शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बिरामीको स्वास्थ्य परीक्षण गर्न नमान्ने अस्पताललाई कारबाही गर्न प्रदेश २ सरकारको निर्देशन

बुधबार, १९ चैत २०७६, १५ : ३६
बुधबार, १९ चैत २०७६

जनकपुर । कोरोना भाइरस संक्रमणको बहानामा विरामीलाई भर्ना गर्न नमान्ने र चेकजाँच नगर्ने अस्पताल र चिकित्सकलाई प्रदेश २ सरकारले कारवाहीको तयारी थालेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्दै बिरामी भर्ना गर्न नमान्ने निजी अस्पताल तथा चिकित्सकलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको हो ।

तर प्रदेश सरकारले यो निर्देशन दिएलगत्तै नेपाल चिकित्सक संघले यसको विरोध गरेको छ । संघका महासचिव बद्री रिजालले एक प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री लालबाबु राउतले सरोकारवालाहरुको वैठकमै अहोरात्र खटिरहेका अवस्थामा चिकित्सकहरुको लाइसेन्स खारेज गर्ने तथा चिकित्सकहरुलाई थुनामा राख्न दिइको आदेशको निन्दासहित भत्र्सना गरेका छन् । 

महासचिव रिजालले कोरोना भाइरसबाट संक्रमित विरामीहरुको उपचार गर्ने बेला चिकित्सकहरुको मनोबल उच्च बनाउनुपर्ने बेलामा मुख्यमन्त्री राउतले यस्तो धम्की दिनु उचित नभएको बताउँदै उक्त व्यवहारप्रति संघको गम्भीर ध्यानकर्षण भएको जनाएका छन् । यता, सरकारले भने नीजि अस्पताल तथा नर्सिङ होमहरुले बिरामीलाई आधारभूत सेवा समेत नदिई सामान्य चेकजाँच नगरी फर्काउने गरेको र कतिपय अवस्थामा बिरामीसँग अभद्र व्यवहार गरी व्यवसायिक धर्म समेत निर्वाह नगरेको गुनासाहरु आइरहेको भन्दै त्यस्ता अस्पताल र नर्सिङ होमहरुमाथि कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमार्फत निर्देशन दिएको छ ।

न्यूनतम व्यवसायिक धर्म, काम, कर्तव्य, जिम्मेवारी र दायित्वसमेत निर्वाह नगर्ने अस्पताल तथा नर्सिङहोमहरुलाई तत्काल अनुसन्धानको दायरामा ल्याइ कारबाही प्रक्रिया अघि बढाउन सबै प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइएको आन्तरिक मामिला तथा काननुमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए । मन्त्री यादवले कोरोना महामारीले सन्त्रास फैलाइरहेका बेला यस्ता घटनाहरु भइरहँदा राज्य मुकदर्शक बनेर नबस्ने चेतावनी दिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिरामी नजाँच्ने अस्पताल तथा नर्सिङहोमहरुलाई जिल्लास्तरबाटै कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।  पछिल्लो समयमा प्रदेश २ मा कोरोना संक्रमणको त्रासमा अधिकांश नीजि अस्पतालहरुले सामान्य रुघाखोकी र ज्वरोका बिरामीहरुलाई भर्ना गर्न नमानेपछि बिरामीहरु समस्यामा परिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप