शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

क्वारेन्टिन सेन्टर खोल्ने विषयमा भएको हिंस्रक झडपमा एकको मृत्यु

आइतबार, २३ चैत २०७६, १२ : १२
आइतबार, २३ चैत २०७६

भारतको पश्चिम बंगालस्थित बीरभूम जिल्लामा एउटा गाउँको स्कूलमा क्वारेन्टिन केन्द्र खोल्ने विषयमा दुई गुटबीच भएको हिंस्रक झडपममा एक व्यक्तिको मृत्यु भएको छ ।

घटना शनिबार राती भएको हो । घटनास्थालमा पुगेका प्रहरीसँग स्थानीयको झडपसमेत भयो ।

घटनास्थलमा उपस्थित एक पुलिस अधिकारी श्याम सिंहले भने, ‘स्थानीय दुई गुटबीच भएको हिंस्रक झडपमा बम हमलामार्फत् घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।’

गाउँमा भारी मात्रामा सुरक्षा बल तैनाथ गरिएको छ । मृतकको पहिचान सैफुद्दीन उर्फ श्यामबाबुको रुपमा भएको छ ।

स्थानीयका अनुसार जिल्ला प्रशासनले गाउँकै एउटा स्कूलमा कोरोनाभाइरसको संदिग्ध बिरामीका लागि क्वारेन्टिन केन्द्र खोल्ने निर्णय गरेको थियो ।

तर स्थानीयको एउटा गुट यसको विरोधमा थिए भने अर्को यसको समर्थनमा थिए ।

सुरुमा सामान्य विवाद भएको थियो पछि यसले हिंस्रक रुप लियो र दुबैले एक–अर्कामाथि बम फ्याँके । यसमा एक अधवैंशे व्यक्तिको मृत्यु भयो । यो विषयमा अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन ।

क्वारेन्टिन केन्द्रको स्थापनाको विरोध गर्नेहरुका अनुसार आफ्नो गाउँमा कोरोनाका बिरामीलाई राख्दा पूरा गाउँमा नै कोरोना भाइरसको संक्रमण फैलन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप