शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमित ३० प्रतिशतमा कुनै लक्षण नै नदेखिने : संक्रमण फैलाउन यो वर्ग सबैभन्दा बढी घातक

शुक्रबार, २१ चैत २०७६, १४ : २९
शुक्रबार, २१ चैत २०७६

न्यूयोर्क । कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण विश्वव्यापी रुपमा द्रुत गतिमा फैलिरहेको सम्बन्धमा विभिन्न अध्ययन तथा अनुसन्धान भइरहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार यो भाइरसका केही संक्रमित बिरामीमा प्रष्ट लक्षणहरु देखा नपर्दा उनीहरु संक्रमण फैलाउने माध्यम बन्ने गरेको पाइएको छ । चीनमा सुरुवाती चरणमा यस्ता संक्रमित एक देखि तीन प्रतिशतको हाराहारीमा पाइएका थिए ।

यद्यपि हाल सरदर ३० प्रतिशत संक्रमितमा लक्षणहरु प्रष्ट नदेखिने विभिन्न अध्ययनले देखाएको छ ।


अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसीपी) काअनुसार अमेरिकामा यस्ता २० प्रतिशत मामिला प्रकाशमा आएको छ । सीएनएन, फोर्ब्स र नेचरमा प्रकाशित रिपोर्टका अनुसार सबैभन्दा बढी जापानमा ३०.८ प्रतिशत, इटलीमा ३० प्रतिशत, इरानमा २० प्रतिशत, स्पेनमा २७ प्रतिशत र जर्मनीमा १८ प्रतिशत संक्रमितमा कोरोनाभाइरसको खास लक्षण नै पाइएको थिएन ।

यस्ता संक्रमितमा धेरैजसो युवा रहेको बताइएको छ । भारतमा पनि ‘असिम्प्टोमेटिक’ अर्थात कुनै खास लक्षणविना नै संक्रमित भएका बिरामी पाइएको भए पनि सरकारले त्यस्ता बिरामीको तथ्यांक जारी गरिसकेको छैन ।

चिनियाँ अखबार ‘साउथ चाइना मर्निङ्ग पोस्ट’ का अनुसार हुबेइ प्रान्तमा कोरोनाका ९० हजारभन्दा बढी मामिला प्रकाशमा आइसकेको छ । फेब्रुअरीको अन्त्यसम्म पनि तीमध्ये करिब ४३ हजारमा कुनै प्रकारको लक्षण नै देखिएको थिएन । केहीमा लक्षण देखा परे पनि नगण्यमात्रामा पाइएको बताइन्छ । पछि तीमध्ये २० हजारमा संक्रमण देखिएको थियो ।

कतिपयमा संक्रमित भएको दुईदेखि तीन हप्तापछिमात्र लक्षण पाइएको बताइन्छ । त्यतिन्जेलसम्म उनीहरु स्वस्थ मानिसजस्तै देखिन्थे । केहीमा सामान्य स्वास्थ्य समस्या भए पनि कोरोना संक्रमित भएको मान्न सकिने विश्वस्त आधार नपाइएको बताइन्छ । त्यसैले पनि कोरोना संक्रमित पहिचानका लागि संदिग्ध बिरामीलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्नुपर्ने मापदण्ड विकास गरिएको हो ।

दक्षिण कोरियामा सबैलाई संदिग्ध मानेर परीक्षण

दक्षिण कोरियामा अहिलेसम्म कोरोनाभाइरसको संक्रमित ९ हजारभन्दा बढी पाइएको छ । ५ करोड जनसंख्या भएको मुलुकमा करिब ४ लाख नागरिकको परीक्षण भइसकेको छ ।

दक्षिण कोरिया सरकारले सबैलाई संदिग्ध बिरामी मानेर परीक्षणको दायरालाई व्यापक बनाएको छ । अधिकारीहरुका अनुसार कोरोना संक्रमणका सबै बिरामीमा लक्षण देखा नपर्ने भएकै कारण दक्षिण कोरियाले ब्यापक मात्रामा परीक्षण गर्न थालेको हो । लक्षण देखिएका बिरामीदेखि लिएर कुनै प्रकारको लक्षण नभएकासम्मलाई दक्षिण कोरियाले कोरोना परीक्षणको दायरामा ल्याएको छ ।

दक्षिण कोरियामा सुरुवातमा कुनै प्रकारको लक्षण नदेखिएका २० प्रतिशतमा कोरोना संक्रमण ‘पोजेटिभ’ फेला परेको अधिकारीहरुको भनाइ छ । बेलायत, इटली, अमेरिका लगायतका मुलुकमा भने कोरोनाभाइरसको लक्षण नदेखिएका व्यक्तिलाई परीक्षणको दायरामा नै ल्याइएको छैन । त्यसैले पनि ती मुलुकमा संक्रमितको संख्या लगातार बढिरहेको विश्लेषकहरु बताउँछन् ।

असिम्प्टोमेटिक के हो ?

संक्रमित व्यक्तिमा आमरुपमा दुई वा तीन दिनभित्र कोरोनाभाइरसको लक्षण देखा पर्दछ । ज्वरो आउनु, फ्लु हुनु, शरीर दुख्नु, श्वास फेर्न कठिन हुनुजस्ता लक्षण देखा पर्नु कोरोना भाइरसको संकेत मानिन्छ । तीनदेखि पाँच दिनसम्ममा यो लक्षण बढ्दै जान्छ ।

यस्तै, ५ देखि १० दिनसम्ममा श्वास फेर्न निकै कठिन हुने र निमोनियाको लक्षण देखा पर्न थाल्छ । असिम्प्टोमेटिक हुने अर्थात् यस्ता लक्षणविना नै संक्रमित भएकाहरुमा भने ज्वरो, शरीर दुख्ने तथा फ्लुका लक्षण देखिदैँन । केहीमा न्यूनमात्रामा लक्षण देखिए पनि केही समयमा आफैँ निको भएजस्तो हुने गर्दछ । उनीहरुमा रुघाखोकीसमेत नदेखिने विज्ञहरुको भनाइ छ । त्यस्ता व्यक्तिमा दुईदेखि तीन हप्तासम्म पनि संक्रमणको लक्षण नदेखिने भएकै कारण संक्रमण फैलाउन त्यस्ता व्यक्तिहरु नै मुख्य कारक बन्ने गरेको पछिल्ला अनुसन्धानले देखाएको छ ।

लक्षणविनाका संक्रमित कति खतरनाक ?

भारतको राजीव गान्धी सुपर स्पेशियलिटी हस्पिटल नयाँ दिल्लीका निर्देशक प्रो. बीएल शेरवालका अनुसार लक्षणविनाका संक्रमितले समाजमा निकै ठूलो खतरा सिर्जना गर्दछन् । उनीहरुलाई आफू संक्रमित भएकोसमेत महसुस नहुने भएका कारण समाज तथा घरपरिवारमा उनीहरु घुलमिल भइरहने र नजानिँदो किसिमले अरुलाई संक्रमण फैलाइरहने भूमिकामा करिब तीन सातासम्म सक्रिय भइरहन्छन् । परिणामस्वरुप अरुमा तीव्र रुपमा यो भाइरस फैलने डर कायम रहन्छ ।

वृद्धवृद्धा तथा बालबालिकाको तुलनामा युवा वर्गमा रोग प्रतिरोधात्मक क्षमता बढी हुने गर्दछ । त्यसैले युवा वर्गको शरीरमा भाइरस प्रवेश गर्नासाथ उनीहरुको शरीरको रोग प्रतिरोधात्मक शक्तिले उक्त भाइरसविरुद्ध लड्न थाल्छ र संक्रमणको लक्षण देखा पर्न समय लाग्न सक्छ । जबकि, वृद्धवृद्धाको शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएका कारण उनीहरुमा चाँडै नै संक्रमणको लक्षण देखा पर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप