केन्द्रीय संस्करण
बैङ्क

कोरोनाको त्रास : कसरी काम गर्दैछन् बैङ्कका कर्मचारी ?

बैङ्कर्स भन्छन् – बैङ्कको मूल उद्देश्य भनेकै ग्राहकको सेवा हो, हामी निरन्तर सेवामा छौंं

person explore access_timeचैत २१, २०७६ chat_bubble_outline0
टुना भट्ट

रातोपाटी

गोठाटारबाट कमलादीस्थित ग्लोबल आइएमई बैङ्कको मूख्य कार्यालय पुग्न सँधै एकदेखि डेढ घन्टा लाग्थ्यो स्वस्तिका वलीलाई । तर आजभोलि उनी १५ देखि २० मिनेटमा कार्यालय पुग्छिन् । किनकि देश ‘लकडाउन’ छ, सडकमा मानिस र सवारी साधन फाट्टफुट्टमात्र हुने भएकाले ट्राफिक जामको सास्ती छैन ।

कार्यालयको गाडीले नै ल्याउने र लैजाने गर्ने भएकाले ग्लोबल बैङ्कको सेन्ट्रल ट्रेड फाइनान्समा कार्यरत वलीलाई कार्यालयको काममा जान–आउन निकै सहज भएको छ आजभोलि । तर मनमा भने भयले नराम्ररी चपेटेको छ ।

कोरोनाभाइरसको महामारी फैलिएसँगै विश्व समुदाय नै यतिबेला त्रासमा छ । विश्वले नै महामारी नियन्त्रणका लागि लकडाउनको निती अवलम्बन गरेपछि नेपाल सरकारले पनि मुलुकलाई लकडाउन गर्यो । लकडाउनको निर्णयसँगै सरकारले अत्यावश्यक सेवाका क्षेत्रलाई भने सुचारु राख्न निर्देशन दियो ।

अत्यावश्यक सेवामा पर्ने बैङ्क लकडाउनको अवधिमा पनि खुलेका छन् र सेवा दिइरहेका छन् । यो अवधिमा विशेष गरेर क्यास, एलसी, ग्यारेन्टी, क्लियरिङ्ग, रेमिट्यान्सलगायतका कामहरु मात्र भइरहेका छन् भने अन्य सवै सेवा बन्द गरिएको छ । बैङ्कका सबै शाखा खोल्न संभव नभएकाले एटीएम, मोबाइल तथा इन्टरनेट बैंकिङ्गबाट कारोबार भएका छन् ।

भयकै बीच स्वस्तिका कार्यालय पुग्छिन् र प्रतितपत्र(एलसी) ग्यारेन्टीको सेटलमेन्ट, पेमेन्ट लगायतको काममा लाग्छिन् । अत्यावश्यक सामाग्री (मेडिकल सप्लाई) आयातका लागि एलसी खोल्ने सुविधा दिन बैङ्कलाई सरकारले आग्रह गरेसँगै बैङ्कले पनि साथ दिएको हो । लकडाउन सुरु भएदेखि २ देखि ३ दिनको फरकमा स्वस्तिका कार्यालय जान्छिन् ।

घर परिवारले जोखिमको यो अवस्थामा नगए हुन्थ्यो भने पनि संकटको बेला पछाडि हट्न आफ्नो पेशागत दायित्वले नदिने उनी बताउँछिन् । नागरिकको हैसियतले राष्ट्रको लागि सानो भए पनि सहयोग गर्नुपर्ने ठानेर काममा जाने गरेको उनको भनाइ छ ।

आफू बचौं र अरुलाई पनि बचाऔं : शशीशेखर शर्मा, ग्लोबल आइएमई बैङ्क

ग्लोबल बैङ्ककै सेन्ट्रल ट्रेड फाइनान्स विभागका प्रमुख शशीशेखर शर्मा हरेक दिन कार्यालय पुग्छन् । पहिलाको जस्तो चाप नभए पनि यस्तो अवस्थामा कार्यालय जानु भनेको जोखिम मोल्नु हो । तर बैङ्कले सुरक्षा सतर्कताका सवै उपाय अवलम्बन गरेकाले सुरक्षित महसुस गरेका छन् उनले ।

शर्मा बैङ्कको एउटा महत्वपूर्ण विभागमा छन्, त्यसमा पनि अहिलेको अवस्थामा मेडिकल सप्लाई आयातका लागि एलसी ग्यारेन्टी खोल्नु अत्यन्त आवश्यक भएकाले पनि अनिवार्य जाने गरेको बताउँछन् । विभागका कर्मचारीको मनोबल बढाउनु त छँदै छ, त्यसमा पनि महत्वपूर्ण निर्णयहरु लिनुपर्ने हुँदा कार्यालय पुग्नै पर्छ उनलाई ।

विभागमा सीमित कर्मचारी हुन्छन् । एक जनाको दुईदेखि तीन दिनको फरकमा पालो पर्छ । काम गर्ने क्षेत्रमा पनि दुरी राख्छन्, मास्क, पन्जा अनि सेनिटाइजर अनिवार्य गरिएको छ । साथै, कार्यस्थलमा पनि डिस्इन्फेक्ट गर्ने गरिएको छ जसले जोखिम नभएको शर्मा बताउँछन् । शर्मा आफू बचौं र अरुलाई पनि बचाऔं भन्ने नाराबाट प्रेरित छन् । त्यसैले सतर्क छन् र अरुलाई पनि सतर्क रहन आग्रह गर्छन् ।

बैङ्कको मोटिभ्स नै सेवा हो अतः हामी पछि हट्न सुहाउँदैन : संविधान वैद्य, एनआइसी एशिया बैङ्क

एनआइसी एशिया बैङ्क कमलादी शाखामा कार्यरत संविधान वैद्य पनि लकडाउन अवधिमा दुई÷तीन दिनको फरकमा कार्यालय पुग्छन् । क्यास इन्चार्ज रहेका वैद्य कोरोनाभाइरसको संक्रमणको जोखिम क्यास (नोट)मा हुने खबरले त्रास बढ्नु स्वाभाविक ठान्छन् ।

क्यासको विकल्प डिजिटल बैंकिङ्ग भए पनि सवै ग्राहक त्यसको पहुँचमा नहुँदा रकम राख्ने र झिक्नेका लागि काउण्टर संचालन गर्नैपर्छ । अझ यो अवधिमा रकमको माग धेरै हुने हुँदा क्यासलाई डिस्इन्फेक्ट गरेर चलनमा ल्याएका छन् बैङ्कहरुले ।

वैद्यलाई पनि कार्यालयको गाडीले ल्याउने र पुर्याउने गर्दछ । कार्यालयलाई पनि डिस्इन्फेक्ट गरेरमात्र कर्मचारी प्रवेश गराइने भएकाले जोखिम कम रहेको उनी बताउँछन् ।

‘बैङ्क खुल्नुको मूल उद्देश्य नै ग्राहकको सेवा भएपछि सेवाबाट पछि हट्नु हाम्रो धर्म होइन,’ वैद्य भन्छन् । संकटको अवस्थामा रकमको आवश्यकता ज्यादा हुने हुँदा खाताबाट रकम झिक्ने सुविधाबाट ग्राहकलाई वञ्चित गर्न नमिल्ने उनी बताउँछन् ।

१० वर्षको बैंकिङ्ग अनुभवमा यस्तो परिस्थितिको सामना कहिल्यै गर्नु नपरेको वैद्यको भनाइ छ । ‘देशमा बन्द, हड्ताल तथा आन्दोलनहरु हुँदा पनि जोखिम मोलेरै सेवा दिएको हो तर यस्तो खालको त्रासबाट गुज्रिनुपर्छ भनेर कसले सोचेको थियो र ?’ उनले भने । सारा दुनियालाई अवाक बनाएको भाइरसको जोखिम कम गर्न बैङ्कहरु सचेत रहेको उनी बताउँछन् ।

कर्मचारीको मनोवल बढाउन शाखा प्रमुख आफै उपस्थित हुन्छन् । घर परिवारले नगए हुनेजस्तो गरे पनि देशमा मात्र होइन, विश्वमै परेको यो संकटको अवस्थामा सेवामा खटिन पाउँदा गर्व महसुस गरेका छन् वैद्यले । उनी भन्छन्, ‘डब्लुएचओले सुझाएका उपायलाई अवलम्बन गरेर काममा खटिएकाले सुरक्षित रहेको महसुस हुन्छ ।’

बैंकिङ्ग सेवा संकटको घडिमा बढी सक्रिय हुनुपर्छ : कैलाश गौतम, एनआइसी एशिया बैङ्क

–एनआइसी एशियाकै एचआर, ब्राण्डिङ र जनरल एडमिनिस्ट्रेशन प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका कैलाश गौतम यतिबेला हरेक दिनजसो कार्यालय पुग्छन् । जिम्मेवारी बहन गर्नु त छँदै छ र अर्को महत्वपूर्ण पाटो भनेको कर्तव्य हो । संकटको घडीमा आफ्ना ग्राहकको सेवामा कमी आउन दिनु हुन्न भनेर नै कार्यालय जाने र दैनिक कामकाज गर्ने गरेको गौतम बताउँछन् ।

कार्यालय, कर्मचारीको अवस्था र व्यवस्थापन, शाखा खुलाउने र कर्मचारीलाई आवत जावतको व्यवस्थादेखि सवै एटीएममा दैनिक पैसा भर्ने काममा खटिने उनी सुरक्षा सतर्कताका लागि कहीँ कतै कमी नहोस् भनेर सतर्क छन् ।

एनआइसीले पनि हरेक दिन फरक स्थानमा शाखा खोलिरहेको छ । सुरक्षा सतर्कता अपनाएको छ । शाखा खोल्नु अगाडी कार्य क्षेत्रलाई डिसइन्फेक्ट गर्ने, कर्मचारीलाई अनिवार्य मास्क र पन्जा लगाउन भनिएको छ । सुरक्षा गार्डले पनि सुरक्षा सतर्कता अपनाएका छन् । ग्राहकलाई भित्र छिर्नु अगाडि सेनिटाइजरले हात सफा गरेरमात्र प्रवेश गराइने गरेको उनी बताउँछन् ।

सरकारले मुलुकलाई लकडाउन गरेको अवस्थामा कार्यालय गएर दैनिक गतिविधिमा संलग्न हुँदा डर लागे पनि संकटको घडीमा सेवा दिन पाउनु पनि अर्को खुसीको कुरा हुने उनको भनाइ छ । उनी आफ्नो कामप्रति गर्व गर्दै भन्छन्, ‘हामी सक्रिय भएनौँ भने ग्राहकलाई समस्या पर्छ । बैंकिङ्ग सर्भिस फ्रम होम भनेका छौं त्यसैले ग्राहकलाई डिजिटल बैंकिङ्गलाई नै प्राथमिकतामा राख्न आग्रह गरेका छौं ।’ 

भूकम्पले हल्लाउँदा भन्दा त अहिले सुरक्षित छौं : यूनिस पुरी, सेञ्चुरी बैङ्क

–यता सेञ्चुरी बैङ्कमा कार्ड एण्ड ट्रान्जेक्सन बैंकिङ्ग विभागमा कार्यरत यूनिस पुरीलाई बिहान कार्यालय समयमा पहिलाको जस्तो जाँगर चल्दैन । पहिलाको जस्तो हतार–हतार ९ बजे कार्यालय दौडनु त पर्दैन तर पनि त्यो जाँगर हराएको छ । कारण कार्यालयमा पहिलाको जस्तो रमाइलो वातावरण छैन । दुईदेखि तीन जनामात्र, त्यो पनि एक जना एउटा छेउमा त अर्को पल्लो कुनामा बसेर काम गर्नुपर्छ ।

पुरीको साथीभाईसँग अनि कार्यालयको काम तथा छलफल फोन, इमेलबाटै धेरै हुन्छ आजकाल । कार्यालय पनि १० बजे पुगे हुन्छ । बैङ्कले आउन–जान नै गाडीको व्यवस्था गरिदिएको छ । कार्यालयबाट फर्कदा उनी बाहिरै कपडा फेर्छन् । कपडा धोएर घाममा सुकाइ हाल्छन् । बाहिरबाट आउँदा हात–मुख धोएर अनि सेनिटाइजरको प्रयोग गरेर मात्र घर छिर्छन् ।

यो पनि पढौं 

लकडाउनः के गर्दैछन् बैंकका सिइओहरु ? कसरी चल्दैछ बैंक ?

लकडाउनको अवधिमा डिजिटल बैंकिङ्गको प्रयोग बढी हुने हुँदा कार्ड तथा अनलाईन बैंकिङ्गमा धेरै समस्याहरु आइ नै रहन्छ । घरमा रहेको अवस्थामा पनि प्रायः समय फोन उठाउँदा मै ठिक्क छ पुरीलाई । दिन–रात भन्न पाएका छैनन् ।  पुरी दैनिकजसो कार्यालय जान्छन् । विभाग नै अत्यावश्यक सेवामा पर्ने हुँदा आफ्ना ग्राहकलाई असुविधामा पार्न नसक्ने उनी बताउँछन् ।

सेञ्चुरी बैङ्कका ६ लाख बढी ग्राहक छन् । केही न केही समस्या आइराख्छ । उनी भन्छन्, ‘हामी ग्राहकको समस्या समाधानका लागि खटिएका छौं । ग्राहकलाई सुविधा दिनु हाम्रो कर्तव्य हो त्यसैले कर्तव्य एकातिर छ भने अर्कोतिर बैंकिङ्ग अत्यावश्यक सेवामा पर्ने भएकाले सरकारले नै बन्द नगर्न र नागरिकलाई सेवा दिन भनेको छ । सरकारको निर्णयलाई हामीले साथ दिएका छौं ।’

घरमा रहँदा पनि कहाँको एटीएममा पैसा सकियो कुन ग्राहकको कार्डमा समस्या आयो, कसको अनलाईनमा समस्या आयो, रेकर्ड राख्छन् दिनभरी । अनि कार्यालयमा हुने सहकर्मीलाई सूचना दिन्छन् । बाँकी भोलिपल्ट कार्यालय पुगेर आफै पुरा गरिदिन्छन् । बैङ्कले सपोर्ट यूनिटका सवैजनाको फोन नम्बर ग्राहकलाई दिएकाले समस्या परेसँगै सवैले फोनबाटै सेवा लिन थालेका छन् ।

भूकम्पले मुलुकलाई हल्लाइरहँदा पनि उनी कार्यालयमा उपस्थित भएर काम गरेको दिन सम्झन्छन् । त्यो अवस्थाजस्तो अहिले छैन, बरु अहिले सुरक्षित महसुस गरेका छन् उनले । पुरी भन्छन्, ‘हुन त सेवा क्षेत्रलाई पेशा बनाइसकेपछि हात बाँधेर बस्न पनि त सुहाएन नि ।’

ग्राहकको आवश्यकता र आग्रहमा शाखा खोल्छौं : रोशन पौडेल, हिमालयन बैङ्क

–हिमालयन बैङ्कको नवलपरासीस्थित कावासोती शाखामा कार्यरत रोशन पौडेल सुरुका दिन निकै आत्तिए । घरपरिवारबाट टाढा रहेर काम गर्दै आए पनि साथीभाई अनि कार्यालयको कामको व्यस्तताले दिनचर्या सहज थियो । एकाएक कोरोनाभाइरसको महामारी फैलिएको खवरले उनलाई बेचैन बनायो । मुलुक लकडाउन भयो । शाखा बन्द गर्नुपर्ने अवस्था आयो ।

बैङ्कको काम पनि घरबाटै गर्ने भनिएपछि रोशन पनि केही काम घरबाटै गर्छन् । समस्यामा परेका ग्राहकलाई परामर्श दिने, एटीएम तथा कार्डमा समस्या आएमा फोनबाट सुल्झाउन सक्ने छ भने फोनबाटै सुल्झाउँछन् ।

ग्राहकको आवश्यकताअनुसार र ग्राहकको आग्रहअनुसार मात्रै शाखा खुल्छ । शाखामा कर्मचारी दुईदेखि तीनजना मात्र गएर ग्राहकको काम हुन्छ । तर एटीएमको सुविधा भने बैङ्कले २४सैं घण्टा दिएको छ । र पैसा भए–नभएको जानकारी मुख्य कार्यालयले गराउँछ । जसअनुसार बैङ्कको टीम कुनै पनि समयमा पैसा भर्न जान तयारी अवस्थामा हुन्छ । रोशन पैसाबाट संक्रमण सर्ने खतरा भएकाले डिस्इन्फेक्ट गरेर मात्र एटीएम मेसिनमा भर्ने गरेको बताउँछन् ।

बाहिरी वातावरणका कारण मनोवैज्ञानिक त्रास छँदै थियो । तर पनि डिजिटल बैंकिङ्गबाट कारोबार धेरै हुने हुँदा केही राहत महसुस गरेको उनको भनाइ छ ।

पौडेल एटीएम बुथमा पैसा राख्न जाँदा पुरै सुरक्षा सतर्कता अपनाएर मात्र जाने गरेका छन् । उनी भन्छन्, ‘बैङ्कले आफ्ना ग्राहकलाई समस्यामा पार्ने कुरै हुँदैन, त्यसैले ग्राहकको आवश्यकताअनुसार सेवा दिन हरदम तयार छौं ।’ सकेसम्म डिजिटल बैंकिङ्गबाट कारोबार गर्न र सम्भव नभएको खण्डमा सिधा बैङ्कले उपलब्ध गराएको सम्वन्धित कर्मचारीको फोन नम्बरमा सम्पर्क गरी सेवा लिन सक्ने गरी ग्राहकलाई सुविधा दिइएको उनले बताए ।

हामी सुरक्षित छौं र सुरक्षित सेवा दिइरहेका छौं : सचित तामाङ, माछापुच्छ्रे बैङ्क

–माछापुच्छ्रे बैङ्कको इन्टरनेर बैंकिङ्ग तथा अपरेशन विभागमा कार्यरत सचित तामाङ पनि हरेक दिन कार्यालय पुग्छन् । उनको विभागले एटीएम तथा डेलिभरी च्यानलतिर हेर्ने भएकाले उनलाई छुट्टी छैन ।

कार्यालय आवत–जावतका लागि गाडीलाई बारम्बार डिस्इन्फेक्ट गराउँदै प्रयोग गर्ने गरेको छ । उनलाई पहिलाको जस्तो ढुक्कले कार्यालय जान नपाए पनि अझै त्यति डर भने लागेको छैन । परिवारले त सकेसम्म नगए हुन्थ्यो नै भन्छ । तर आफ्नो पेशा नै यही भएकाले जानै पर्ने बताउँछन् उनी परिवारलाई ।

हरेक दिन विहान १० बजे धापासीस्थित घरमा बैङ्कको गाडी लिन पुग्छ । उनी सिधै कार्यालय पुग्छन् । कार्यालयबाट गर्नुपर्ने काम गरेर कहीँ एटीएममा समस्या भयो या एटीएममा पैसा भर्नपर्ने भयो भने उनी त्यतै दौडिन्छन् । हुन त आजभोलि दुई/तीन घण्टा काम गरे हुन्छ । यसरी काम गर्दा मनोबल कमजोर नहुने उनी बताउँछन् । संकटको यस समयमा पनि ग्राहक सेवामा समर्पित हुन पाउँदन गर्व महसुस गर्छन् तामाङ ।

एटीएममा पैसा भर्न उनी आफै नै जान्छन् । नोट डिसइन्फेक्ट गरेर एटीएम मेसिनमा राख्नेदेखि एटीएम बुथलाई नै सेनिटाइज गर्नमा उनीहरु सतर्क छन् । एटीएम बुथको ढोका, स्विच, स्क्रिनलगायतमा पनि सरसफाई गर्ने गरेको र एटीएमको डिजिटल स्क्रिनमा अनि बाहिर सेनिटाइजरको प्रयोग गरेर मात्र रकम निकाल्न सूचना जारी गरिएको उनले बताए ।

बैङ्कहरुले संकटको अवस्थामा यसरी जोखिम मोलेर काममा खटिने कर्मचारीका लागि भनेर अहिलेसम्म कुनै सुविधा प्याकेज घोषणा गरेका छैनन् । यता बैङ्कर्स संघले भने लकडाउनको अवधिमा काममा खटिने आफ्ना कर्मचारीलाई विशेष सुविधा दिन आग्रह गरिसकेको छ । संघले विशेष सुविधाअन्तर्गत तालिम, प्रोत्साहन भत्तालगायतको व्यवस्था गर्न आग्रह गरे पनि अहिलेसम्म बैङ्कहरुले भने त्यस्तो कुनै पनि व्यवस्था गरेको जानकारी गराएका छैनन् । सवै बैङ्कहरुले अफ्ना कर्मचारीको मनोबल उच्च राख्नका लागि पनि सुविधासहितको प्याकेज घोषणा गर्ने हो भने उनीहरु मनोवैज्ञानिक रुपमा अझ बलियो बन्ने थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.