शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओली र प्रचण्डलाई भ्रष्टाचारको विरुद्धमा कदम चाल्न अभिनेता खड्काको अनुरोध

शुक्रबार, २१ चैत २०७६, १३ : ५२
शुक्रबार, २१ चैत २०७६

काठमाडौं । अभिनेता तथा निर्माता नवल खड्काले प्रधानमन्त्री केपी शर्मा ओली तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भ्रष्टाचारको बिरुद्धमा कदम चल्न अनुरोध गरेका छन् ।

खड्काले प्रधानमन्त्री ओली तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै एक खुल्ला पत्र लेखेर सो अनुरोध गरेका हुन् ।  ‘भ्रमण वर्ष स्थगित गरियो, तर भ्रष्टाचार वर्ष जारी छ भनेर सामाजिक संजालमा टनाटन छ । देख्नु भयो होला । सुन्नु भयो होला,’ अभिनेता खड्काले ओली र प्रचण्डलाई महामानव बन्न सदिच्छा प्रकट गर्दै सुरु गरेको पत्रमा अगाडि लेखिएको छ, ‘गिगतका भ्रष्टाचारमा देशको ढुकुटीमात्र लुट्थ्यो । यस पटक त जनताको ज्यान लिनेवाला थियो ।’

मिडियाको हस्तक्षेपको कारण यो पटक भ्रष्टाचार हुन नपाएको उल्लेख गर्दै खड्काले नेपाली जनतामात्र होइन, सिङ्गो मानवजाती नै अत्यन्त पीडामा भएको बखत जुन भ्रष्टाचार भयो, त्यसमा संलग्न हुनेहरु मानव हुन् जस्तो नलागेको जनाएका छन् ।

यस्तो छ, खड्काको खुलापत्र
सम्माननीय प्रम ओलीज्यू साथै नेकपा अध्यक्ष प्रचण्डज्यू ! 
नमस्कार, सबभन्दा पहिला म मेरो सदिच्छा प्रकट गर्दछु – तपाईंहरु महामानव बन्नुहोस् । तर भ्रष्टाचारको प्यारामिटरले सगरमाथाको उचाई नाघिसक्यो, देख्नु भयो होला । विगतका भ्रष्टाचारमा देशको ढुकुटीमात्र लुट्थ्यो, यसपटक त जनताको ज्यान लिनेवाला थियो ।

त्यो मिडियाको हस्तक्षेपका कारणले हुन पाएन । जनताहरुले लाठो देखाएपछि रद्द गरियो । के कसरी भयो यहाँहरुले स्पष्ट त गर्नु भएको छैन तर हामी स्पष्ट नै छौं । नेपाली जनतामात्र होइन, सिङ्गो मानवजाति नै अत्यन्त पीडा भएको बखत जुन भ्रष्टाचार भयो त्यसमा संलग्न हुनेहरु मानव हुन् जस्तो लागेन । 

राक्षसहरुमा त अलिकति विवेक हुन्छ । सारा विश्वका मानवजाति आफन्तहरु शवलाई दाहसंस्कार गर्न मलामी नपाएका बखत धन कुम्ल्याउनेलाई मानव जाति भन्न सकिदैँन । तपाईंहरुलाई पनि यस्तै लागेको होला, मेरो विश्वास छ ।  तर म निवेदन गर्दछु– यस्ता अमानवहरुलाई बालुवाटारमा पोसेर तथा धुम्वाराही तथा पेरिस डाँडाले स्याहारेर राख्दा समाजवादको बाटो होइन, पार्टी नै आर्यघाट तर्फ लाग्छ । हामीहरुलाई भनौं– अब पनि ती चोखा भनेर काखीमा बसिराख्नु भए तपाईंहरु प्रति जनताको पुरै मोहभङ्ग हुनेछ ।

इतिहासमा जुन भूमिका खेलेर आउनु भएको छ, ती सबै नामिटानामेट हुनेछन् । यस्तो हुँदा पनि तपाईंहरु दुवैबाट कुनै कदम नचालिनु दुःखद छ । हामी चलचित्रकर्मीले विशिष्ट प्रकारको सफल चलचित्र बनाउन अभिनयकला गर्छौं । तर तपाईंहरुले अभिनय होइन, वास्तविक कार्य गर्नुपर्छ । हो कला पनि चाहिन्छ र चतुरता पनि चाहिन्छ तर जनसेवा कसरी गर्ने, त्यसलाई कसरी जनहित हुने गरी गर्ने भनेर । तर किचेन क्याविनेटका पार्टीका केन्द्रीय नेताहरु नै नाङ्गो र संवेदनाहीन भ्रष्टाचारमा मुछिदा तपाईहरु शब्दजाल र मुकदर्शक भएर बस्न मिल्दैन ।

त्यस्तो भ्रष्टाचारीहरुले नैतिकताले नै राजीनामा दिनु पर्ने थियो । के नैतिकता शेरबहादुर तामाङ्गमा मात्रै लागू हुने शब्द हो ? यिनीहरुका लागि नैतिकता भन्ने शब्द थिएन ? यसर्थ मेरो अनुरोध छ, आसनभन्दा माथि र सन्तानमोह छाडेर तिनीहरुलाई कठघरामा उभ्याउनुहोस् । ती जनताका नजरमा कोरोनाभाइरसका कारणले ढलिसके, ती अर्धमृतप्रति जनताको कुनै विश्वास छैन । तिनीहरुले सरकारका कुनै राम्रा कार्यबारे चर्चा गरे भने सामाजिक सञ्जालमा के कस्ता प्रतिक्रिया आउँछन्, तपाईंहरुले हेर्नु भएको छ । तर टेर्नु भएको छैन । अब पनि टेर्नु भएन भने के हुन्छ ? विश्वका कैयन् भ्रष्टाचारीलाई के भएको थियो, त्यही हुन्छ । इतिहास साक्षी छ । आदरणीय नेतागण, कैयन् अलोकप्रिय शासक कसरी ढले भनेर पाठ सिकाउने दुस्साहस गर्दिनँ । मात्रै सम्झाउन खोजेको हुँ । तसर्थ समृद्ध नेपाल सुखी र खुसी नेपालीको नारालाई जनताको जनजीवनमा अभिव्यक्त हुने गरि काम गरौं । भ्रष्टाचार रोकौं । संविधान संशोधन गर्न सकिन्छ भने दुई तिहाईको सरकारले गरेर भ्रष्टाचारीलाई जीवन लिनेसम्मको सजाय दिऊँ । शासक हैन, जनताको सेवक बनौं, थोरै समय बाँकी छ । यहाँहरु माथि अझै पनि विश्वास रहेको निवेदन गर्दछु– यो युगको मानवमात्रै हैन, महामानव बनिदिनुस्, नेपालीको यही चाहना छ ।
–चलचित्रकर्मी नवल खड्का ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप