बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जहाँ फेल भयो ‘लकडाउन’ !

शुक्रबार, २१ चैत २०७६, १० : ०६
शुक्रबार, २१ चैत २०७६

काठमाडौं । देश अहिले पुरै लकडाउनमा छ । सहरी क्षेत्रमा लकडाउनको प्रभाव देखिए पनि ग्रामिण क्षेत्रमा खासै प्रभाव परेको छैन । जान्ने बुझ्नेहरु केही सचेत देखिए पनि सर्वसाधारणलाई लकडाउनको वास्तै छैन ।

गाउँघरतिर लकडाउनका बाबजुद हाट बजारमा जाने, घुमघाम गर्ने, चिया गफ गर्ने, साथीभाइसँग भेट्ने, तास खेल्ने लगायतका दिनचर्या नियमित भइरहेका छन् । मानौँ, ग्रामिण क्षेत्रलाई लकडाउन जारी भएकै होइन र ती क्षेत्रमा कोरोनाभाइरसको कुनै जोखिम नै नरहेकोजस्तो त्यहाँको दैनिकी देखिन्छ ।

सिरहा औरही गाउँपालिका–५ का श्रीदेव यादव भन्छन्, ‘गाउँमा लकडाउनको कुनै प्रभाव छैन, अलि जान्ने बुझ्नेहरु सचेत देखिन्छन्, बाँकीलाई कुनै मतलब नै छैन, गर्मी शुरु भएका कारण एक ठाउँमा भेला हुने, गफ गर्ने, तास खेल्ने दिनचर्या नियमित नै छ ।’

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको जोखिमप्रति गाउँघरमा बेवास्ता गरेको देखिन्छ । सदरमुकाम तथा साना बजारमा लकडाउनको केही प्रभाव देखिए पनि ग्रामिण क्षेत्रमा कुनै प्रभाव नदेखिएको उनी बताउँछन् । उनले भने, ‘मैले थुप्रैलाई सम्झाउन खोजेँ तर उल्टै झगडा गर्न आउँछन् ।’

पूर्वमन्त्रीसमेत रहेका सप्तरीका उमेश यादवले पनि लकडाउनको प्रभाव गाउँघरमा नदेखिएको बताए । ‘मान्छेले बेवास्ता गरेर हिँडिरहेका छन्, कसैको सल्लाह सुझाव मानिरहेका छैनन्,’ उनले भने, ‘शुरुमा गाउँघरका मान्छे पनि अलिअलि डराएका थिए तर अहिले बेवास्ता गरिएको छ ।’

कोरोनाभाइरसको संक्रमण मानिसबाट मानिसमा सर्ने भएकाले सकेसम्म भीडमा निस्कनबाट रोक्ने उद्देश्यले ‘लकडाउन’ जारी गरिएको भए पनि मानिसमा त्यसको चेतना नभएको उनी बताउँछन् । ‘घरमै बस्नाले सुरक्षित भइन्छ भने केही दिन घरमै बस्दा राम्रो नि,’ उनले भने, ‘त्यो कुरा यहाँका मान्छेले बुझ्दैनन् ।’

गाउँघरमा गाइबस्तु चराउनेदेखि लिएर खेती पनि अनिवार्य कर्म हो । अहिले नगदे बाली भित्र्याउने समय भएका कारणले पनि गाउँघर अलि बढी चलायमान देखिएको छ । गाउँघरमा रहेका प्रहरी चौकीले पनि ‘लकडाउन’ पालनामा खासै मतलब राखेको पाइँदैन ।

सिरहा सोनबरसाका पवन साहले भने, ‘प्रहरीहरु आफैँ थानामा तास खेलेर बस्छन्, चोकमा चिया पसलमा गफ गरेर बसेका हुन्छन् ।’ (हेर्नुस् भिडियो)

राजपा नेपालका सहमहामन्त्री संजय यादव अहिले आफ्नो गाउँ (बारा जिल्ला) मा छन् । कोरोनाभाइरस संक्रमणबाट बच्न र बचाउन उनले अनेक प्रयास गरिरहेका छन् तर उनी पनि गाउँको व्यवहारबाट आजित भइसकेका छन् ।

उनी भन्छन्, ‘गाउँका मान्छेलाई सम्झाउन गाह्रो छ, जति भने पनि घरमा बस्न मान्दैनन् । सम्झाउन गयो भने घरको काम कसले गरिदिन्छ भनेर उल्टै प्रश्न गर्छन् ।’

त्यसो त, खेतबारीमा बाली पाकिसकेको र समयमै नभित्र्याए वर्षभरी खान नपुग्ने भएकाले पनि गाउँघरको दैनिकीलाई ‘लकडाउन’ले खासै असर नगरेको उनको बुझाइ छ ।

‘गाउँघरका कुनै कामकाज रोकिएको छैन,’ उनले भने, ‘भोजभतेर, पूजापाठ, भजन–किर्तन, भेटघाट सबै नियमित रुपमा भइरहेको छ, प्रहरी प्रशासनले पनि केही भन्दैन ।’

राजमार्ग भन्दा तल लकडाउनको खासै प्रभाव छैन भने हुलाकी सडकमा पहिलाजस्तो गाडीहरु नचले पनि मान्छेको चहलपहलमा कमी छैन । सिरहाको हुलाकी सडकमा किराना पसल सञ्चालन गरेका परमेश्वर यादवले यो लकडाउनलाई कतिपयले रमाइलोको रुपमा लिएको बताए ।

बिजनेश व्यपार सबै ठप्प छ, सबै फुर्सदमा छन्, तास खेलेर बस्छन्, रमाइलो गरेर बस्छन्, यसलाई नियन्त्रण गर्न निकै आवश्यक भइसकेको छ,’ उनले भने, ‘नजिकै बोर्डर छ । बोर्डरमा सुरक्षाको निगरानी भए पनि चोर बाटोबाट भारतबाट मान्छेहरु गाउँमा छिरिरहेका छन् । खुल्ला बोर्डर भएको कारणले कुनै न कुनै बाटो प्रयोग गरेर आइरहेकै छन्, त्यसैले कोरोनाभाइरसको सबभन्दा खतरामा गाउँघर नै देखिन्छ ।’

सर्लाहीका पत्रकार मनोज यादव भन्छन्, ‘यो लकडाउनले शहरमा सास्ती र गाउँघरमा मस्ती बनाएको छ, गाउँघरमा लकडाउनको कुनै प्रभाव देखिएको छैन । सबैजना सामान्य ढंगले नियमित काम गरिरहेकै छन् ।’

घर बनाउनेले घर बनाइरहेका छन्, बाटो खन्नेले बाटो खनिरहेका छन्, किसानले खेती किसानी गरिरहेका छन् तर जसको कुनै काम छैन, लकडाउनका समयमा चोकमा बसेर गफ गर्ने, चिया खाने, तास खेल्ने काम गरेर दिन काटिरहेको उनले बताए ।

भारतसँग सीमा जोडिएको र मानिसको ओहोरदोहोरमा कमी नभएका कारण सीमावर्ती क्षेत्र निकै जोखिममा रहेको उनको भनाइ छ ।

विश्वका विकसित मुलुकहरुसमेत कोरोनाभाइरसको संक्रमणबाट थिलथिलो भइरहेको समयमा तराई मधेसका ग्रामिण क्षेत्रका मानिसहरुले कोरोनालाई मजाकका रुपमा लिने गरेको पाइन्छ । ‘कहाँ छ कोरोना सोरोना ? मर्ने दिन आयो भने यो कोरोना नै चाहिँदैन,’ सोनवर्षा चोकमा भेटिएका मनोज साह भन्छन्, ‘यहाँ कोरोना सोरोना छैन, यहाँ यति गर्मी छ कि कोरोना आफैँ भाग्छ, कोरोनाको डरले कति दिन घरमै बसिरहँु ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप