बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एम्बुलेन्सबाट गाँजा तस्करी : मेयर र नेकपा नेतालाई पक्रन पक्राउपुर्जी जारी

पक्राउ अघिनै पक्राउपुर्जी सार्वजनिक भएपछि विवाद
बुधबार, १९ चैत २०७६, १० : १९
बुधबार, १९ चैत २०७६

रौतहट । रौतहटमा एकजना नगरप्रमुख र एकजना नेकपा नगरकमिटी प्रमुखलाई गाँजा तस्करीमा संलग्न रहेको आरोपमा अदालतले पक्राउपुर्जी जारी गरेको छ । जिल्लाको दक्षिणीभेग ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता र उनका भाइ तथा नेकपा नगर कमिटी प्रमुख मोहन मेहतालाई जिल्ला अदालत मकवानपुरले अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

गत  माघ ११ गते हेटौँडा उपमहानगरपालिका १९ नेवार पानीस्थित प्रहरी टोलीले पूर्व–पश्चिम लोकमार्गमा बा २ झ १७४९ नम्बरको एम्बुलेन्स जाँच गर्दा ३० किलो ६०० ग्राम गाँजा र नेपाली ९१ हजार तथा भारतीय दुई हजार बरामद भएको थियो ।

डुमरिया स्वास्थ्य चौकीको उक्त सरकारी एम्बुलेन्समा तीनवटा झोलाभित्र छ वटा पोकामा गाँजासहित चालक ईशनाथ नपा डुमरियाका ३९ वर्षीय महम्मद खलिद, सोही ठाँउका १९ वर्षीय अशोक कुमार र भारत बिहारको मोतिहारी जिल्ला बसन्तपुरका २२ वर्षीय विनोद सहनीलाई प्रहरीने नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका भारतिय नागरीक विनोद सहनीको बयानको आधारमा अदालतले मेयर मेहता र उनका भाइ मोहनलाई उपस्थित गराउन जिल्ला अदालत मकवानपुरले आदेशअनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरले आदेश दिएको प्रहरी निरिक्षक ललन राउत कुर्मीले बताएका छन् । मकवानपुर अदालतको आदेश अनुसार प्राप्त पत्र अनुसार दुवै जनाको खोजी भइरहेको रौतहट प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए ।

उता अभियुक्त पक्राउ हुनु अघिनै पक्राउपुर्जी सार्वजनिक भएपछि हाल जिल्ला प्रहरी कार्यालय रौतहटमा आरोप प्रत्यारोप सुरु भएको छ । रौतहट प्रहरी प्रमुख एसपी रविराज खडका मङ्गलवार बिहान १० बजे नै आफू प्रदेश २ को बैठकमा सहभागी हुन जनकपुरतिर लागेका थिए । ‘त्यहीबेला जिल्ला प्रहरीकै कसैले पक्राउपुर्जी सार्वजनिक गरेको हुनुपर्छ । हामी गहनरुपमा छानबिन सुरु गरेका छौँ । गलत गर्नेमा माथि कडा कार्यवाही हुन्छ,’ एसपी खडकाले प्रतिबद्धता जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप