केन्द्रीय संस्करण
मेरो जीवन

लोकगायक कुमार बस्नेतको जीवन : म राम्रो सिकारी पनि हुँ

person explore access_timeचैत २२, २०७६ chat_bubble_outline0

‘छोरी भन्दा आमा तरुनी’, ‘लैबरी लै’, ‘डल्ली मगरनी हो’ जस्ता चर्चित लोकगीतका स्रष्टा हुन्, कुमार बस्नेत । नेपाली लोकसंगीतमा उनको योगदान अतुलनीय छ ।आफ्नो सम्पूर्ण जीवन लोकगीत सङ्कलन र गायनमा बिताएका गायक बस्नेतले ५ दशक अगाडि बजारमा ल्याएका गीतहरु अहिले पनि हिट छन् ।  समाजका विकृति, विसङ्गती लगायत धेरै पक्ष लोकगीत मार्फत मिठासपूर्ण तवरले बाहिर ल्याउन माहिर बस्नेतलाई कतिपयले छाडा गायकको आरोप समेत नलगाएको होइन । तर, उनको गीतको चर्चा, ठेट लोकभाका र शब्दले सबै आरोपलाई फिक्का बनाइदिन्छ । उमेरले ७० वर्ष कटेपनि अहिले पनि उत्तीकै सक्रिय गायक बस्नेतका जीवनका पाटाहरु रातोपाटीको ‘मेरो जीवन’स्तम्भमा खोतल्ने प्रयास गरिएको छ ।

मेरो खाना
खानेकुराको हिसावले भाग्यमानी मानिस हुँ । राजाको भान्सादेखि सर्वसाधारणको भान्सासम्मको परिकार मेरो मुखमा परेको छ । पहिले सबै प्रकारका खानेकुरा र मासु मनपथ्र्योे । अहिले नेपाली खाना दालभात तरकारी र गुन्द्रुक मात्र मिठो लाग्छ । धेरै चिल्लो भएका खानेकुरो मनपर्दैन । पहिले रेष्टुरेन्ट धेरै जान्थें । अहिले खासै जान्नँ ।
एक समय तत्कालीन राजा वीरेन्द्र भन्दापनि म ठुलो भनेर अन्तवार्ता समेत दिएँ । ‘राजालाई चारैतिर सुरक्षा गार्डले घेरेर राखेका हुन्छन् । मलाई जहाँ गएपनि फ्री छ’ भनेर म उदाहरण दिन्थे ।

मेरो पोशाक 
३० वर्ष सरकारी जागिर खाएँ ।  कर्मचारी संञ्चयकोषको जागिरे हुुँ । धेरै समय सरकारी कर्मचारी भएर बिताएकाले मेरो मनपर्ने पहिरन दौरासुरुवाल नै हो । 
अहिले शरीरमा फिट हुने क्याजुअल पनि लगाउँछु । पहिरनमा मनपर्ने रंग निलो हो । छोराछोरी विदेशमा छन् । घरमा आउँदा उनीहरुले जहिले पनि मनपर्ने लुगा ल्याइदिन्छन् । त्यसैले पहिरनमा अहिले मेरो धेरै खर्च छैन ।
म गरिब मानिस हेर्न सक्दिनँ । एकपटक सुर्खेतमा जाँदा खुकुरी बनाउने गरिब मानिस भेटेको थिएँ । सो समय  आफूले सक्ने सहयोग गरेको थिएँ ।

मेरो फिटनेस  
म ७७ वर्षको भएँ । अहिलेसम्म एकदमै फिट छु । त्यसैले फिटनेसमा ध्यान दिन्नँ । म फिट हुनुको कारण सन्तुष्टि हो । कलाकारिताको कामले मेरो फिटनेस भएको छ ।

मेरो अध्ययन
अध्ययन धेरै गर्दिनँ । मनपनि लाग्दैन । किनभने म अर्काको नलेज चोर्ने पक्षमा छैन । पत्रपत्रिका, अनलाइन भने हेर्छु । रुचिका विषयका भयो भने पुस्तक पनि पढ्छु ।
म गीतसंगीत सिर्जना गर्ने मानिस अरुको पुस्तक अध्ययन गरेर गीत सिर्जना गर्दा केही शब्द मिल्यो भने चोरेको आरोप लगाउँछन् । त्यसैले अध्ययन गरेर सिक्नुभन्दा पनि  आफै घुमेर आँखाले हरेर अध्ययन गर्न मनपर्छ ।
 मेरो घुमफिर 
घुमघाम असाध्यै मनपर्छ । देशको गाउँगाउँ पुगेको छु । पश्चिमाञ्चलका भूभाग कम पुगेको हुँला । अहिलेको ७७ जिल्लामा ७० जिल्ला टेकेको छु ।
विदेशका भने अमेरिका, लण्डन, फ्रान्स, बेल्जियमलगायत नेपाली बसेको प्रायः सबै देश पुगेको छु ।

मेरो फुर्सद
अहिले मलाई फुर्सदै फुर्सद छ । त्यसैले दिन काट्न गाह्रो छ । घरको परिवारले पनि फुर्सद भयो भनेर गाली गर्छन् । कहिले कता कहिले कता साथीभाई भेट्न हिँडिरहेको हुन्छु । मिडियाकर्मीहरु पनि भेट्छु । यो अवस्थामा केही कुरा सिक्न पनि मिल्छ । 

मेरो खेलुकद 
म एकसमय राम्रो फुटबलर थिएँ । पहिला संकटा क्लबको खेलाडी पनि हुँ । ए डिभिजनमा फुटबल खेल्थें । मेरो बुबा पनि राम्रो फुटबल खेलाडी हुनुहुन्थ्यो । अहिले रोनाल्डो, मेसी भने जस्तो लोकलमा चर्चित ।
अर्काे कुरो म राम्रो सिकारी पनि हुँ । सिकार खेल्नका लागि डाडाकाँडा, जंगलमा धेरै हिँडेको छु । अहिले टिभीमा खेल हेर्न असाध्यै मनपर्छ । टिभीमा फुटबल र टेनिस हेर्छु ।

मेरो मोबाइल
अहिले मसँग एउटामात्र मोबाइल छ । त्यो पनि धेरै प्रयोग गर्दिनँ । मलाई सर्वसाधारणले सुत्न, बस्न, खान समेत नदिने भएकोले मोवाइल नम्बर धेरैलाई दिन्नँ ।
मोवाइल फोन गर्ने, उठाउने र कहिले काहिँ सामाजिक सञ्जाल चलाउन काम लाग्छ । मेरो फोन मिडियाका लागि भने जहिले पनि खुल्ला छ ।
किनभने मिडियाले नै मलाई माथि उठाएको हो । मिडियाले मलाई लोकगीतका राजा समेत भनेका छन् । अहिले पनि कहिले सम्राट, कहिले आइकनको रुपमा चर्चा गर्दछन् । किनेर खासै मोबाइल फेर्दिनँ । गिफ्ट आयो भने मोबाइल फेर्छु ।

मेरो टिभी
नियमित टिभी हेर्छु । जुनै बेला पनि हेर्न पर्छ । म बाहिरबाट रराति अबेर घरमा फर्किएँ भनेपनि एक पटक टिभीमा बीबीसी र सीएनएन हर्नैपर्छ । टिभीमा समाचार, गीतसंगीत र एनिलप्लान्ट पनि हेर्छु ।

मेरो चलचित्र 
कहिलेकाहिँ साथीहरुले बोलाएर हलमै चलचित्र हेराउँछन् । हलमा मात्र होइन टिभीमा पनि चलचित्र हेर्छु । पछिल्लो समय हेरेको चलचित्र ‘छक्का पन्जा ३’ हो ।
मनोरन्जनले आयु बढ्छ भन्ने हिसाबले चलचित्र हेर्छु । सबै प्रकारका चलचित्र हेर्न मनपर्छ ।  

मेरो गीतसंगीत
गाउने र नाच्ने म २००८ सालदेखि नै गर्थेँ । मेरो त्यो कला देखेर लक्ष्मीप्रसाद देवकोटाले ए कुमार यता आइजा भनेर काँखमा राख्नु हुन्थ्यो । उक्त समय म फुच्चे थिएँ । 
सो समयदेखि अहिलेसम्म पनि म गीतसंगीतमै छु । मैले लोक, लोकपपदेखि रकसम्म सबै प्रकारको गीत गाएको छु । तर मेरो मुख्य बिधा लोक गायन नै हो । रेकर्ड नभएका गीत कति गाएँ कति । तर रेकर्ड भएका लोकगीत दुईसय माथि होला । 


गीतसंगीत सबै प्रकारका सुन्न मनपर्छ । नेपालमा वेष्टन संगीत भित्र्याउने पनि मै हँु । मैले नेपाली गीतमा गीतार र बाजा भित्र्याएको हो । 

मेरो प्रेम  
२०२३ तिर मेरो प्रेम भएको हो । त्यो समय प्रेमको चलन त त्यति थिएन । तर पनि मेरो प्रेम बस्यो । उनी मेरो नजिकको रिलेटिभको आफन्त पर्दथिन् ।
म आफन्तको घरमा जाँदा देखभेट भइरहन्थ्यो । सोही क्रममा हाम्रो प्रेम बस्यो । उनले मसँग विवाह गर्ने भए गर नत्र म आफ्नो सुरमा हिँड्छु भनिन् । उनी मलाई पनि मन परेको थियो । आउ भनेर घर भित्र्याएँ । सिम्पल विवाह पनि गरियो । उनीसँग प्रेम अहिले पनि त्यतिकै छ ।

मेरो भूल
जीवन यात्रामा जानी नजानी भूल धेरै भए होलान् । त्यो स्वभाविक पनि हो । मेरो विचारमा भूलबाटै मानिसले सिक्ने पनि हो ।
सधै पछुतो हुने त्यस्तो भूल भएको छैनजस्तो लाग्छ । मैले धेरै सिकार खेलेको छु । एकपटक जोमसोममा सिकार खेल्र्ने क्रममा च्याखुरा मारेकाे थिएँ । लिन जाने क्रममा त्योसँग धेरै बच्चा बसेको रहेछन् ।
त्यो दिन राति सपनीमा त्यो बच्चाहरु खान नपाएर कराएर मरेको देखेको थिएँ । भोलिपल्ट उक्त सिकार खेलेको ठाउँमा हेर्न जाँदा सबै बच्चा मरेको भेटेँ । त्यो बेला किन च्याखुरा हानेछु भन्ने पछुतो भएको थियो । त्यो भुलको पछुतो अहिले पनि छ । 

मेरो सपना  
अहिले त्यस्तो ठुलो सपना केही छैन । नेपालीलाई भित्रिमनबाटै राष्ट्रप्रेमी कसरी बनाउने भन्ने चिन्ताको विषय हो । सपना पनि यही छ । सबै नेपाली सम्पन्न हुन् । कसैले भोकै बस्नु नपरोस् । मेरो अर्काे सपना छ । नेपाली लोकगीत संगीत विश्वको प्राथमिकतामा परोस् भन्ने पनि छ । 

मेरो रोग
अहिलेसम्म त्यस्तो केही रोग छैन । केही अगाडि फ्रान्स गएको समयदेखि मुटुमा केही समस्या छ । डाक्टरले बायाँ भल्बले अलि काम गरेको छैन भनेका थिए । त्यस बाहेकको अन्य कुनै रोग छैन । कहिले काहिँ रुघाखोकी लाग्नु सामान्य हो । 

मेरो मापसे 
पहिले मापसे धेरै गर्थेँ । अहिले मुडअफ भएको समय गर्न मन लाग्छ । पहिले रक्सी केके खाइयो खाइयो । अहिले भनेर साध्य नै छैन ।
२०२२–०२३ तिर मापसेका लागि कुनैपनि होटलले मसँग पैसा लिँदैन थियो । 

मेरो राशि 
मेरो राशि कर्कट हो । ग्रहदशामा विश्वास लाग्छ । म सानोमा हुँदा एउटा पण्डितले मेरो चिना हेरेर यो काजीको संसारभर घुम्ने, चिनिने योग छ भनेका थिए । त्यही भयो । अहिले पनि ती पण्डितको कुरा सम्झन्छु ।

 
मेरो मृत्यु
मृत्यु एउटा स्वभाविक प्रकृया हो । यो सत्य पनि हो । एकदिन मर्नु नै पर्छ । यसको कुनै भर छैन । कुनदिन र कसरी भन्नै सकिन्न । त्यसैले म यमराजको जय होस् भन्छु । गीतसंगीतमा मैले धेरै नभएपनि केही कर्म त्यस्तो गरेको छु जस्तो लाग्छ । जसले मृत्युपछि पनि मलाई जिउँदो राख्ने काम गर्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.