शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निगमका प्रबन्ध निर्देशक र उपनिर्देशक बयानका लागि अख्तियारमा

शुक्रबार, २१ चैत २०७६, १३ : २६
शुक्रबार, २१ चैत २०७६

नेपाल वायुसेवा निगमको विमान चार्टर गर्दा कमिसन खान एजेण्ट छिराएको सम्बन्धमा अख्तियारले छानबिन थालेको छ । कमिसन प्रकरणबारे बुझ्न अख्तियारले शुक्रबार निगमका प्रबन्ध निर्देशक गणेशबहादुर चन्द र कमर्सियल डिपार्टमेण्टका निर्देशक टंकनिधि दाहाललाई अख्तियारमा बोलाएको थियो ।

अख्तियारले निगमका प्रबन्ध निर्देशक चन्द र निर्देशक दाहाललाई बयानका लागि अख्तियारमा बोलाएको भए पनि कमर्सियल डिपार्टमेण्टका निर्देशक टंकनिधि दाहाल भने उपस्थित भएका छैनन् । उनको स्थानमा कमर्सियल डिपार्टमेण्टकै उपनिर्देशक दिक्पाल सुवेदी बयानका लागि अख्तियार पुगेका छन् ।

अख्तियारले बिहीबार निगमका प्रबन्ध निर्देशक गणेशबहादुर चन्दलाई सम्पर्क गरी निगमको चार्टर्ड फ्लाइटमा एजेण्ट घुसाएर कमिसन खाएको सम्बन्धमा बयानका लागि अख्तियारमा उपस्थित हुन निर्देशन दिएको थियो । अख्तियारको बोलावटपछि प्रबन्ध निर्देशक गणेशबहादुर चन्द र कमर्सियल डिपार्टमेण्टका उपनिर्देशक दिक्पाल सुवेदी बयानका लागि शुक्रबार बिहान ११ बजेर १५ मिनेटमा अख्तियार पुगेका छन् । उनीहरु निगमकै बा१ञ २४६६ नम्बरको सुजुकी कारमा अख्तियार पुगेका हुन् ।

टंकनिधि दाहाल

अख्तियारले कमर्सियल डिपार्टमेण्टका निर्देशक टंकनिधि दाहाललाई नै अख्तियारमा उपस्थित हुन निर्देशन दिएको भएपनि उनी समाचार प्रकाशन भएपछि कार्यालयमा समेत आएका छैनन् । बोन ट्राभल्ससँग हस्ताक्षर गर्ने निर्देशक दाहाल र उपनिर्देशक दिक्पाल सुवेदी रहेको स्रोतले बताएको छ । तर दाहाल भने अख्तियारमा उपस्थित नभई उपनिर्देशक दाहाललाई बयानका लागि पठाएका छन् । यस सम्बन्धमा किन उपस्थित नभएको हो भनी सोध्नका लागि दाहालको मोबाइलमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

अष्ट्रेलियन दूतावासले आफ्ना नागरिक लैजानका लागि गत बुधबार साँझ चार्टर्ड गरेको निगमको जहाजमा कमिसन खानका लागि बीचमा ट्राभल एजेन्सी घुसाएको बारे रातोपाटीले समाचार प्रकाशन गरेको थियो ।

अष्ट्रेलियन दूतावास आफैले बुकिङ गरी चार्टर गरेको उडानमा नेपाल वायुसेवा निगमका कमर्सियल डिपार्टमेण्टका निर्देशक टंकनिधि दाहालले कमिसन खानकै लागि बोन ट्राभल नामक कम्पनीलाई बीचमा ल्याएका थिए । निगमको नीतिमा यदि आधिकारिक टिकट विक्रेताले फ्लाइट बुकिङ गरेको खण्डमा ५ प्रतिशत कमिसन दिनुपर्ने कुरा उल्लेख छ । यही कमिसन बाँडीचुँडी खानका लागि निगमका निर्देशक टंकनिधि दाहालले आफ्ना मित्रसमेत रहेका रमेश पौडेल र बोन ट्राभल्सलाई एजेण्ट राखेका थिए । यसरी सोझै आएको बुकिङमा पनि एजेण्ट घुसाएपछि निगमले २७ लाख ४५ हजार सोझै कमिसन र करिब १ लाख ५० हजार रुपैयाँ सेग्मेण्ट कमिसनवापत ट्राभल्सलाई बुझाउनुपर्ने हुन्छ । यसरी निगमलाई ५ प्रतिशत कमिसनवापत २७ लाख ४५ हजार र सेग्मेण्ट कमिसनवापत करिब १ लाख ५० हजार गरी कुल ३० लाख प्रत्यक्षरुपमा नोक्सानी परेको थियो ।

यस सम्बन्धमा पूरा जानकारी र दूतावासको पत्रसहितको समाचार रातोपाटीले प्रकाशन गरेपछि अख्तियारले सोही समाचारका आधारमा उनीहरुलाई बयानका लागि बोलाएको हो ।


अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने यस सम्बन्धमा जानकारी नभएको बताए । निगमका प्रबन्ध निर्देशक र निर्देशकलाई बयानका लागि बोलाएको हो भन्ने प्रश्नमा उनले भने, ‘कतिपय विषय प्रवक्तालाई जानकारी दिनुपर्ने भन्ने हुँदैन । नियमित प्रक्रियाका कामहरुमा पनि बोलाइन सक्छन् । त्यसकारण बयानका लागि बोलाएको हो कि होइन भनेर मैले पनि सोध्ने विषय हुँदैन । त्यसकारण यस सम्बन्धमा मलाई केही पनि थाहा छैन ।’

‘चार्टर्ड फ्लाइटमा कमिसनको चलखेलबारे अख्तियारमा उजुरी परेको हो ?’ भन्ने प्रश्नमा उनले त्यसबारे पनि आफूलाई जानकारी नभएको तर भाइबर, ह्वाट्सएप, इमेल वा समाचार आँफै पनि उजुरी हुने भएकाले त्यसबारे छानबिन गर्न सकिने बताए ।

निगममा टंकनिधिको कमाउ धन्दा

नेपाल वायुसेवा निगमभित्र कमर्सियल डिपार्टमेण्ट आकर्षक कमाइ हुने स्थान हो । एअरलाइन्सको टिकट विक्रीदेखि टिकट होल्ड गर्ने, टिकटको मूल्य निर्धारण गर्ने, टार्गेट दिने र त्यसवापत कमिसनको प्रतिशत छुट्याउने लगायतका सबै काम यही डिपार्टमेण्टले गर्छ । त्यसबाहेक आफ्नो व्यापार बढाउनका लागि गर्नुपर्ने प्रोमोसनका लागि पनि यस विभागमा प्रशस्तै बजेट राखिएको हुन्छ ।

तर कमर्सियल डिपार्टमेण्टका निर्देशक दाहालले आफूनिकटका ट्राभल एजेन्सीलाई फाइदा पुग्नेगरी टिकटको होल्डिङ गर्ने गरेको तथा सस्तो मूल्यको टिकट बोन ट्राभल लगायत केही सीमित ट्राभल एजेन्सीलाई मात्रै दिने गरेको आरोपसमेत लाग्ने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप