शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कथा : जेठीआमा

बिहीबार, २० चैत २०७६, १७ : ३४
बिहीबार, २० चैत २०७६

सगरमाथा जस्तै सेताम्मे शिर, चट्टान जस्तै मांसहीन शरीरमा घुँडाको सिङ ठड्याएर जीवनको सहारा लौरीको अँगालोभित्र जिउनुको सार्थकता बुझ्न उत्सुक जेठीआमा भुइँ कोतरेर आफ्नो अतितलाई स्मृतिको पान्नामा खोजिरहेकी छिन् । 

लट्टे झाँक्रीको जेठोछोरो हर्कमान जो गाउँभरी जेठाबाको नामले कहलाउँथ्यो, उसैकी श्रीमती भएका कारण उनी जेठीआमा भएकी हुन् । उमेरले चारबीसा डाँडा काटिसकेकी उनी मट्टी खेलाएर बसुधालाई नियालिरहेकी छिन् । पिठ्युँमा बुढ्यौलीको पोको बोकेर एकोहोरिइरहेकी उनी अतितलाई कोट्याएर आफूलाई जोखिरहेकी छिन् । जेठीआमा जसको उमेर जतिकै मुजा परेको अनुहारका प्रत्येक रेखाहरु एकएक कथा, व्यथा, वीरता, विरासता, हाँसो, खुसी, क्रन्दन र चित्कारका निशानीहरु हुन् । उनको जीवन भोगाइका जीवित प्रमाणहरु हुन् । 

एक दर्जन सन्तान आफैँले जन्माएर पनि एक्लो जीवन जिउन विवश उनी आफ्नो परिवारको सम्झना र मायाजालको कसिलो डोरीमा बाँधिएकी छिन् । हुनतः प्रत्येक सन्तान उनका लागि एउटा नयाँ तनाव र पीडाको पोको बाहेक अरू केही बनेन । तर उनले कहिल्यै तनाव मानिनन्, कहिल्यै पीडा महसुस गरिनन् । बरु तिनै तनाव र पीडाले पनि जेठीआमालाई नयाँ विश्वास र आशा जगाइरहेका हुन्थे । मस्तिष्कको अन्तर कुन्तरमा खुसीका उद्देलनाहरु पलाउने गर्थे ।

विवाह गरेर त्यस घरमा भित्रिएदेखि लखेट्न थालेको दुःखको वेगले आजपर्यन्त उनको जीवनमाथि धावा बोलिरहेको छ । पन्चेबाजा बजाएर सयौँ जन्तिको साथ बुहारी बनेर भित्रिएकी उनी वैधानिक दास जस्तै बन्न पुगिन् । नाडीमा चुरा बाँधिदा उनको स्वतन्त्रता बन्दी बन्यो । सिउँदोमा श्रीमानले भरिदिएको सिन्दूरको धर्काले उनको शरीर सधैँभरी निहुरिरह्यो  । प्रसव वेदनाबाट शरीर तङ्ग्रिन नपाउँदै उनले सौतेलो झमेला बेहोर्नुप¥यो । ती आँतेस लाग्ने कहालिलाग्दा दिनहरु सम्झँदा नानी सुकेर दृष्टि गुमाउन आँटेको आँखा पनि रसाउन थाल्छन् । आँशुको थोपाभन्दा पहिला सिँगानको थोपा तप्लक्क भुइँमा खस्छ । सुँक्क तान्दै इज्जत जोगाउने कोसिस गर्छिन् उनी । तालु तातेर फुट्लाझैँ हुन्छ, चाउरिएको खस्रो हत्केलाले निधार छेक्छिन् । बचेखुचेको भाग्य उडेर जाला कि भनेर जोगाउने कोसिस गर्छिन् । 

सौतेलो जन्जिर चुडाल्ने, सासु–ससुराको माया दिलाउने, बुहारी हुनुको गर्व मिलाउने उनको जेठो छोरो जन्मिएको थियो । छोराको जन्मसँगै आशा भरोसा, खुसी र भविष्यको सहारा पनि सँगै जन्मिएका थिए उनका लागि । आँखा अगाडि हुर्किरहेको आफ्नो आशा र भरोसाको चट्टान, छोरालाई मख्ख परेर हेर्दा हेर्दै जेठीआमाले समय चिप्लिएको पत्तै पाइन । कतिपल्ट गुराँस फुले, कतिपल्ट पालुवा पलाए, कति हिउँद, कति बर्खा आयो, गयो, कुनै हिसाब किताब राख्दा नराख्दै समय वितेछ । समय चक्रले आठ वर्ष पार गरिसकेको थियो । पन्ध्र सालको अनिकाल प्रायः सबैका लागि महादशा बनेर आयो । त्यसको कालो छायाले जताततै छोप्यो । म सुरवीर नै हुँ भन्नेहरुलाई समेत मक्किने गरी झाडावान्ताको आँधी आयो । त्यही आँधीसँगै जेठीआमाको खुशी उड्यो, आशा हरायो, भरोसाको डोरी चुँडियो । उनको मुटुको टुक्रा जेठो सन्तानलाई त्यही आँधीले खोसेर लग्यो, लुटेर लग्यो । प्रकृतिको रीत हो वा भाग्यको खेल जति नयाँ वर्ष र नयाँ सालहरु आइरहन्थे त्यति तिनीहरुले उपहार स्वरूप उनलाई छोराछोरी दिएर जान्थे । जेठोछोरोपछि दुईवटी छोरी, फेरि अर्को छोरा, अर्को छोरी गर्दै मन्तरे छोरोपछि पनि फेरि दुईवटी छोरीहरु जन्मिए । मन्तरे छोराको नाम नै मन्तरे भयो । कान्छी छोरीको नाम कान्छी नै रह्यो । पाँच भाइ छोरा र सप्तरङ्गी छोरी जन्मिएका थिए, जेठीआमाको कोखबाट । 

उमेरमा लोग्नेले दिएको दुःख र पीडा सम्झँदा उनी क्रोधित र आक्रोशित हुन्छिन् । तैपनि अकेला जीवनको उत्तरार्धमा उसैसँग सहाराको अपेक्षा गरेकी थिइन् । तर त्यो विश्वास पनि पहिरोले बगाएर लगिसकेको थियो ११ वर्षअघि नै । उनले श्रीमान गुमाएको समय याद गरिन्, ११ वर्ष वितिसकेछ । जेठीआमा लौरोले भुइँ कोतारर्दै पल्टाउँदै छिन्, आफ्ना स्मृतिका पान्नाहरु । छोराछोरी सबै आ–आफ्नो दरदिशामा थिए । आआफ्नो घर व्यवहार सम्हाल्नेतिरै व्यस्त थिए । साहिली छोरीले पञ्चायत हटाउने बाटो समाएकी थिइन् ।

जसले व्यवस्थाको विरुद्ध लड्दालड्दै आफ्नो जीवन गुमाइन । अनयास छोरीको यादमा विक्षिप्त बनेकी जेठीआमाको दन्तहीन गिजा हल्लिन्छ । शरीरमा कम्प छुटेझैँ महसुस हुन्छ । एक्कासि उनी हातको लौरो भुइँमा बजारछिन् । मानौँ उनी आफ्नो खुसी खोस्ने दुस्मनलाई हिर्काइरहेकी छिन् । त्यो राँकेडाँडा मौन छ, जहाँ हजारौँ हजार मान्छेको जुलुस निस्किन्थ्यो । जिन्दावाद र मूर्दावादका नाराले सारा जमिन थर्किएको थियो । रुख, बिरुवा, झाडी, बुट्यानहरु समेत उत्साहित बनेझैँ लाग्थ्यो । अहिले जेठीआमा त्यही डाँडातिर हेरिरहेकी छिन् । जुन डाँडाले आफ्नो गर्विलो इतिहास छात्तीमा बोकेर एक्लो र निराश अस्तित्व कायम गर्न विवश छ । 

अहिले जस्तो लाग्छ ‘सहिद साहिली मगर अमर रहुन्’ अमर रहून् भन्ने नारा गुन्जिएको । जनताको जित भयो भन्दै साहिली छोरीको फोटोमा अबिर र माला अर्पँदै जुलुुस निकाली हिँडेको । 

उनी सम्झिन्छिन् सहिदकी आमा बनिस, गौरव र वीरताको गाथा बनिस, तेरो दूध देशकै लागि मूल्यवान बन्यो, अमर सन्तान जन्माइछस् भन्दै सबैले आफूलाई मान र श्रद्धाले घेरा हालेको । बहुदल आयो भन्थे ।

गरिब दुःखी निमुख शोषित पीडितहरुको दिन आउछ भन्थे । बूढाबूढीहरुको संरक्षण सरकारले गर्छ, आश्रममा राख्छ भन्थे । खै कता राख्यो के–के ग¥यो । यता कोही फर्किएका होइनन् । जेठीआमाले लामो निःस्वास छाडिन् । 

मन्तरे घरमा कमै बस्थ्यो । डुलिरहन्थ्यो, घरमा बसेको बखत निकै ध्यानमग्न भएर किताब पढिरहन्थ्यो । आफूले पढ्ने किताब आफै लुकाउँथ्यो । उसको बानी व्यवहार बोलीचालीमा केही परिवर्तन भएको थियो । प्रायः गम्भीर तरिकाले सोच्ने र विश्लेषण गर्ने क्षमता विकास भएको थियो । अचानक छोरामा देखिएको यो परिवर्तन जेठीआमालाई पटक्कै मन परेको थिएन । उनी मन्तरेलाई पुरानै स्वरूपको मन्तरे देख्न चाहन्थिन् तर मन्तरे परिर्वतन भइसकेको थियो । बद्लिसकेको थियो । उसमा चेतनाको नयाँ नयाँ उचाइहरु कायम हुँदै थियो । मन्तरेको जागिर थिएन । तर पनि सबैको माझ हाइ हाइ थियो । गाउँघरका जानेबुझेका पढ्लेख गरेका मानिससमेत उसँग कुरा गर्न आउँथे । पहिला मन्तरेले पढ्ने किताब र कुरामा खासै वास्ता नराख्ने बुहारी समेत दिनप्रति दिन उसको कुराबाट प्रभावित बन्दै थिइन् । बुहारी साह्रै असल थिइन् । आफ्नै आमालाई जस्तै सासूलाई माया गर्थिन्, हेरचाह गर्थिन् । जेठीआमा खुसी थिइन् । उनी पनि बुहारीलाई खुब माया गर्थिन् । साहिँलीको सट्टामा बुहारी आइन् भनेर । 

हँुदाहुँदा मन्तरे घरमा कम र बाहिर बढी निस्किन लाग्यो । घरमा पनि अनजान मानिसहरुको आगमन फाट्ट फुट्ट हुन्थ्यो । मन्तरे साथीहरुसँग निकै सानो आवाजमा कोठाभित्र लामो समय गन्थन गरिरहन्थ्यो । देशमा फेरि राजनीतिको नयाँ भूकम्प गयो । त्यो भूकम्पले सबैभन्दा बढी जेठीआमाको घर हल्लायो । गाउँभरि एउटा अपत्यारिलो आँतेस लाग्ने कुराले खैलाबैला मच्चायो, “मन्तरे र उसका साथीहरु मिलेर डाँडागाउँको प्रहरी चौकी लुटे रे” । अब मन्तरे घरमा आवत जावत गर्न सक्ने अवस्था रहेन । बारम्बार प्रहरीहरु खोजतलास गर्न आउन थालेका थिए । 
जेठीआमा दाह्रा किट्न खोज्छिन्, केवल गिजा रगडिन्छ उनको । मनमनै गुनगुनाउछिन् मेरा छोराछोरीलाई कति देशका लागि लड्नु परेको, यसै गरी व्यवस्थाको विरुद्ध लड्दैमा साहिंलीले जीवन बलिदान दिई... हुँदाहुँदा अब मन्तरे पनि.. । उनको गला अवरुद्ध भयो । सोच्दा सोच्दै आँखा एकोहोरियो ।

छोरो त हिँडेको थियो थियो, अब त बुहारी र कान्छीले समेत त्यही बाटो लाग्ने निर्णय गरेछन् । एकरात लामो समयसम्म बुहारी र कान्छीले आमालाई तरह तरहका कुराले सम्झाए । यो युगको माग हो, समयको चाहना हो हामीले यो व्यवस्थाविरुद्ध मुठ्ठी कस्नै पर्छ । पाइला उचाल्नै पर्छ । हामीले क्रान्तिको राँकोद्वारा शोषण, उत्पीडन, अन्याय र अत्याचारको जालोलाई जलाउनै पर्छ । आदि आदि कुराले आमालाई सम्झाएका भए पनि उनले ट्वाल्ल परेर कहिले कान्छीलाई कहिले बुहारीलाई अनौठो भावले हेरेकी थिइन् । बिहानीको रिमरिम उज्यालो हुनुभन्दा निकै अगाडि नै ‘हामी बेलाबेला आउँदै गर्छौं, चिन्ता नलिनु’ भनेर बुहारी र कान्छी पनि हिँडेका थिए । अब घरमा सिङ्गो जहान एक्ली जेठीआमा थिइन् । अरू छोराछोरी त आ–आफ्नो घरजममा जमिसकेका थिए । 

जेठीआमा आफ्नो टाउकोमा आफै मुक्का हान्छिन् । दैवले मलाई चाहिँ किन छाड्यो π कि बूढासँगै परलोक जान पाको भए हुन्थ्यो कि हातखुट्टा दरो भएको भए छोराछोरीकै बाटो सँगै हिँड्थे, हे दैव तैँले मलाई के यस्तो विथाता पारेको ! खुइया गर्दै तातो स्वास फाल्छिन् उनी । लौरोको सहाराले जुरुक्क उठ्न खोज्छिन् तर थरर्र काम्दै भुइँमा पछारिन्छन् ।

उनी एक बेलुका केही नखाईकन ओछ्यानमा पल्टिरहेकी थिइन् । मध्यरातमा आएको ट्वाक ट्वाक आवाजले उनलाई झस्कायो । ला ! पुलिस आयो क्यारे । अब फेरि अनेक सोधपुछ र घर खानतलासी गर्ने होला । उनी दिक्क मान्दै निदाएझँै गरिरहिन् । केहीबेरमै ‘आमा निदाइरहनु भएको हो, म कान्छी क्या !’ छोरीको आवाजले उनमा नयाँ शक्तिको सञ्चार भएझैँ भयो । कान्छी बत्ती नबालीकन झ्यालबाट घरभित्र पसिन् । जेठीआमाले आफ्नो मातृत्व उर्लेर आउँदा अध्यारामै छोरीको टाउको मुसारिन् । कान्छीले आमालाई अँगालोमा बाँधिन् । जेठीआमालाई त्यो अन्धकारमा बाह्रवटा सूर्य उदाएझैँ उज्यालो ज्योती छरिएको महसुस भयो । 
भोलिपल्ट बिहानीको झिसमिसे उज्यालो नहँुदै कान्छीले आमालाई डोहो¥याउँदै मन्तरे भएको ठाउँमा पु¥याइन । त्यहाँ बुहारी पनि थिइन् । अरू आठदस जना साथी सङ्गीहरु समेत रहेछन् । मन्तरेलाई सबैले मनोज सर भन्दा रहेछन् । एकछिन त त्यहाँ एकअर्कामा हेराहेर हुँदै गर्दा रुवाबासी चल्यो । तर मन्तरे जो अहिले मनोज सर भएको थियो, उसले केही मिनेट गम्भीर र गहिरा कुरा गरेपछि जेठीआमाको समेत चित्त बुझ्यो । उनले गाढा गरी मन्तरेलाई हेरिन्, उसको प्रत्येक हेराइ र बोलाइ निकै अर्थपूर्ण थियो । बुढ्यौलीले चाउरिएको उनको अनुहार पनि अलि खुलेजस्तो भयो । कलेँटी परेको ओठमा मुस्कानको चमकता रसायो । त्यो बिहानीको छाक उनले छोराछोरी सँगै बसेर साग र च्याँख्ला खाइन् । त्यो साग र च्याख्ला अमृतभन्दा पनि बढी मीठो लाग्यो उनलाई । 

जेठीआमालाई मन्तरेका अन्य साथी सङ्गीहरु पनि आफूबाटै जन्मिएका सन्तान हुन् जस्तो लाग्यो । जो एउटै उद्देश्य प्राप्तिका लागि कठोरभन्दा कठोर क्रान्तिको यात्रामा सङ्घर्षरत थिए । 
जेठीआमाले छोराछोरी भेटेर आएको नौ दिन मात्र भएको थियो । सदरमुकामको आर्मी ब्यारेक माथि माओवादीबाट आक्रमण भयो । रातभर ड्वाङग... ड्वाङग.. पट्ट्ट.. ड्वाङ्ग... आवाज आइरहेको थियो । बिस्फोटको आवाजसँगै आकाशमा धपक्कै उज्यालो छरिन्थ्यो । गाउँमा आआफ्नो तालमा भुकिरहेका कुकुर आत्तिएर एकै ठाउँमा भेला भई एउटै तालमा भुक्दै थिए । जेठीआमा असाध्यै आत्तिएकी थिइन् । अन्धकार रातले यिनको मनभित्रको त्रासलाई झनै बढाइदिएको थियो । 

उज्यालो हुनासाथ गगनभेदी नारासहित चारैतिरबाट मानिसका जुलुसहरु निस्किए । आकाशमा हेलिकप्टर चक्कर लगाउँदै थियो तर त्यसको कसैले प्रवाह गरेनन् ।  धेरैभन्दा धेरै मानिस जम्मा हुँदै गए । माओवादीले जिते जनताको जित भयो भन्दै  सबै जना उत्साहित र जोसिलो हुँदै खुसीयाली मनाइरहेका थिए । सबै गाउँलेहरु हँसिलो मुहारसहित फुलका गुच्छा लिएर ठूलो वन नजिकै सिमलचौरमा भेला भएका थिए । जेठीआमाले पनि आफ्नो घरमाथिको बारीको फूल टिपेर पोल्टामा राखिन् र गाउँलेहरुसँगै सिमलचौरतर्फ लागिन् । धेरै मानिसको जमघट भइसकेको थियो । त्यहाँ छापामारहरु पनि ठूलो सङ्ख्यामा उपस्थित थिए । सेना प्रहरीबाट कब्जा गरिएका हतियारहरुको प्रदर्शनी गरिएको थियो । सबैजनाको ध्यान त्यतैतिर केन्द्रित देखिन्थ्यो । विजयसभाको तयारी हुँदै थियो । आफ्नो पोल्टाको फूल झिकेर जेठीआमाले अरूहरुको जस्तै गरी एकैठाउँमा राखिदिइन् । फूल राखेको छेवैमा लौरोको भरमा उभिएकी उनी बडा गम्भीर र गाढा गरी यताउती हेरिरहेकी थिइन् । मानौँ त्यो हजारौँको भीडमा उनी मन्तरे, बुहारी र कान्छीको खोजी गरिरहेकी छिन् । 

एकैछिन पछि एकजना ख्याउटे छापामार आएर जेठीआमालाई अभिवादन गर्दै सोध्यो । ‘आमा हजुरसँग छोरा बुहारीको फोटो छ ?’ उनी अझ स्पष्ट हुन खोज्दै सोधिन् ‘कसको रे बाबु ?’ छापामारले भन्यो, ‘कमरेड मनोज सर र कमरेड मञ्जुको आमा’ ।

जेठीआमाले पोल्टाको थैलीबाट पासपोर्ट साइजको तीनवटा फोटो झिकिन् । तिनीहरु मध्ये कान्छीको फोटो चाहिँ पुनः बीस रुपैयाँको नोटभित्र हालेर थैलीमा राखिन् । दुईवटा फोटो छापामारलाई दिइन् । पुलिसले कयौंपल्ट छापामार्दा जोगाएर राखेको यो फोटो किन उनले छापामारले माग्नसाथ सजिलै दिइन्  । फोटो दिइसकेपछि उनी एकपटक आफू आफैसँग झस्केकी थिइन् । 

कार्यक्रम सुरु भयो । जेठीआमा मेचमा बस्ने प्रमुख अतिथि बनेकी थिइन् । सहिदकी आमा भनेर सबैले उनको उच्च प्रशंसा गरिरहेका थिए । कार्यक्रमको थालनी भई सहिदको फोटोमा माल्यार्पण गर्ने काम भयो । 
उनको छोरो मन्तरे र बुहारी मञ्जुले हिजो रातिको भीडन्तमा एकैचोटि अमरत्व प्राप्त गरेका थिए । 

त्यहाँ उपस्थित सबैले एकटक लगाएर जेठीआमालाई मात्र हेरिरहेका थिए । उनको दिमागमा एकैचोटि बिजुली चम्किए जसरी झिल्का छुट्यो । सम्झँदै पहाड रसाएझँै उनका आँखा रसाए । पेटमा आगोको मुस्लो घुसेझैँ भइरहेको थियो उनलाई । तल्लो ओठलाई भित्रपट्टि पारेर माथिल्लो गिजाले बेस्सरी टोक्न खोजिन् उनले । जिउ पूरै काम्न थाल्यो । मुटुको धड्कन निकै बढेको थियो । एकैचोटि हावाको झोक्काले आकाशमा मडारिएको कालो बादल उनी माथि ल्याएर खन्याइदियो । उनको होस् गुम्यो । भुइँमा लम्पसार परिन् । उनको खुट्टा तन्किएका थिए ।

दौडँदै आएकी कान्छी र अन्य छापामारहरु मिलेर उनलाइ उठाए । कोही हम्किँदै, कोही पानी लगाएर टाउकोमा शीतल गराउने प्रयास गरिरहेका थिए ।
आमा..! आमा.. ! कान्छीको आवाजले जेठीआमाको आँखा थोरै खुले । आमा आज हामी विजय उत्सव मनाइरहेका छौँ । तपार्इं वीर सन्तान कि आमाले रुन सुहाउँदैन । आफ्नो आँशु आफ्नै हातले पुच्छनुस् आमा । हाम्रा दाइ र भाउजू मरेका होइन्न अमर बनेका हुन् । क्रान्तिकारीहरु कहिल्यै मर्दैनन्। मलाई हेर्नुस्, यत्रा छापामार कमरेडहरुलाई हेर्नुस्, यिनीहरु सबै तपाई जस्तै आमाका सन्तानहरु होइनन् र ! आफ्नो मन दह्रोे गर्नुस् आमा ।

स्मृतिको वायुयानमा दौडिँदै गर्दा जेठीआमाको हालत अहिले पनि उस्तै भइसकेको थियो । उनी लौरोलाई अँगालो हालेर खुल्ला आकाशमुनि एक्लै लमतन्न भइसकेकी थिइन् । एक्कासि आकाशमा मेघ गर्जियो, उनी डराएर काम्दै होसमा आइन् । कान्छी छोरीलाई सम्झिइन् । उसले त्यो बेला भनेकी थिई आमा हाम्रो जित नजिकै छ । अनि उसले आमाको गालामा म्वाइ खाएकी थिई ।

जेठीआमा धर्खरिँदै उठिन् । मनमनै गुनगुनाई मेरी कान्छी त जिउँदै छे नि ? लौरोको सहारामा पाइला सार्न खोजिन् । आकाशबाट पानी पो झर्न थाल्यो । तर उनको जिउ पसिनाले निथ्रुक्क भिजिसकेको थियो । 

पानीसँगै ठूलो हुरीबतास पनि चल्यो । बतासले हल्लाइरहेका  रुखका पातहरु उनले याद गरिन् । हरिया पातहरु क्रमशः राता राता हँुदै थिए । रातो रङले झन् उनलाई झस्कायो किनकि विजय जुलुसमा सबैले रातो झण्डा नै बोकेका थिए । अनयास छोराछोरीको याद आयो । त्यही यादमा रसाएको आँखाबाट बगेको आँशु चाउरिएको गालाको बाटो हुँदै तपलक्क भुइँमा खस्यो । त्यो आँशु खस्नासाथ हावाको बेगले हल्लिएका पातहरुले सुसाउँदै आफूलाई भनेझैँ लाग्योः आँशु नझार आमा, तिम्रा छोराछोरीले तिमी जस्तो धैरै आमाहरुको मुहारमा मुस्कान  ल्याउन र हेपिएका थेचिएकाहरुको उत्थानको लागि आफ्नो पसिना र रगत बगाएका हुुन् । आफूले आपैmलाई गर्व गर आमा ।  तिम्रो कोखबाट महान क्रान्तिकारी छोरा छोरीको जन्म  भएको रहेछ । तिमी तिम्रा सन्तानको मात्र होइन सबैको आमा हो,  तिमी युगकै  आमा हो... । उनी सम्हालिन खोज्दै पाइला सार्ने कोसिस गर्छिन् ।

उनको जिउ पसिनाले निथ्रुक्क थियो । चाउरिएको अनुुहारमा रालसिँगान र आँशुु बगिरहेको थियो । उनले आफ्नो पोल्टाबाट रुमाल झिकिन् र मुुख पुछिन् । एक्कासि बतासले त्यो रुमाल हल्लाइदियो । रुमालको रङ पनि रातै थियो । अस्तु      

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विशाल खड्का
विशाल खड्का
लेखकबाट थप