शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आज कसले ल्याउँदैछ चीनबाट कोरोनासँग सम्बन्धित स्वास्थ्य सामाग्री ?

सरकार कि निजी क्षेत्रलाई बेचिँदै छन् यी सामान ?
बिहीबार, २० चैत २०७६, १९ : ४५
बिहीबार, २० चैत २०७६

बिहीबार नेपाल वायुसेवा निगमको वाइडबडी विमान काठमाडौंबाट चीनको ग्वाङ्जाओका लागि उड्यो । निगमको एअरबस ३३० विमान बिहीबार बिहान ११ः३० बजे कोरोना भाइरससँग सम्बन्धित मेडिकल सामग्री लिन चीन उडेको हो ।

नेपाल सरकारले बुधबार मात्रै ओम्नी ग्रुपसँग स्वास्थ्य उपकरण खरिद गर्ने गरी गरिएको सम्झौता रद्द गरेको थियो । यस्तो अवस्थामा कसले किन लग्यो होला चीनमा जहाज ?

अहिले धेरै मानिसलाई लागेको होला कि सरकारले नै स्वास्थ्य उपकरण खरिद गर्नका लागि चीनमा विमान पठाएको हो । यदि यस्तो सोच्दै हुनुहुन्छ भने त्यो गलत हुनेछ । किनभने बिहीबार चीनका लागि उडेको विमान सरकारले नभएर निजी क्षेत्रले चार्टर गरी पठाएको हो । र, उसले ल्याउन लागेको भनिएको स्वास्थ्य उपकरण पनि सरकारको लागि नभएर निजी व्यवसायीले व्यापार गर्नका लागि ल्याउन लागेका हुन् ।

नेपाल वायु सेवा निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार बिहिबार चार्टर गरिएको विमान सरकारले नभएर निजी व्यवसायीले चार्टड गरेका हुन् । फ्ल्यास फ्रेट नामक कार्गो कम्पनीले उक्त विमान चार्टर गरेको उनले बताएन् । तर कसको सामान ल्याउन गएको भन्नेबारे आफूहरुलाई केही थाहा नभएपनि कोरोना रोगसँग सम्बन्धित स्वास्थ्य सामग्री र उपकरण लिन गएको उनले रातोपाटीलाई बताइन् ।

नेपालमा कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएको तर स्वास्थ्य उपकरण नभइरहेको अवस्थामा यी सामान कसले कुन प्रयोजनका लागि नेपाल ल्याउँदैछ त ? यस सम्बन्धमा हामीले विमान चार्टड गर्ने फ्ल्यास फ्रेट प्राइभेट लिमिटेडकी प्रबन्ध निर्देशक अरुणा सिग्देललाई सोध्दा उनले निजी संस्थाको स्वास्थ्य सामग्री लिन गएको बताइन् ।

कुन सामग्री र कसका लागि ल्याउन लागिएको हो भन्ने प्रश्नमा उनले निजी व्यवसायीहरुले नै विमान चार्टड गर्नका लागि आग्रह गरेका र आफूहरुले त्यसको व्यवस्थापन मात्रै गरेको उनले बताइन् । सिग्देलले भनिन्, ‘हामीले कार्गोको काम मात्रै गरेका हौँ । अहिले ल्याउन लागिएको सामान सरकारको नभएर निजी व्यवसायीको हो । तर यो सामान सरकारलाई नै बेच्ने हो कि अरुलाई बाहिरै बेच्ने हो त्यो चाहिँ हामीलाई पनि थाहा छैन ।’

‘के के सामग्री ल्याउन लागिएको छ ?’ भन्ने हाम्रो प्रश्नमा उनले कोरोनासँग सम्बन्धित एन ९५ मास्क, सर्जिकल मास्क र फेस मास्क, पीपीई, चस्मा, थर्मोमिटर गन लगायतका सामग्री ल्याउन लागेको बताइन् । विमान आज राति नै नेपाल आइपुग्ने समेत उनले बताइन् । यसपटक करिब २० टन सामान आउने सिग्देलले रातोपाटीलाई बताइन् । 

सामान अझै लोड हुन सकेन

नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार चिनको ग्वाङ्जाओमा करिब २ घण्टा रोकिएर विमान नेपालतर्फ उडिसक्नुपर्ने थियो । तर विमान ल्याण्ड भएको करिब ३ घण्टा भइसक्दा पनि यतिबेलासम्म (साँझ ७ बजे) पनि विमानमा सामान लोड हुन सकेको छैन । चार्टड गरेको संस्थाले अझैसम्म पनि सामान विमानस्थलमा ल्याउन सकेको छैन जसको कारण विमान नेपाल फर्कन समय लाग्ने भएको हो ।

निगमको खर्च बढ्यो

समयमै सामान लोड गर्न र उडान भर्न नसक्दा नेपाल वायुसेवा निगमले ग्वाङ्जाओ विमानस्थललाई तिर्नुपर्ने खर्च भने बढ्ने भएको छ । सामान्यतः २ घण्टासम्मको अवधिलाई (स्टायण्डर्ड ग्राउण्ड टाइम) निश्चित रकममात्रै तिरे पुग्ने भएपनि २ घण्टाभन्दा बढी समय लागेमा ग्राउण्ड ह्याण्डलिङ र ल्याण्डिङ पार्किङको शुल्कसमेत तिर्नुपर्ने हुन्छ । त्यसो हुँदा निगमलाई थप व्ययभार पर्नेछ ।

१२ घण्टा कटेमा पाइलट नै फेर्नुपर्छ

आइकाओको नियमअनुसार एक दिनमा एक पाइलटले १२ घण्टाभन्दा बढी समय उडाउन पाउँदैन । १२ घण्टा उडाउने भनेको आकाशमा मात्रै नभएर आराम गर्नेसम्मको समय हो । तर अहिले नै ७ घण्टा ३० मिनेट समय गइसकेको छ । तर अझै पनि सामान लोड हुन र उडान भर्न कम्तिमा पनि २ घण्टा लाग्ने निगम स्रोतले बताएको छ । त्यसो भएमा करिब १० घण्टा समय बित्नेछ । र २ घण्टापछि विमान उडेपनि काठमाडौं अवतरण गर्नका लागि करिब ५ घण्टाको समय लाग्नेछ । यस्तो हुँदा एक पाइलटले एक दिनमा १५ घण्टा समय खर्च गर्नुपर्नेछ । जुन आइकाओको नीति विपरीत हो । किनभने पाइलटले दिनमा कम्तीमा १२ घण्टा आराम गर्नैपर्ने आइकाओको नियम छ । यद्यपि विशेष परिस्थितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग स्वीकृति लिएर थप केही घण्टा उडाउन सकिने निगमले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप