बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

होसियार ! कोरोनाको कारण देखाएर खतरनाक अपराधी छुट्लान्

शनिबार, २२ चैत २०७६, १८ : ५९
शनिबार, २२ चैत २०७६

एउटा भनाइ छ– नेपाली राजनीतिमा पनि जे हुन्छ ।भनाइको तात्पर्य अपराधीहरु खुलेआम हिँड्छन् र निर्दोषलाई फसाइन्छ भन्ने पनि हो ।

सरकारले कोरोना भाइरसको कारण देखाएर खतरनाक र गम्भीर अपराधका अपराधीलाई छुटाउन सक्ला ? कोरोनाको कहरलाई कारणका रुपमा देखाएर खतरनाक र गम्भीर अपराधका अपराधीलाई पनि सरकारले रिहा गर्नसक्ने भन्दै सामाजिक सञ्जालमा सरकारमाथि प्रश्न चिन्ह खडा भएको छ ।

यसबारे पूर्वआईजीपी सर्वेन्द्र खनाल पीडितलाई झनै पीडित बनाउन नहुने बताउँछन् । खनालले भने, ‘परिबन्धमा परेर आपराधिक क्रियाकलापमा संलग्न भएको व्यक्तिलाई परिवारको चाहना अनुरुपमात्र छाड्दा राम्रै हुन्छ ।’

‘प्रोफेसनल’ अपराधीलाई चाहिँ छाड्न नहुने खनालको भनाइ छ । उनले भने, ‘समूह बनाएर समाजमा आपराधिक क्रियाकलाप गर्ने व्यक्तिलाई सरकारले रिहा गर्नु भनेको पीडितलाई झनै पीडित बनाएर मन दुखाउनु हो, यस्तो गर्नुहुन्न ।’

विश्वभर जस्तै नेपालमा पनि कोरोना भाइरस (कोभिड–१९) को त्रासदीका कारण सरकारले २ सय ८६ कैदीबन्दीलाई रिहा गरेको छ । जेलमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका र एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै यो भाइरस सर्न सक्ने भन्दै सरकारले संक्रमण नियन्त्रणका लागि ‘लकडाउन’को नीति अख्तियार गरेको बेला देशभरका कारागारबाट एक सय जना र बाल सुधार गृहबाट एक सय ८६ जना रिहा भएका हुन् । 

सर्वोच्च अदालतको फुल बेन्चको चैत ७ गतेको आदेशको बुँदा नम्बर ६ अनुसार एक वर्ष वा सोभन्दा कम कैद सुनाइएका कैदीबन्दीहरु मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ बमोजिम सम्बन्धित अदालतको आदेशमा छुट्नसक्ने व्यवस्था छ । 


केन्द्रीय कारागार सुन्धाराको गोल घरभित्र ७ जना गम्भीर अपराधका कैदीहरु छन् । उनीहरूमध्ये एक जना तेस्रो लिंगी र ३ जना विदेशी नागरिक छन् ।

गोल घरभित्र रहनेमा मोरङ उर्लाबारी–४ का चूडामणि उप्रेती ‘गोरे’, नेपालगञ्ज–३ बाँकेका अभिषेकराज सिंह, काठमाडौँ बाफलका समीरमानसिंह बस्नेत, विदेशी नागरिकहरूमा फ्रान्सेली नागरिक चाल्र्स शोभराज, बेलायती नागरिक मुकदुर हुसेन र साउदी अरबका बाबरी सेभ छन् । 

गोरे ३३ किलो सुन काण्ड र सनम शाक्य हत्याका मुख्य अभियुक्त हुन् । उनको मुद्दा हाल जिल्ला अदालत मोरङमा विचाराधीन छ । उनी पुर्पक्षका लागि जेल चलान भएका हुन् । 

सुन काण्डको मुख्य अभियुक्त र सनम हत्याको मुख्य नाइके भनिएर सामाजिक सञ्जालदेखि चोक–चोकमा गोरेको नाम आइरहँदा पनि सरकारले लामो समयपछि मात्र उनलाई पक्राउ गर्न सफल भएको हो । उनलाई दुबईबाट पक्राउ गरेर नेपाल ल्याइएको हो । गोरेको राजनीतिक दलका शीर्ष नेताहरुसँग राम्रै उठबस रहेको स्रोतको दावी छ । 

त्यसरी नै सिंह ‘सिरियल किलर’का रूपमा चिनिएका अपराधी हुन् । धार्मिक आवरणमा विभिन्न अपराध गर्दै आएका उनी २०७० सालमा पक्राउ परेका हुन् । 

सिंहमाथि १८ जनाभन्दा बढी व्यक्तिको शृङ्खलाबद्ध हत्या गरेको अभियोग छ । ललितपुरको नख्खु कारागारमा जन्मकैदको सजाय भोगिरहेकै बेला गत २० वैशाखमा कारागारभित्रै भक्तबहादुर सुनारलाई खानामा केमिकल मिसाएर हत्या गरेपछि सिंहलाई केन्द्रीय कारागार सुन्धाराको गोल घरमा राखिएको हो ।

उनको पनि राजनीतिक दलका शीर्ष नेताहरुसँग राम्रै उठबस रहेको पाइएको छ । बेला–बेला उनले शीर्ष नेताहरुसँग भेटेको फोटो समेत सार्वजनिक गर्थे । 

यसरी नै समीरमान बस्नेत गुण्डागर्दीमा संलग्न खतरनाक अभियुक्त हुन् । उनीमाथि निर्माण व्यवसायी शरदकुमार गौचनको हत्या अभियोग छ । बस्नेतको पूर्वएमाले निकटका नेताहरुसँग राम्रै हिमचिम रहेको छ । 

‘विकिनी किलर’का नामले संसारभर चिनिएका कुख्यात अपराधी हुन् फ्रान्सका चाल्र्स शोभराज । यतिबेला कोरोनाको कारण देखाउँदै शोभराज छुट्न सक्ने समाचार पनि सम्प्रेषण भइरहेको छ । 

शोभराज १४ वर्षदेखि सुन्धारा कारागारमा जेल जीवन भुक्तान गरिरहेका छन् । उनीमाथि विभिन्न देशका नागरिक हत्या गरेको अभियोग छ । नेपाल घुम्न आएकी एक विदेशी महिलाको हत्या अभियोगमा उनी हाल जन्मकैदको सजाय भोगिरहेका छन् । 

साउदी अरबका बाबरी सेभमाथि पनि बाल यौनदुराचारको अभियोग छ । उनलाई नेपाल प्रहरीले केही समयअघि पक्राउ गरेको हो ।

आर्थिक प्रलोभनामा परेर खतरनाक र गम्भीर अपराधका यस्ता अपराधीलाई कोरोनाको कारण देखाएर सरकारले रिहा गर्नु खोज्नु  दूर्भाग्यपूर्ण विषय भएको सरोकारवालाहरु बताउँछन् । यसप्रति सजग हुनुपर्ने उनीहरुको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप