शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जनप्रतिनिधि संवाद : कोरोना रोकथाममा के गर्दैछ सायल गाउँपालिका ?

बुधबार, १९ चैत २०७६, २२ : ०५
बुधबार, १९ चैत २०७६

सुदूरपश्चिम प्रदेश अन्तर्गत डोटी जिल्लामा अवस्थित सायल गाउँपालिका साविकका छपाली, तोलेनी, डौड र खातिवडा गाविस मिलेर बनेको हो । 

यो गाउँपालिकामा करिब १९ हजार ५५१ जनसंख्या रहेको छ । विकट क्षेत्रमा अवस्थित यो गाउँपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्ध लड्न के कस्ता पहल गरिरहेको छ भन्ने विषयमा रातोपाटीका लागि प्रतिक्षा भट्टले गाउँपालिकाका अध्यक्ष तेज बहादुर डुम्रेलसँग गरेको कुराकानीः

गाउँपालिकाभित्र हुनसक्ने कोरोनाभाइरसको संक्रमणविरुद्ध लड्न के कस्ता पहल गर्नुभएको छ ?

गाउँपालिकाले प्रत्येक वडामा सचेतना समूह निर्माण गरेको छ । टोल–टोलमा रहेका आमा समूह, वडा अध्यक्ष, वडा सदस्य, स्वास्थ्यकर्मीलगायतलाई समेत समेटेर गाउँ–गाउँमा सचेतना फैलाइरहेको छ । यसैगरी, छुट्टै परिचालन कमिटीले साबुन पानीले हात धुने, मास्क लगाउने, भीडभाडमा जानुहुँदैन, जात्रा, मेला आदिमा जानुहुँदैन भन्ने जस्ता सचेतनामुलक कुराहरु सिकाइरहेको छ । 

साथै, प्रत्येक वडामा एक घर परिवार बराबर दुईवटा साबुन वितरण गरेका छौँ । साबुन पानीले कसरी हात धुने भनेर पनि सिकाइरहेका छौँ । साथै, मास्क पनि गाउँपालिकाले प्रत्येक परिवारलाई वितरण गरेको छ । 
मुल बाटोमा हेल्थ डेस्कको पनि व्यवस्था गरेका छौँ । केही इमरजेन्सी भएको खण्डमा प्रयोग गर्नका लागि एम्बुलेन्स तयारी अवस्थामा राखेका छौँ । 

यद्यपि, हामीसँग दक्ष चिकित्सक हुनुहुन्न । सामान्य स्वास्थ्यकर्मीहरुको भरमा स्वास्थ्य संस्थाहरु चलाइरहेको अवस्था छ । त्यतिमात्र होइन, फिल्डमा खटिएका सुरक्षाकर्मीहरुका लागि पीपीईको व्यवस्था छैन । त्यसैले संघीय सरकार, प्रदेश सरकारसँग पीपीई माग गरेका छौँ । उहाँहरुले दुई दिनमा उपलब्ध गराउने आश्वासन दिनुभएको छ । 
अहिलेसम्म गाउँपालिकामा कोरोना संक्रमणको आशंकामा गरिएका व्यक्ति भेटिएका छैनन् ।

विदेश वा गाउँपालिका बाहिरबाट आउने व्यक्तिहरुका लागि क्वारेन्टाइनको व्यवस्था गरिएको छ कि छैन ?
क्वारेन्टाइनको व्यवस्था गरेका छौँ । गत चैत १० गतेदेखि यो गाउँपालिकामा भित्रिएका ३७ जनालाई क्वारेन्टाइनमा राखेका छौँ । हिमालय आधारभूत विद्यालय वडा नम्बर ६ लाई क्वारेन्टाइनको रुपमा प्रयोग गरेर त्यसमा नै बाहिरबाट आएका व्यक्तिहरुलाई बस्ने व्यवस्था मिलाएका छौँ । 

राहतका कार्यक्रमका सम्बन्धमा के कस्ता पहल भएका छन् ?
लकडाउन भएको अवस्थामा दैनिक ज्यालामजदुरी गरेर खाने व्यक्तिहरुको तथ्याकं संकलन गरिरहेका छौँ । त्यसको लागि भेला नगरी सुक्ष्म तरिकाले मजदुर, अतिविपन्न, हलिया जस्ता व्यक्तिहरुको पहिचान गरिरहेका छौँ । गृहमन्त्रालयको निर्देशनमा संघीय सरकारले सर्कुलेसन जारी गरेकाले हामीले त्यसको लागि काम अगाडि बढाएका छौँ । 

गाउँपालिकामा लकडाउन उल्लंघन भएको छ कि छैन ?
सचेतना फैलाउनुअघि भेटघाट गर्ने, भेला हुने जस्ता कार्यहरु भइरहेका थिए । तर सचेतनामुलक कार्यक्रमपछि लकडाउन उल्लंघन हुने कार्य बन्द भएको छ । 

यो अवस्थामा कालोबजारी पनि हुनसक्ने हुन्छ, अनुगमन गर्ने व्यवस्था भएको छ कि छैन ?
हाम्रो ठाउँमा कालोबजारी भएको छैन । सानो सानो पसलहरु छन् ति सबै पसलहरुमा हामीले कुराकानी गरिरहेका छौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप