शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सेती किनाराका भोकको कथा

आइतबार, २३ चैत २०७६, ०८ : २८
आइतबार, २३ चैत २०७६

त्रिशूलीको किनारामा बालुवा चाल्नेहरु

सोलुमा भारी बोकी बालबच्चा पाल्नेहरु

अझै नि निरङ्कुश ढल्या छैन है

जनताको शासन त चल्या छैन है ।

बद्री पङ्गेनीले गाएको यो गीत दशकभन्दा बढी पुरानो भयो तर यो गीतको सान्दर्भिकता अझै पनि उत्तिकै छ । हुनेखानेहरुले त घरभरी सामान थुपारेर राखेका छन् । बिहान कमाएर बेलुकीको जोहो गर्नेहरुको अवस्था दिनदिनै दयनीय बन्दै गएको छ । उनीहरु रोगको भन्दा भोकको चिन्ता ग्रसित छन् ।

सरकारले राहत घोषणा गरेको पाँच दिन भयो तर राहत ज्यामी मजदुरको घरसम्म पुग्न सकेको छैन । अझै केही दिन यस्तै रहने हो भने मजदुरहरुको घरमा चुल्हो निभ्ने अवस्था आउँछ ।  आज हामी सेतीको किनारामा बालुवा चालेर जिन्दगी गुजार्नेहरुको अवस्था बुझ्न रामघाट पुगेका थियौँ । रामघाटमा पनि लकडाउनको प्रभाव परेको सहजै देख्न सकिन्छ । दैनिक पाँच सय हाराहारी मजदुरको परिवार सेतीको किनारामा बालुवा छानेर र गिट्टी कुटेर चल्ने गर्छ । अहिले रामघाटमा मुस्किलले ५० जनाजति मजदुरहरु देख्न सकिन्छ ।

रोगको भन्दा भोकको चिन्ताले सताएपछि थुम्से र साबेल बोकेर रामघाट आएका भुमबहादुर बोहरा घाटमा बालुवा चालिरहेको थिए । ‘घरमा चामल छैन । पुलिसले बाहिर निस्कन दिएको छैन । पुलिस नउठ्दै म घरबाट निस्किएको हो । राहतको लागि फर्म भरेको पाँच दिन भयो । तर राहत घरसम्म आइपुगेको छैन । लकडाउन हो कि के हो सकिएपछि आउला कि भन्ने आस छ । हामी दिनभर कमाएर घर चलाउनेहरुलाई गाह्रो छ । विगत १५ वर्षदेखि यहीँ बालुवा चालेर बसेको छु । अहिले जतिको समस्या कहिल्यै परेको थिएन,’ बोहोरा भन्छन् ।

पन्ध्र वर्षअघि पोखरा आएको बोहोराको परिवारमा उनको एक श्रीमती र एक छोरा छ । घरमा चामल सकिएको दुई दिन भयो । ऐँचापैँचो गरेर छाक गुजारिरहेका छन् । अस्ति त दिनभर लाइन बसेर फर्म पनि बुझाएँ । तर अझै राहत पाउन सकेनन् । बोहोराको मात्र होइन रामघाटको सुकुम्बासी टोलमा बस्ने धेरैको घर चामल सकिएको छ । ‘कि सरकारले बिना रोकतोक काम गर्न दिन प¥यो कि त घरमा राहत पु¥याउन प¥यो । नत्र त हामीजस्ता मजदुरहरु भोकभोकै मर्छौँ नि हजुर’ बोहोर भन्छन् ।

अलि माथि थुन्सेमा बालुवा हाल्दै गरेका बिवेक लामा खलखली पसिना निकाल्दै काममा व्यस्त थिए । गीता मन्दिर अगाडि बस्ने विवेक लामा करिब १० वर्ष अगाडिदेखि सेतीको किनारामा बालुवा चालेर जिन्दगी चलाइरहेका छन् । उनको परिवारमा २ छोरी र उनको श्रीमतीसहित चार जना छ । उनी शुक्रबारबाट फेरि बालुवा चाल्न घाटमा निस्किएका हुन् । ‘सरकारले राहत दिन्छ भनेर वडा कार्यालयमा तीन पटक पनि पुगेँ । त्यहाँ टोल सुधारको सिफारिस चाहिन्छ भनेर फर्कायो । टोल सुधारको अध्यक्षलाई भेट्नको लागि दुई पटक उहाँकै घर पुगेँ । उहाँ घरमा भेटिनु भएन । अब राहत पाइँदैन भन्ने लाग्यो र बालुवा खोस्रिन घाटतिर आएँ । पोखरा महानगरपालिका मेयर मानबहादुर जिसिलाई तपाईंहरुले भन्दिन प¥यो सर राहत पाउनका लागि कति दुःख गर्नपर्ने हो ? हामी त जसोतसो गरौँला । एक दुई छाक नखाएर पनि जिन्दगी चलाउला तर छोराछोरीलाई के गरेर राख्ने ? यो महिना त भाडाका लागि पनि पैसा जोहो हुने अवस्था छैन । हाम्रो त यो लकडाउनले विचल्ली नै बनाउने भयो,’ लामा भन्छन् ।

यो लकडाउनको समयमा बाहिर निस्कन हुन्न भन्ने थाह छैन दाइ ? भन्ने प्रश्नमा उनी भन्छन्–‘थाह छ तर रोगभन्दा ठूलो भोक रहिछ । कि सरकारले हामीलाई खानाको व्यवस्था गरिदिनुप¥यो कित काम गर्न दिनपर्यो नि ? भोकको चिन्ता कति छ भन्ने कुराको ज्ञान यो देशका नेताहरुलाई दुई छाक भोकै राखिदिएपछि थाह हुन्छ । हामीजस्ता गरिबहरुलाई कि तिमीहरु मर भन्नुपर्यो कि त केही गर्न पर्यो नि हैन र भाइ ? यहाँ बालुवा चाल्नेहरु कति भागेर आएर बालुवा चाल्दै बसेका छन् । सबैसँग नागरिकता पनि छैन । के नागरिकता नभएकाहरु चाहिँ यो देशको जनता होइनन् र ? सरकारले दिने भनेको राहत अझै पाउन सकिएको छैन । देशमा कम्युनिस्ट सरकार छ भनेर के गर्नु ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सौगात पोखरेल
सौगात पोखरेल
लेखकबाट थप