बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सङ्कटमा एक जुट होऔँ

बिहीबार, २० चैत २०७६, १० : २२
बिहीबार, २० चैत २०७६

-कमल रायमाझी

कोरोनाभाइरस (कोभिड–१९) का कारण विश्वयुद्ध पछिको सबैभन्दा ठूलो सङ्कट अहिले विश्वले बेहोरेको छ । महाशक्ति राष्ट्रसमेत कोरोनाभाइरसको महामारीबाट आत्तिएका छन् । चीनको उहानबाट गत डिसेम्बरमा सुरु भएको यो प्रकोप अहिले इटली र स्पेन केन्द्रित भएको छ ।

त्यहाँ दैनिक सयौँ मानिसले ज्यान गुमाउनुपरेको  छ । अमेरिकामा यसको पछिल्लो इपिसेन्टर हुन पुगेको देखिन्छ । अमेरिकामा पनि अहिले हजारौँ मानिस यो भाइरसको आक्रमणमा परेका छन् । जुन संसारभरीको तथ्याङ्कमा धेरै हो । मानिसहरुको ज्यान जाने क्रम इटली र स्पेनमा बढी भए पनि बिरामीको सङ्ख्या अमेरिकामा धेरै हुन पुगेको विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरेको छ । केही देशमा अहिले पनि मोर्नेहरुको सङ्ख्या अत्यधिक बढेपछि दाहसंस्कार गर्न पनि गाह्रो भएको पाइन्छ ।

विश्वका धेरै देश अहिले लकडाउनको अवस्थामा छन् । संसार अस्तव्यस्त बनेको छ । अर्थतन्त्र धराशयी बनेको छ । मानिसहरु घरबाहिर जान नसकेर होम क्वारेन्टाइन बसेका छन् । बिरामीको सङ्ख्या दैनिक रूपमा अध्यधिक बढ्ने गरेपछि परीक्षण र उपचार गर्न पनि अस्पताललाई गाह्रो भएको पाइन्छ ।  हालसम्म विश्वका २०३ देशमा यो सङ्क्रमण  फैलिएको छ । लाखौँ मानिसमा यसको सङ्क्रमण भएको छ भने हजारौँले ज्यान गुमाइरहेका छन् । जुन दैनिक रूपमा बढिरहेको तथ्याङ्क विश्वस्वास्थ्य सङ्गठनले दिइरहेको छ । रोकिनेभन्दा पनि फैलिने क्रम बढ्दो रहेको देखिन्छ । पहिल्लो समय युरोप र अमेरिकामा यसको सङ्क्रमणको केन्द्र बनेको छ । जहाँ मृत्युदर प्रति १ मिलियन जनसङ्ख्यामा ५.१ प्रतिशत भएको छ । जुन प्रतिदिन बढ्दो छ ।

विशाल जनसङ्ख्या भएको भारतले पनि आफ्नो देशलाई लकडाउन गरेको छ । जसले गर्दा नेपाल लगायत दक्षिण एसियाली मुलुकमा यसको सङ्क्रमण बढ्ने क्रम कमजोर देखिएको हो । सामाजिक दूरी कम गर्नका लागि गरिएको लकडाउनले कोरोना भाइरस सङ्क्रमित मानिसले अरुलाई सार्न नसक्ने भएकाले लकडाउन पछिल्लो उपलब्धि मानिएको छ ।

नेपालले पनि लकडाउनलाई निरन्तरता दिएको छ । जसका कारण मानिसहरुले आफ्नो समाजिक दूरी कम गरेका छन् । विदेशबाट सङ्क्रमण भएका मानिस नेपालमा आए पनि नेपालमा यसको सङ्क्रमण भएका कुनै पनि व्यक्ति भेटिएका छैन । जसलाई रोक्न सक्नुपर्छ । नेपालमा मानिसले सरकारले कोरानाभाइरस रोकथामका लागि उचित कदम चाल्न नसकेको, द्रुत गतिमा स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरणहरु तयारी अवस्थामा नराखेको आरोप लगाएका छन् । जुन केही मात्रमा सत्यता पनि देखिन्छ ।

सरकारका मन्त्रीहरु आफै भाषण र सस्तो लोक प्रियतामा लागेका छन् । सरकारको उपलब्धि लकडाउन बाहेक खासै देखिँदैन । पछिल्लो समय चीनबाट खरिद गरिएका स्वास्थ्य सामग्री र उपकरणमा पनि ठूलो मात्रामा कमिसनको पछाडि मन्त्रीहरु लागेको आरोप छ । जुन देशका लागि राम्रो सन्देश होइन । समान खरिदका लागि परेका टेन्डरहरु लुकाएर विभिन्न बहानामा स्वेच्छाले अर्बौंको समान खरिद गर्नु पनि आम मानिसमा शंका हुनु स्वाभाविक हो । तर देशमा परेको यो सङ्कटको बेलामा कोही कमिसनको पछाडि लाग्यो भने उसैमा विषय केन्द्रित गरेर समस्यालाई ओझेलमा पार्ने खालका खेल नेपालमा भइरहेका छन्, त्यो बन्द गर्नुपर्दछ ।  भोलिका दिनमा कमिसनका हिसाब किताब गर्ने बेला आउँछ । तर मानिसमा एकातिर सङ्क्रमण फैलिरहेका छ । देशमा नागरिकको ज्यान उच्च जोखिमा परेको बेला अंशबण्डा गर्न खोज्नु पनि न्यायोचित होइन । 
सङ्कटमा संसारका कुनै पनि देशमा पक्ष र विपक्ष भन्ने हुँदैनन् । सबै समस्यालाई सामाधान गर्नेतर्फ एकताबद्ध रूपमा लागेको पाइन्छ । जुन अमेरिकामा विपक्ष दल नै सत्तापक्षले ल्याउन थालेको सङ्कटकालको एजेन्डा ल्याएर सरकारलाई सहयोग पुरायो । तर नेपालमा सस्तो लोकप्रियताका लागि सरकारको विरोध गरे आफ्नो जिम्मेवारी पूरा हुने ठान्ने गरेका छन् । सामाजिक सञ्जालहरु हेर्यो भने सरकारको विरोध गर्नमा मानिसले समय खेर फालिरहेका छन् ।

तर उनीहरु सङ्कटको सामधान कसरी गर्न सकिन्छ भन्ने विषयको छलफल र सुझाव राखेको पाइँदैन । राजनीतिक दलका नेताहरु र सङ्घसंस्थाहरु पनि अहिले सस्तो लोकप्रियताका लागि कहिले किट्नासक औषधि छर्किन हिँड्न, माक्स र साबुन वितरण गरेको स्वाङ पार्ने र गरिब दुःखी र मजदुरहरुको घरमा पुगेर राहत वितरण गरे भनेर समाचार बन्ने गरेका छन् । जुन निकै लाजमर्दो काम हो । यस्तो सस्तो लोकप्रिता कमाउन हिँड्नेहरुलाई रोक्न नसक्नु पनि स्थानीय प्रशासन, स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारको कमजोरी पनि हो । अहिले नेपालमा   सङ्घीय सरकार, ७ वटा प्रदेश सरकार र  ७५३ वटा स्थानीय सरकार छन् ।

उनीहरुको पनि वडापालिका छन् । जनताबाटै अनुमोदित भएका यी जिम्मेवार जनप्रतिनिधिहरुको कमजोरीका कारण सङ्टकको बेलामा यी केही तत्त्वहरु खेल्ने मौका पाएका छन् । जुन राम्रो पक्ष होइन । सरकारको नेतृत्व गर्नेहरुले यस्ता तत्त्वहरुलाई तुरुन्त बन्द गरेर केन्द्रदेखि प्रदेश हँुदै स्थानीय तहसम्म सत्ता पक्ष र प्रतिपक्ष भन्ने शब्दलाई सङ्कटको बेलासम्मका लागि बिर्सिएर भए पनि स्थानीय क्षेत्रको समस्यालाई एकद्वार प्रणालीमार्फत अगाडि बढ्नु पर्दछ ।

सबैको सामूहिक स्वार्थ, एकताबद्ध रूपमा योजना बनाएर अगाडि बढे नेपाली जनताको पक्षमा योभन्दा राम्रो काम केही हुन सक्दैन । अब सत्ता पक्ष,  प्रतिपक्ष भन्दा पनि समाजका अगुवा, नेतृत्वमा रहेका व्यक्तिहरु आपसमा मिली साझा योजना बनाउने अगाडि बढ्ने बेला हो यो । सबैले बनाउने साझा योजनाले कहाँ के समस्या हो भन्ने कुरा पहिल्याउन सजिलो हुनेछ । स्थानीय जनसमुदायसम्म पुग्दा पनि नेतृत्व गर्नेहरु, स्वयं सेवकहरुले फोटो खिचेर प्रचार गर्नभन्दा पनि आफ्नो सुरक्षाका लागि पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) प्रयोग गरे उत्तम हुने थियो । किनकि जो अहिले आफ्नो लोकप्रियता खोज्न निस्केका छन् । कुनै माहामारी भयो भने दुलोभित्र लुक्नेमा कुनै शङ्का छैन । जुन बुटवलको कारोना विशेष अस्पतालमा कोरोना शङ्का लागेका पाल्पाका बाबुराम थापाको शव अहिलेसम्म उठ्न सकेको छैन । अस्पतालबाट कोरोनाभाइरसको रिपोर्ट नेगेटिभ आए पनि उनको मृत्य शरीर छुन सबैलाई डर लागेको छ ।

साँच्चै जनताको सेवा गर्ने भन्नेहरु यहाँ पुग्नुपर्ने थियो । नेपालका निजी अस्पतालहरुको अवस्था पनि गैह्रजिम्मेवार देखिएको छ । ज्वरो आएका खोकी लागेका बिरामी आए अस्पतालको गेटबाटै फिर्ता गरिदिने काम भएको छ । जसले नेपाली जनताका लागि असह्य भएको छ । हिजोका दिनमा हामी गुणस्तरीय भएको ठोकुवा दिँदै  प्रचार गर्ने निजी अस्पतालहरु ज्वरो र खोकी लागेका बिरामी आउने बित्तिकै सरकारी अस्पताल धपाउनतिर लाग्नु नेपाली जनताप्रति उनीहरुको गैह्रजिम्मेवारीपन हो । देश सङ्कटमा परेको बेलामा कसरी सहयोग गर्न सकिन्छ भन्नेतिर लाग्नुपर्नेमा पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) को बाहना बनाएर तर्किनु उनीहरुको नेपाली जनताप्रति ठूलो धोका हो ।

यस्ता समस्या अस्पतालमा सधैँ हुन्छन् । सरुवा रोग लागेर आउने मानिसहरुको सङ्ख्या पनि नेपालका अस्पतालमा धेरै नै छन् ।  सरकारले त्यस्ता बिरामीलाई राख्न अस्पतालहरुमा आइसोलेसन वार्डहरुको मापदण्ड बनाएको छ । त्यसको तयारी अस्पतालमा हुनुपर्ने हो कि होइन । यस्ता अस्पतालको अनुगमन तथा स्वीकृत दिने निकाय यो बेलामा किन बोल्दैनन् । नेपालमा समस्या यहीँनेर देखिएको छ । जुन लाजमर्दो हो । यसमा सरकारको पनि कमजोरी देखिन्छ । जसलाई सञ्चालनका लागि स्वीकृत दिएको छ । अनुगमन गरेको छ । तर कारबाही गर्न डराउनुपर्ने कारण केहो । अब नेपाली जनताले खोज्नुपर्दछ ।
स्थानीय सरकारले प्रचारका लागि अव्यवस्थित क्वारेन्टाइन र आइसोलेस वार्डहरु बनाउनुभन्दा स्थानीय निकायहरु आपसमा मिलेर सुविधायुक्त र प्रविधिमैत्री बनाउनतिर लाग्नुपर्दछ । 
संसारलाई आतङ्कित पारिरहेको यो कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि सबै एक भएर अगाडि बढौँ, हाम्रो कामना यही छ । 
(लेखक प्रेस सङ्गठन रूपन्देहीका सहसंयोजक हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप