केन्द्रीय संस्करण

कोरोनाभाइरसः निकै भयानक छन् संघर्षका यी तीन कहानी

person explore access_timeचैत २१, २०७६ chat_bubble_outline0

चीनको ऊहान शहरबाट सुरु भएको कोरोनाभाइरस संक्रमण संसारभरी फैलिसकेको छ ।

प्रत्येक दिन मृतकको आँकडा बढ्दो छ । संक्रमितको संख्या १० लाख बढी पुगिसक्यो ।

यो भाइरसका कारण संसारभरी भयको स्थिती सृजना भएको छ । तर यी सबैका बीच एउटा आशालाग्दो कुरा के छ भने धेरै मानिसहरु ठिक पनि भएका छन् ।

कोरोना भाइरस संक्रमित हरेक व्यक्तिको आ–आफ्नै अनुभव छ । कतिलाई निकै सामान्य अर्थात् कतिमा निकै कम लक्षण देखियो भने कतिमा निकै गम्भीर । अझ कतिमा त स्वास्थ्य विभागले तोकेको कुनै पनि लक्षण देखिएनन् । तर तपाईं कोरोनाभाइरसद्वारा संक्रमित हुनुुहुन्छ भनेर पत्ता लागेपछि तपाईंसँग अस्पताल जानुबाहेक दोस्रो विकल्प छैन ।

बीबीसीले यस्ता ती संक्रमितसँग कुराकानी गरेका छन् जो अस्पतालमा उपचार गरेर निको भएर घर फर्किएका छन् । यी तीन घटना एक–अर्कासँग फिटिक्कै मिल्दैन । तर अस्पताल बस्नुको कारण भने एउटै थियोः कोभिड–१९ ।  

म आफ्नो र बच्चाको जीवनका लागि लडिरहेकी थिएँः

दक्षिण पूर्व इंगल्याण्डको केन्टस्थित हेर्ने बे इलाकामा बस्ने केरेन मेनरिंग ६ महिनाकी गर्भवती छिन् । उनले आफ्नो चौथो सन्तानलाई गर्भमा बोकिरहेकी छिन् । केरेनलाई सुरुमा मार्चको दोस्रो हप्तामा खोकी लाग्यो । खोकीसँगै उनलाई ज्वरो पनि आएको थियो र एकैदिन सबैकुरा फेरियो ।

केरेन भन्छिन्, ‘मैले हेल्पलाइनमा फोन गरेँ । म राम्रोसँग सास फेर्न सकिरहेकी थिइनँ । केही मिनेटमै एउटा एम्बुलेन्स मेरो घरको ढोकामा आइपुग्यो । मैले सास फेर्न नसकेको देखेर उनीहरुले मलाई सिधै अक्सिजन दिन सुरु गरे ।’

जब उनी अस्पताल पुगिन्, उनको कोरोनाभाइरस परीक्षण गरियो जसको पोजेटिभ नतिजा आयो । उनलाई निमोनियासमेत भएको बताइयो । त्यसपछि उनलाई अस्पतालको एउटा कोठामा छुट्टै राखियो । हप्तौंसम्मका लागि ।

उनी भन्छिन्, ‘मेरो कोठामा कसैलाई पनि प्रवेश गर्न दिइँदैनथ्यो । मैले कसैलाई पनि भेट्न पाउँदिनथेँ । मैले त्यहाँ एकदम एक्लो महसुस गरेँ । दुई तीन दिनसम्म त म बेडबाटै उठिनँ । टोइलेटसम्म पनि गइनँ । जब उनीहरु मेरो बेडसिट परिवर्तन गर्न आउँथे तब एक कोल्टे फेरिदिन्थेँ । त्यतिबेला पनि बेडबाट उठिनँ ।’

उनी भन्छिन्, ‘मलाई थुप्रै पटक सास फेर्न समस्या हुन्थ्यो । त्यतिबेला पनि नर्स पूर्ण रुपमा तयार नहुञ्जेल मैले कुर्नुपर्दथ्यो । मेरो परिवारका सदस्यले मसँग लगातार फोनमा कुरा गरिरहन्थे र मलाई शान्त रहन भन्थे । म असाध्यै आत्तिएकी थिएँ । मेरो मृत्यु हुनै लागेको थियो र मेरो परिवारले आफूहरु हरेक कुराको लागि तयार भएको बताउँथ्यो ।’

केरेन भन्छिन्, ‘म हरेक साससँग जुधिरहेकी थिएँ । यो लडाईं मेरो र मेरो जन्मन लागेको सन्तानका लागि थियो ।’

केरेन अस्पतालबाट बाहिरिएको दिन जीवनमा कहिले पनि नबिर्सिने बताउँछिन् । त्यतिबेला उनले आफ्नो अनुहारमा ताजा र चिसो हावा महसुस गरेकी थिइन् ।

उनी भन्छिन्, ‘म र मेरा श्रीमान् गाडीमा बसेर घर गइरहेका थियौं । हामी दुबैले मास्क लगाएका थियौं तर गाडीको झ्याल खुल्ला थियो र मैले ताजा हावा महसुस गरिरहेकी थिएँ ।’

केरेन अस्पतालमा एक्लै गुजारेका ती दिनले उनको जीवनलाई सधैंका लागि परिवर्तन गरेको बताउँछिन् । उनले सानोभन्दा सानो हरेक कुराको आफ्नै महत्व भएको बुझिन् । जस्तै हप्तौंपछि अनुहारलाई छुने ताजा चिसो हावा उनलाई निकै महत्वपूर्ण र विशेष लाग्यो ।

केरेन अब अस्पतालबाट घर फिर्ता भइसकेकी छिन् तर घरमा उनी सेल्फ आइसोलेशनमा छिन् । उनी घरमा भएका अन्य सदस्यको स्वर सुन्न पाउँदा नै दङ्ग छिन् । घरका अन्य सदस्य उनी बसेको कोठामा जाँदैनन् तर बाहिर नै बसेर भएपछि उनको हौसला भने पक्कै बढाउँछन् ।

उनलाई लाग्छ कि यो संक्रमणले उनलाई बलियो बनाएको छ । आफू काम गर्ने सैलुनमा आफूलाई कोरोनाभाइरसको संक्रमण भएको हुनसक्ने उनलाई शंका छ । तर पूर्ण रुपमा आश्वस्त भने छैनन् ।

‘मेरो कसैले मद्दत गरोस् भन्ने मात्रै चाहन्थेँ’

यो जेसी क्लार्कको कहानी हो ।

जेसीलाई पहिलेदेखि नै थाहा थियो कि यदि उनलाई कोरोना भाइरसको संक्रमण भए उनलाई अन्य संक्रमितको भन्दा धेरै खतरा हुनेछ ।

उनी मृगौलासम्बन्धि एउटा रोगबाट ग्रसित छिन् र पाँच वर्षअघि उनको एउटा मृगौला निकालिसकिएको छ । २६ वर्षकी जेसीलाई सुरुमा खोकी लाग्न सुरु भयो त्यसपछि उनलाई सास फर्ने समस्या भयो । यी दुई लक्षण देखिएपछि उनको चिन्ता बढ्यो ।

केही दिनपछि त उनको हिँडडुल नै बन्द भयो । उनलाई हिँड्न नै समस्या भयो ।

उनी भन्छिन्, ‘मलाई हड्डी, पिठ्युँ र पेट वरिपरि असाध्यै पीडा महसुस हुन्थ्यो । यस्तो लाग्थ्यो कि कसैले बेस्सरी कुटेको छ ।’

ब्रिटेनमा लकडाउनको घोषणा भइसकेको थियो । तर मेरो समस्या बढ्दो थियो । उनलाई उनका प्रेमीले अस्पताल पुर्याए । अस्पताल पुग्ने बित्तिकै उनलाई छुट्टै राखियो । सुरक्षा र सावधानी अपनाउनका लागि यस्तो गरिएको थियो ।

जेसी भन्छिन्, ‘मलाई एक्लै बस्न असाध्यै डर लाग्यो तर म यस्तो स्थितीमा थिएँ जहाँ म यतिमात्र चाहन्थेँ कि कसैले मेरो मद्दत गरोस् । मलाई हरियो रङको एउटा मास्क दिइयो । त्यसपछि मलाई त्यो शाखामा पुर्याइयो जहाँ कोभिड–१९ का अन्य बिरामी राखिएको थियो । तर त्यहाँ हरेक बेडबीच एउटा पर्खाल थियो ।’

उनी भन्छिन्, ‘मेरो कोभिड–१९ को परीक्षण गरिएन । मेरो डाक्टरले मलाई आफूहरुले सबैको स्वाब परीक्षण गर्न नसक्ने बताए तर  मैले भने  कोभिड–१९ को संक्रमण छ भनेर थाहा पाउनु नै सुरक्षित हुने ठानेँ । मेरो छाती अत्यधिक पोलिरहेको थियो ।’

जेसीले यसअघि कहिले पनि सास फेर्नका लागि समस्या भोग्नुपरेन ।

उनी भन्छिन्, ‘यदि तपाईंले राम्रोसँग सास फेर्न सक्नुहुन्नँ भने तपाईं भित्रैदेखि डराउनुहुन्छ ।’

जेसी अस्पताल पुगेको ६ घण्टा भइसकेको थियो । उनका प्रेमीले उनलाई कारमा नै बसेर प्रतिक्षा गरिरहेका थिए । तर उनलाई भित्र के भइरहेको थियो यसबारे थाहै थिएन ।

पाँच दिनपछि जेसी अस्पतालबाट डिस्चार्ज भइन् तर उनलाई हिँड्न समस्या भइरहेको छ । फर्किएपछि उनी १८–१८ घण्टासम्म सुतिरहिन् । उनलाई खोकी पनि लाग्यो तर अहिले उनी राम्रोसँग सास फेर्न सक्छिन् ।

उनी भन्छिन्, ‘केही युवालाई लाग्थ्यो कि उनीहरुलाई यो भाइरसले कुनै असर गर्दैन तर अब उनीहरु यसलाई गम्भीरतापूर्वक लिइरहेका छन् ।’

‘हामीलाई यसबारे निकै कम जानकारी दिइएको छ । हामीलाई यो पनि बताइएको छ कि यसबाट स्वस्थ युवा डराउनु पर्दैन तर साँच्चै भन्नुपर्दा डराउनुपर्छ ।’

‘म एउटा यस्तो कोठामा थिएँ जहाँ अँध्यारोमात्रै थियो’

स्टीवर्ट ६४ वर्षका हुन् ।

उनी पूर्ण रुपमा विश्वस्त छन् कि उनलाई संक्रमण एक मिटिङको क्रममा भएको हो ।

उनी भन्छन्, ‘हामी सामाजिक दुरीको पालना गरिरहेका थियौं तर प्रत्येक बिहिबार हुने छलफलमा भीड धेरै नै थियो जसमध्ये कतिमा फ्लूको लक्षण पनि थियो ।’

केही हप्ताअघि भएको उक्त छलफलको १० दिनपछि स्टिवर्टको स्थिती खराब हुन थाल्यो ।

‘सुरुमा यसको असर निकै कम थियो । तर पछि भर्याङ् चढ्न सकिनँ । सास फेर्न गाह्रो भइरहेको थियो । केही दिनपछि हिँड्डुल गर्न नै समस्या भयो । भाइरसले मेरो फोक्सोमा हमला गरेको थियो ।’

उनको परिवारले फोन गरेर मद्दत मागे त्यसपछि स्टिवर्टलाई अस्पताल भर्ना गरियो ।

उनका अनुसार अस्पताल पुगेपछि उनको विभिन्न परीक्षण गरियो र स्वाब परीक्षण पनि गरियो ।

डाक्टरलाई लाग्यो कि उनलाई कोरोनाभाइरस संक्रमण छ त्यसपछि उनलाई अक्सिजन दिइयो ।

स्टिवर्टका अनुसार उनलाई अँध्यारो कोठामा एक्लै राखियो ।

उनी भन्छन्, ‘मलाई लाग्यो मेरो जीवन समाप्त हुँदैछ तर म बाँच्न चाहन्थेँ । मैले आफूभित्र अन्तर्द्वन्द्व महसुस गरेको थिएँ ।’

केही दिन पछि स्टिवर्टले अस्पतालबाट छुट्टी पाए तर घर पुगेपछि पनि उनी सेल्फ आइसोलेशनमा छन् । अस्पतालबाट फर्किएपछि उनको एउटा बानी फेरिएको छ । अब उनी पहिलेको तुलनामा अत्यधिक पानी पिउन थालेका छन् फोक्सो र गलालाई पहिले झैं ठिक राख्नका लागि ।

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.