शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाले इरानमाथिको प्रतिबन्ध थप लम्ब्यायो

मङ्गलबार, १८ चैत २०७६, २२ : ३३
मङ्गलबार, १८ चैत २०७६

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले इरानको आणविक कार्यक्रममाथिका चार प्रतिबन्धलाई थप ६० दिनका लागि नवीकरण गर्ने घोषणा गरेको छ । स्थानीय समयअनुसार सोमबार भएको निर्णयमा तेहरानलाई आणविक हतियार निर्माण गर्न सहज नहोस् भन्ने उद्देश्यले प्रतिबन्धलाई थप लम्बाइएको उल्लेख छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मोर्गान अर्टागसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राज्य अमेरिकाले इरानमाथि आणविक हतियार निर्माण नियन्त्रणका लागि थप ६० दिन विभिन्न चार प्रकारका प्रतिबन्धलाई निरन्तरता दिने भएको छ । हामीले इरानको आणविक कार्यक्रम विकासलाई निकटमा रहेर हेरेका छौँ । यो नियन्त्रण कुनै पनि समयमा थपघट हुनसक्छ ।’ उनले भने, ‘प्रतिबन्ध इरानद्वारा आणविक कार्यक्रमलाई निरन्तरता दिएको आधारमा बढाइएको हो, ‘जुन अमेरिकाका लागि अस्वीकार्य’ छ ।

सन् २०१५ मा तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामाको नेतृत्वमा विश्वका छ शक्तिराष्ट्रले इरानसँग गरेको सम्झौता अमेरिकाको हितमा नरहेको भन्दै सन् २०१८ को जुलाईमा वर्तमान् राष्ट्रपतिले यसबाट फिर्ता हुने घोषणा गरेका थिए ।

सम्झौताबाट फिर्ताभएपछि इरानलाई अर्को सम्झौता गर्न दबाव दिन ट्रम्प प्रशासनले इरानविरूद्ध पहिलेभन्दा थप कडा प्रतिबन्ध लगाउँदै आएको छ । प्रतिबन्धका कारण इरानको अर्थतन्त्रमा व्यापक असर परेको छ । इरानले आणविक हतियार निर्माण गर्न रोक्ने उद्देश्यले अमेरिकाले प्रतिबन्धलाई कडा पारेको भएपनि सम्झौताका अन्य हस्ताक्षरकर्ता मुलुक चीन, रूस, जर्मनी, फ्रान्स र बेलायतले सम्झौताबाट फिर्ता नहुन अमेरिकालाई गरेको आग्रहलाई अमेरिकाले एकपक्षीय रूपमा पेलेर अघि बढेको हो ।

इरानमाथि लगाइएका मुख्य चार प्रतिबन्धपछि अब इरानले अराक हेवी वाटर रिसर्च रियाक्टर, बुसेहर आणविक कार्यक्रम, तेहरान रिसर्च रियाक्टर र अन्य आणविक कायक्रम बाहेकका गैर–प्रचारात्मक कामहरू गर्न पाउनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप