मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

के हो पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई) ?

नेपालमै निर्मित पीपीई कति भरपर्दो ?
शुक्रबार, २१ चैत २०७६, ०९ : २०
शुक्रबार, २१ चैत २०७६

विश्व अहिले कोरोनाभाइरस (कोभिड १९) संक्रमणसँग जुधिरहेको छ । नेपाल पनि कोभिड १९) को संक्रमण फैलिन नदिन आवश्यक तयारी गरिरहेको छ । केही संक्रमित फेला परेको अवस्थामा संदिग्ध बिरामीको स्वास्थ्य परीक्षण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीको सुरक्षाका लागि प्रयोग हुने सामानको अभाव हुनेतर्फ पनि विज्ञहरुले चिन्ता प्रकट गर्न थालेका छन् ।

कोरोना संक्रमणको लक्षण देखिएर अस्पताल गएका बिरामीको उपचार तथा चेकजाँचमा संलग्न हुन सरकारी, अर्धसरकारी र निजी अस्पताल तथा स्वस्थ्यकर्मीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले निर्देशन दिएका छन् ।

निजी तथा अर्धसरकारी अस्पतालका चिकित्सकहरुले सुरक्षात्मक उपकरण (पीपीई)को कारण देखाउँदै कोरोनाबाहेक अन्य स्वास्थ्य समस्या भएर आएका बिरामीको उपचारमा इन्कार गर्दै आएका छन् ।

पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई) के हो ?

पर्सनल प्रोटेक्सन इक्युपमेन्ट अर्थात व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) ले ‘कोभिड १९’ वा अन्य कुनै रोगका किटाणुलाई व्यक्तिको शरीरभित्र छिर्नबाट जोगाउने गर्छ । कोरोना संक्रमित तथा लक्षण देखिएका बिरामीलाई उपचार तथा जाँच पड्तालका क्रममा संदिग्ध भाइरस स्वास्थ्यकर्मीको शरीरमा प्रवेश गर्ने सम्भावना रहन्छ ।

त्यसैले नाक, मुख, आँखालगायतका अङ्गबाट शरीरमा किटाणुको संक्रमण प्रवेश गर्नबाट रोक्नका लागि स्वास्थ्यकर्मीलाई  व्यक्तिगत सुरक्षात्मक उपकरण अनिवार्य हुन्छ । पीपीई एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्न नमिल्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डाक्टर बाबुराम मरासिनी बताउँछन् ।

व्यक्तिगत सुरक्षात्मक उपकरण लगाएर शौचालय जान मिल्दैन । त्यसैले कोरोनाभाइरसका संक्रमित र लक्षण देखा परेका बिरामीको संख्या बढ्दै गएमा हाल उपलब्ध पीपीईले नपुग्ने अवस्था आउन सक्ने उनी बताउँछन् ।

व्यक्तिगत सुरक्षात्मक उपकरणभित्र मास्क, गाउन, हेडकभर, गगल्स, ग्लोब्स आदि पर्छन् ।

मौज्दात कति छ ?

पीपीईको अभाव देखाउँदै कतिपय अस्पतालले कोरोना संक्रमणको आशंका गरिएका बिरामीलाई उपचार गर्न अस्वीकार गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशमा १३ सयदेखि २५ सयसम्म व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) तयारी अवस्थामा राखेको जनाएको छ ।

हालसम्म चीनबाट १० हजार थान पीपीई आएको मन्त्रालयले जनाएको छ । अहिले विश्व बजारमा एन–९५ मास्कको अभाव छ । कोरोनाभाइरसजस्ता अन्य सरुवा रोगको संक्रमणको जोखिमबाट बच्नका लागि एन–९५ मास्क प्रयोग गरिन्छ । नेपाली बजारमा सुक्ष्म कणहरुलाई रोक्ने एन–९५ मास्कको चरम अभाव छ ।

कोरोनाभाइरस संक्रमतिलाई जाँच तथा उपचार गर्न एउटै कोठामा दुरी छुट्याएर बिरामी राखे पनि डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मी गरि कम्तीमा तीन जनाले हप्तामा २४ घण्टा काम गर्दा पनि २१ वटा व्यक्तिगत सुरक्षात्मक उपकरणले नपुग्ने पूर्वनिर्देशक तथा डाक्टर मरासिनी बताउँछन् ।

महामारी तीव्ररुपमा फैलिँदा र कोरोनाको लक्षण ज्वरो, सुख्खा खोकी, श्वासप्रश्वास आदिका समस्या देखिएका बिरामी स्वास्थ्य संस्थामा आएको अवस्थामा तिनको उपचार गर्ने स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षात्मक उपकरण प्रयोग गर्नुपर्ने र त्यस्ता बिरामीको संख्या बढी भएमा सरकारले राखेको मौज्दात कम हुने उनको भनाइ छ ।

नेपालमै निर्मित पीपीई कति भरपर्दो ?

महामारीको रुपमा फैलिएको कोरोनाभाइरस संक्रमणका कारण विश्वबजारमा व्यक्तिगत सुरक्षात्मक उपरकणको अभाव छ । त्यही अभावका बीचमा नेपालका विभिन्न कम्पनी, अस्पतालले पीपीई उत्पादन गरेका छन् ।

स्वदेशमा पीपीई निर्माण गर्नु राम्रो पक्ष भए पनि गुणस्तरमा ढुक्क हुने अवस्था नभएको विशेषज्ञ डाक्टर समीरमणि दीक्षित बताउँछन् ।

नेपालमा बनेका पीपीईमा शत प्रतिशत गुणस्तर भएको पुष्टि नभएसम्म कोरोनाभाइरस संक्रमणको लक्षण र संक्रमितको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीले त्यो प्रयोग गर्न नहुने डाक्टर दीक्षित बताउँछन् ।

नेपालमा बनिरहेका पीपीईको गुणस्तर विश्व स्वास्थ्य संगठनले उल्लेख गरेअनुसार भए–नभएकोबारे नापजाँच कसले गर्ने भन्ने प्रश्न उठेको उनको भनाइ छ । नक्कल गरेर निर्माण गरिएको व्यक्तिगत सुरक्षात्मक उपकरणको कच्चा पदार्थ र अन्य कुराको गुणस्तर मापन कसरी गरियो भन्ने पनि ख्याल गर्न जरुरी भएको डाक्टर दीक्षित बताउँछन् ।

यस्तै स्वास्थ्यकर्मीले जोखिमपूर्ण अवस्थामा पीपीई प्रयोग गर्ने भएकाले निर्माण गर्दा ध्यान दिन आवश्यक भएको जनस्वास्थ्यविद् मरासिनी बताउँछन् ।

‘पीपीई अन्तर्गत गाउन लगाउँदा पानी, हावा र जीवाणु शरीरमा छिर्न भएन,’ उनले भने, ‘गाउन निर्माण गर्दा पनि अत्यन्तै समवेदनशील हुनुपर्छ ।’

पीपीई अभाव भएको खण्डमा संक्रमित बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी निश्चित संख्यामा मात्र खटाएर गुणस्तरीय पीपीई लगाउन दिनुपर्ने डाक्टर दीक्षित बताउँछन् ।

पीपीईको गुणस्तर ९९ प्रतिशत दुरुस्त भएर १ प्रतिशतमात्र पनि कम भए उपचारको क्रममा सरुवा रोग सर्ने खतरा हुने उनको भनाइ छ । पीपीई कति उत्पादन गर्ने भन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्ने उनले प्रष्ट पारे ।

पीपीई दुरुपयोग

व्यक्तिगत सुरक्षात्मक उपकरण स्वास्थ्यकर्मीहरुले दुरुपयोग गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ डाक्टर खेम कार्कीले नियमित गरिने पत्रकार सम्मेलनमा स्वास्थ्यकर्मीले पीपीई लगाएर फोटो खिचेको बताएका थिए । यसको दुरुपयोग नगर्न समेत उनले स्वास्थ्यकर्मीलाई आग्रह गरेका थिए ।

जोखिमयुक्त समयमा लगाउन प्रयोग गरिने व्यक्तिगत सुरक्षात्मक उपकरणलाई सही ठाउँमा उपयोग गर्नुपर्ने डाक्टर दीक्षित बताउँछन् । पीपीई एकपटक प्रयोग गरिसकेपछि पुनः प्रयोग गर्न नहुने भएकाले महामारीको बेलामा स्वास्थ्यकर्मीले आवश्यक अवस्थामा मात्र यसको प्रयोग गर्नुपर्ने उनले बताए ।

यस्तै पीपीई प्रयोग गर्नुभन्दा अगाडि स्वास्थ्यकर्मीलाई तालिम दिनुपर्ने इपिडिमियोलोजी पूर्वप्रमुख डाक्टर मरासिनी बताउँछन् । स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षात्मक उपकरण प्रयोग गरेपछि शरीरबाट निकाल्दा संक्रमण फैलिन नदिनका लागि ख्याल समेत गर्नुपर्ने उनी बताउँछन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप