शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता छन् कास्कीमा विपन्नलाई राहतका प्याकेज

आइतबार, २३ चैत २०७६, १२ : २१
आइतबार, २३ चैत २०७६

कास्की । देश यतिबेला लकडाउनमा छ । विश्वभर महामारीको रुपमा फैलिईं रहेको नोवेल कोरोना भाइरसको संक्रमण रोकथाम गर्न लकडाउन गरेको पनि दुई साता पुगिसक्यो । तर नयाँ संक्रमित देखिने क्रम भने बढ्दो छ । शनिबार दिउँसो कैलाली र कञ्चनपुरमा ३ नयाँ संक्रमित देखिएसँगै नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमितको संख्या ९ पुगेको छ । 

लकडाउनले आवातजावत ठप्प छ । ‘बाहिर ननिस्कनु, घरभित्रै बस्नु,’ भन्ने सरकारको उर्दी छ । महामारी रोक्न सरकारले राम्रो निर्णय लिएपनि दैनिक ज्याला, मजदुरी गरेर जिविकोपार्जन गर्नेहरु भने मर्कामा छन् । 
विपन्न परिवारको पहिचान गरि सरकारले भरथेग हुने राहत पनि बाँड्दै आएको छ । कास्कीमा पनि नगरपालिका र गाउँपालिकाले विपन्न परिवारको लागि राहतका प्याकेज ल्याएका छन् । 

कस्ता छन् प्याकेज ?
विपन्न परिवारको पहिचान गरि राहत बाड्न गण्डकी प्रदेश सरकारले स्थानीय तहलाई निर्देशन दिइसकेको छ । प्रदेश सरकारको निर्देशनअनुसार स्थानीय तहले कसैलाई पनि भोकै राख्न पाउँने छैनन् ।  ८५ स्थानीय तहमध्ये पोखरा महानगरपालिकालाई एक करोड रुपैयाँ राहत प्रदेश सरकारले दिएको छ । यस्तै, २६ नगरपालिकालाई प्रति नगरपालिका १० लाखका दरले २ करोड ६० लाख रुपैयाँको राहत दिने घोषणा गरेको छ । ५८ गाउँपालिकालाई भने ५/५ लाखका दरले दुई करोड ९० लाख रुपैयाँ प्रदेश सरकारले दिने छ । 

पोखरा महानगरपालिका

पोखरा महानगरले लकडाउनका कारण रोजगारी गुमाएका परिवारलाई प्रति परिवार २ हजार बराबरको राहत सामग्री बाँड्ने तयारी गरेको छ । नामावली संकलनपछि मात्रै राहतका कार्यक्रम बाँड्ने योजना बनाएको महानगरले अझैंसम्म नामावली संकलन गरेर भ्याएको छैन । 

वडाबाट केही परिवारलाई राहत सामग्री बाँड्न सुरु भएपनि महानगरको राहत कार्यक्रम अझैसम्म सुरु भएको छैन । पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीकाअनुसार शनिबार बेलुकासम्म बल्ल वडाबाट विपन्न परिवारको तथ्याँक आईपुग्छ ।  महानगरले २ करोड ४८ लाख बराबरको राहत सामग्री विपन्न परिवारलाई उपलब्ध गराउने बताएको छ ।

माछापुछ्रे गाउँपालिका 

माछापुछ्रे गाउँपालिकाले विपन्न परिवारलाई राहत दिने तयारी थालेको छ । कार्यपालिकाबाट निर्णय पास गराएर राहत दिने तयारी भई रहेको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले बताए । अहिलेसम्म राहतसामग्री भने बाँडिएको छैन ।

यस्तै, गाउँपालिकामा ३० जना होमक्वारेन्टाइनमा बसेकोमा २४ जनाले १४ दिन समयावधि पार गरि सकेको उनले बताए । कोरोना रोकथामका लागि गाउँपालिका कडि—कडाउ भएर लागि परेको उनले सुनाए । माछापुछ्रेमा लकडाउन अघि भारतबाट आएका २ जना बाहेका अरु बाहिरको मान्छे नआएको उनले जानकारी दिए । 

अन्नपूर्ण गाउँपालिका 
अन्नपूर्ण गाउँपालिकाले भने राहतमा कुनै पनि सामग्री नदिने निर्णय लिएको छ । राहत दिईं हाले पनि ‘लकडाउन’पछि राहत लिने परिवारलाई दैनिक ५ सय रुपैयाँ पारिश्रमिक बराबरको श्रमदान गर्नुपर्ने शर्तमा मात्रै राहत दिने गाउँपालिका अध्यक्ष युवराज कुँवरले बताए । ‘राहत नदिने । म राहत विरोधी हूँ । राहतको नाममा मान्छेले ठगेर खाने भए,’ उनले भने, ‘राहत दिए पनि राहत बराबरको पारिश्रमिक दिने शर्तमा दिने हो ।’
गाउँपालिकामा ३० जना होम क्वारेन्टाइनमा बसेकामध्ये १८ जना १४ दिनको क्वारेन्टाइन बसाई पुरा गरेर निस्किसकेको उनले जानकारी दिए । राहत चाहिने परिवारलाई राहत दिई हाले पनि राहत बराबरको पारिश्रमिक श्रमदान गराएर दिने पक्षमा छन्, उनी । 

माँदी गाउँपालिका
माँदी गाउँपालिकाले ७ सय परिवारलाई राहत सामग्री दिने तयारीमा छ । आइतबार ७ सय विपन्न परिवारलाई राहत सामग्री बाँड्ने गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले जानकारी दिए । राहतमा २५ केजी चामल, तेल, नुन, दाल लगायत २ हजार बराबरको खाद्य सामग्री बाँड्ने उनले सुनाए । माँदी गाउँपालिकाको क्वारेन्टाइनमा कोही पनि छैनन् । २ जना होम क्वारेन्टाइनमा बसेकोमा १४ दिनको क्वारेन्टाइन बसाई पूरा गरेको उनले सुनाए । गाउँपालिकाले वितरण गर्ने राहत भने ‘सुपर माँदी हाइड्रो पावर प्राइभेट लिमिटेड’ले सौजन्य गरेको अध्यक्ष गुरुङले बताए । हाइड्रो पावर कम्पनीले १४ लाख बराबरको कोष गाउँपालिकामा खडा गरेको उनले जानकारी दिए ।

रुपा गाउँपालिका 
रुपा गाउँपालिका कोरोना भाइरसविरुद्ध लड्न तम्तयार अवस्थामा छ । गाउँपालिका अध्यक्ष नवराज ओझाले गाउँपालिकामा अहिलेसम्म खाद्यान्न अभाव नदेखिएको बताए । खाद्यान्न पसललाई खाद्य सामग्री सकिन नदिने गरि व्यवस्थापन गर्न लगाएको उनले सुनाए । राहत सामग्री आवश्यक पर्ने परिवारको हकमा भने गाउँपालिले राहत दिने छ । गाउँपालिको त्यस्ता परिवारको पहिचान गर्नको लागि शिक्षक, कर्मचारी, जनप्रतिनिधि घर—घरमै परिचालन गरेर अवस्था बुझ्न लगाएको उनले बताए । ‘उहाँहरुलाई अप्ठ्यारो परे वडामा सम्पर्क व्यक्ति पनि बनाएका छौं । अप्ठ्यारो प¥यो भने हामी लाइन लगाउँदैनौं’उनले भने, ‘घरमै लगेर दिन्छौं । त्यसको व्यवस्था पनि हामीले गरेका छौं ।’ 

रुपामा २५ जना क्वारेन्टाइनमा बसेकोमा ५ जनाले क्वारेन्टाइन बसाईं पूरा गरेर फर्किएको उनले सुनाए । गाउँपालिकामा अहिले कुनै पनि नयाँ मान्छे प्रवेशमा रोक लगाइएको छ । गाउँपालिका प्रवेश गर्न १४ दिनेको क्वारेन्टाइन बसाई पूरा गर्नुपर्ने अध्यक्ष ओझाले जानकारी दिए । नियमित स्वास्थ चेकजाँचको व्यवस्था पनि गाउँपालिकाले मिलाएको उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप