देउवाको प्रश्न : मेडिकल सामग्री खरिद अनियमितताको अनुसन्धान र कारबाहीमा किन ढिलाइ ?
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मेडिकल सामग्री खरिद अनियमितताको अनुसन्धान र कारबाहीका ढिलाइ गरिएकोप्रति प्रश्न उठाएका छन् ।
शुक्रबार प्रेस विज्ञप्ति जारी गरी सभापति देउवाले उक्त प्रकरणको निष्पक्ष अनुसन्धान गर्न ढिलाइ गर्न खोजिएको र ढाकछोप गर्ने प्रयत्न भइरहेको भन्दै आफूले यस बिषयलाई गम्भीरतापूर्वक लिएको जनाकारी दिए ।
यस्तै सो प्त्ररणबारे समाचार लेख्ने र बोल्नेहरुलाई हतोत्साहित गर्न खोजिएको उनको आरोप छ ।
'अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पु¥याउने कार्य गरेको छ,' उनले भने, 'अत्यावश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शीता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्व स्वास्थ संगठनको मापदण्ड विपरीतको कमसल सामग्री खरिद जस्ता अत्यन्तै आपत्तिजनक र लज्जास्पद घटना कुनैपनि दृष्टिले माफी योग्य छैन ।'
ढिलासुस्ती र अनियमिततामा सामेलहरुलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारबाहीको प्रक्रियालाई सघाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई देउवाको आग्रह छ ।
विज्ञप्तिमा भनिएको छ, 'लक डाउनका कारण एक ढंगले बन्द समाजको स्थिति बनेका बेला भ्रष्टाचारका प्रकरणले सहजता पाउन सक्ने वातावरणलाई दृष्टिगत गर्दै सम्बन्धित संवैधानिक निकायले बिशेष चनाखो भइ कार्य गर्न आवश्यक छ । अतः अपारदर्शी ढंगले कार्य भएको व्यापक समाचार दृष्टिगत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिद प्रकरणको गहिरो अनुसन्धान गर्न र कार्वाहीको प्रक्रिया अघि बढाउन जरुरी छ ।'
काठमाडौं प्रेस अनलाइनमा प्रकाशित खरिद प्रकरणको समाचार साइबर अतिक्रमणमा पर्नु आपत्तिजनक भएको उनले भनाइ छ ।
देउवाले दोषी कारबाहीको दायरामा ल्याउन म सम्बन्धित निकायलाई आग्रह गरे ।
'नेपाली काँग्रेस सबै खाले अनियमितता र बेथितिको विरुद्धमा निरन्तर उभिने छ । तर आजको संकटसंग जुध्न निरन्तर सरकारको साथमा रहनेछ,' विज्ञप्तिमा भनिएको छ ।