्था नै असफल भएको सन्देश प्रवाहित गर्न थालेको छ । अर्कोतर्फ यसले नेपाली सेनाको ब्यवसायिकतामा असर गर्नेछ र त्यसलाई विवादस्पद समेत बनाउने छ । यस्तो कार्य सरकारले अविलम्व रोकोस् ।

३. भारतमा कार्यरत प्रवासी नेपाली नागरिकहरू नेपालको सीमानामा आएर रोकिएका छन् भने नेपालमा कार्यरत कतिपय भारतीयहरू पनि नेपाल–भारत सीमानाकाहरूमा पुगी रोकिएका छन् । यस विशेष समस्यालाई सरकारले विशेष निर्णय गरी सम्वोधन गरिनुपर्छ । दुवै सरकारले उच्च तहमा वार्ता गरी आफ्नो कार्यस्थल छोडी स्वदेश जाने क्रममा सीमा–नाकाहरूमा रोकिएका आ–आफ्ना नागरिकहरूको जिम्मा लिने काम गर्नु पर्दछ र नेपाल सरकारले सम्बन्धित नाकाहरूको नजीक उपयुक्त स्थानमा एकान्तवास वा क्वारेन्टाइन केन्द्रको ब्यवस्था गरी अथवा अस्पतालमा पठाइनु पर्नेहरूलाई अस्पतालमा पठाई अलपत्र रहेका नेपाली नागरिकहरूको अविलम्व ब्यवस्थापन गर्नु पर्दछ ।   

४. संघीय सरकारले कोविड–१९ को उपचार गर्न निश्चित सरकारी वा निजी अस्पतालहरू तोक्ने र तिनमा सो कार्य गर्ने जनशक्ति (चिकित्सक, नर्स र अन्य सहयोगी) हरूको, उनीहरू र विमारीहरूको खानपीन, स्वास्थ–सुरक्षा र आवश्यक खर्चको ब्यवस्था गर्नुपर्छ । साथै कोरोना उपचारको निम्ति आवश्यक पर्ने स्वास्थ–सुरक्षा उपकरणहरू तथा उपचार सामाग्रीहरू, औषधी आदिको पनि अविलम्व ब्यवस्था मिलाउनु पर्दछ । धन्यवाद !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप