शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अस्ट्रेलियामा कोरोनाभाइरसको खोप परीक्षण शुरु

बिहीबार, २० चैत २०७६, १३ : ५६
बिहीबार, २० चैत २०७६

क्यान्बेरा । अस्ट्रेलियाको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठन (सिसिरो) ले कोरोनाभाइरस प्रतिरोधी खोप (भ्याक्सिन) को परीक्षण शुरु गरेको छ । सिसिरोले मेलबोर्नबाट ७५ किलोमिटर दक्षिणको गीलोङस्थित अस्ट्रेलियाली पशु स्वास्थ्य प्रयोगशाला (एएएचएल) मा पहिलो चरणको परीक्षण आरम्भ गरिएको बिहीबार घोषणा गरेको हो । यो परीक्षण करिब तीन महिनामा सम्पन्न हुनेछ । यो भ्याक्सिनको प्रभावकारिता र सुरक्षात्मक स्थितिका बारेमा एक प्रकारको मुसामा परीक्षण गर्न लागिएको सिसिरोले जनाएको छ । 

सिसिरोका प्रमुख कार्यकारी ल्यारी मार्शलले कोरोनाभाइरस विरुद्धको अभियानमा यो एउटा कोशेढुंगा हुने विश्वास लिइएको बताउँदै यस कार्यमा अस्ट्रेलियाली र अन्य मुलुकको अनुभवलाई एकीकृत गरिएको जानकारी दिए । उनले मानव स्वास्थ्यका लागि ठूलो चुनौतीका रुपमा देखिएको कोरोनाभाइरस विरुद्धको यस अभियानमा आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्नु परेको पनि बताए ।

संक्रामक रोगको महामारी विरुद्ध गठन भएको विश्वव्यापी सञ्जाल (सेपी) को सहयोगमा सिसिरोले गत जनवरीदेखि नै कोरोनाभाइरस प्रतिरोधी भ्याक्सिन निर्माणको कार्यलाई अघि बढाएको थियो । भ्याक्सिनको प्रभावकारिताका अलावा सिसिरोले भ्याक्सिन लगाउने तरिकाका बारेमा पनि मूल्याँकन गर्न लागेको छ । 

यो भ्याक्सिन प्रभावकारी र सुरक्षित हुने देखिए पनि आमरुपमा उपलब्ध हुन १२ देखि १८ महिना लाग्ने सिसिरोले जनाएको छ ।  प्रयोगशालामा निर्माण गरिएको सार्स–कोभ–२ अर्थात् कोरोनाभाइरसलाई गत जनवरीमा एएएचएल प्रयोगशालामा पठाइएको थियो । ‘हामीले कोरोनाभाइरसका सम्बन्धमा जनवरीदेखि नै अनुसन्धान गरिरहेका छौं र जतिसक्दो चाँडो मानिसमा परीक्षण गर्ने योजना पनि बनाइरहेका छौं’ एएएचएलका निर्देशक ट्रेभोर ड्रिउले बताए । विश्वभर कोरोनाभाइरसका कारण ४४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने करिब १० लाख मानिस संक्रमित भएका छन् । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप