शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रमका आईटी सल्लाहकार अलीमाथि छानविन गरियोस् : प्रेस युनियन काठमाडौं

बिहीबार, २० चैत २०७६, २१ : ०१
बिहीबार, २० चैत २०७६

काठमाडौं । प्रेस युनियन काठमाडौंले काठमाडौं प्रेसको ‘महँगोमा स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता’ शिर्षकको समाचार हटाइएकोप्रति आपत्ति जनाएको छ। 

अध्यक्ष जगन्नाथ दुलालले बिहीबार विज्ञप्ति जारी गरी समाचार सामग्री अनधिकृत रूपमा हटाइएको विषयमा ध्यानाकर्षण भएको जनाए ।

‘सत्तामा रहनेहरूले विपद्को‍ घडीमा मच्चाएको ब्रह्मलुटबारेमा लेखिएको समाचार हटाउनुले ठूलो अनियमितता भएको आशंकालाई थप बल पुर्‍याएको छ।  समाचार हटाउने कार्य साइबर अपराध, व्यक्तिगत डाटा दुरूपयोग र प्रेस स्वतन्त्रतामाथिकै प्रहार हो भन्ने हाम्रो ठहर छ,’ विज्ञप्तिमा भनिएको छ।


वेबसाइट होस्टिङ र डेभेलपमेन्ट गर्नेले एक्सेसको दुरूपयोग गरेर समाचार सामग्री नै हटाइदिएको घटनाले आफ्नो महिमागानबाहेक अरू प्रकाशन, प्रसारण गर्न नदिन शाहीकालमा समाचार कक्षमा सेना पठाएर कलमलाई बन्दुकले रोक्न खोजेको घटनालाईसमेत बिर्साउने गरी सञ्चारमाध्यममाथि साइबर आक्रमण गरिएको युनियनको ठहर छ।

ुअझ प्रधानमन्त्रीकै सूचना प्रविधि विज्ञ नै यो घटनामा मुछिनु र उनीमाथिको घटना सार्वजनिक भएको यति समयसम्म पनि सामान्य एक्सनसम्म नहुनुले कतै सरकार नै नियन्त्रित प्रेसको पक्षमा छ कि भन्ने गम्भीर प्रश्न उब्जिएको छ। तत्काल अस्गर अलीमाथि पनि छानबिन अघि बढाइयोस्,’विज्ञप्तिमा भनिएको छ।

समाचार चित्त नबुझ्ने त्यसउपर कानुनी उपचार खोज्ने बाटाहरू रहेको भन्दै सो बाटोमा नगई आपराधिक बाटोमा जाने कार्य निन्दनीय भएको युनियनको ठहर छ।

‘एफवान सफ्टका अध्यक्ष विश्वास ढकाल र सुवास शर्माले समाचार हटाउन सञ्चारकर्मीलाई धम्की दिएको काठमाडौ प्रेसका सम्पादकले विज्ञप्तीमार्फत बताएका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘सञ्चारकर्मीलाई समाचार सामग्री हटाउन माथिको दबाब भन्दै धम्कीको भाषा प्रयोग गरेको र लगत्तै समाचार हटाइदिएर साइबर अपराध गरेकाले तत्काल नियन्त्रणमा लिई आवश्यक छानबिनको प्रक्रिया अघि बढाउन प्रशासनसँग जोडदार माग गर्दछौं।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप