शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको कहर : मलेसिया र अन्य खाडी मुलुकहरूको कामदारसम्बन्धी आ-आफ्नै प्रावधान

मङ्गलबार, १८ चैत २०७६, २१ : ५०
मङ्गलबार, १८ चैत २०७६

 युएई । युएई सरकारले कोरोना भाइरसको कारण व्यवसायमा क्षति पुगेको भए कामदारलाई बेतलबी बिदा दिन सक्ने र  कामदार नै कटौती गर्न सक्ने नयाँ नियम ल्याएको छ।
कोरोना भाइरस संक्रमणलाई रोक्न चालिएको कदमबाट निजी क्षेत्रमा ठूलो असर परेको भन्दै यूएईको मानव संशाधनमन्त्रालयले  रोजगारदाताहरुलाई यस्तो अधिकार प्रदान गरेको हो । 

नेपालीहरुको रोजगारीको प्रमुख गन्तव्य स्थालको रुपमा मानिएको युएईमा यहाँको मानव संशाधन मन्त्रालयले गरेको यो पछिल्लो निर्णयले युएईमा कार्यरत लाखौं नेपाली कामदार मारमा पर्न सक्ने देखिएको छ । 

कोरोनाका कारण संसारभरको अर्थव्यवस्था ओरालो लागिरहेको बेला युएईले गरेको यो निर्णयले निजी क्षेत्रका लगानीकर्तालाई केही राहत मिले पनि युएईमा कार्यरत नेपालीसहित अरु देशका श्रमिकलाई भने समस्या हुने देखिएको हो ।

युएईले यसबेला श्रमिक कटौती गर्ने र  सम्बन्धित कम्पनीले चाहेमा उनीहरुलाई काम नभएको समय अवधि तलब नै नदिन समेत पाउनेछ । रोजगारदाताले कामदारलाई कुनै सुविधा नदिने निर्णय गरिदिएमा नेपाली कामदार यहाँ बसिरहन सक्ने स्थिति हुने छैन।  उक्त निर्णयले गर्दा धेरैले रोजिरोटी गुमाउन सक्ने स्थिति आउनेछ। 

यसो भएमा नेपाली कामदारहरु ठूलो समस्यामा पर्ने देखिन्छ। यस्तोमा अबस्थामा ठूलो संख्यामा नेपालीहरु बेरोजगार भएर स्वदेश फर्किने स्थिति आउने निश्चित छ। 

कोरोना सङ्क्रमणका कारण यो समाचार तयार पार्दा  सम्म ६ यूएईमा  जनाको ज्यान गएको छ । कोरना सङ्क्रमितको सङ्ख्या ६ सय ६४ पुगेको छ,भने ६१ जना निको भएका छन् । आज सहित ८ नेपाली संक्रमित मध्ये २ जनाले स्वास्थ्य लाभ गरिसकेका छन् भने ६ जना आइसोलेसनमा उपचार भैरहेको छ।

युएई सरकारले गत मार्च १ तारिख भन्दा पछि आवासीय भिसा अवधि सकिएर आफ्नो देश फर्कन नपाएका वा अर्को भिसा नलागेकाहरुको हकमा ३ महिना भिसा अवधि थप गरेको छ।

तर यस्तो बेला मलेसिया र कतारले भने आफ्नो देशमा सबै श्रमिकलाई क्वारेन्टाइनमा बस्दा पनि आधारभूत तलब र भत्ता दिने भएका छन् ।

कोरोना भाइसरको कारण सेल्फ क्वारेन्टाइनमा बस्दा, वा उपचारमा रहँदा पनि कतारले सबै श्रमिकलाई आधारभूत तलब र भत्ता दिने उल्लेख गरेको दोहा स्थित  नेपाली दूतावासले जनाएको छ ।कतार सकारको निर्णय अनुसार कोरनाका कारण  बन्द भएका कम्पनीहरूमा कार्यरत श्रमिकहरूले तलब आधारभूत सेवा (खाने,बस्ने) भत्ता पाउने छन् 

यस्तो तलब भत्ता सबै श्रमिकले पाउनेछन्। यो अबस्थामा रोजगारदाता लाई श्रमिकको करार रद्द गर्ने अधिकार हुनेछ। तर करार रद्द गर्दा रद्द गर्नुपूर्व करार बमोजिम सूचना दिने र पाउनुपर्ने बाँकी हिसाब र घर फर्कनका लागि हवाई टिकट दिनुपर्छ । देश बाहिर रहेका र काममा फर्कन नसक्ने अवस्था नभएका श्रमिकले रोजगदारदातासँग छलफल गर्नुपर्छ । कतारको श्रम कानुन र सम्झौताको पूर्ण रूपमा पालना गर्नुपर्ने हुन्छ।

घर बिदामा गएर कतार फर्कन नपाएका श्रमिकले पनि आफूसँग कम्पनीले गरेको करारपत्रमा कुनै पनि परिवर्तन अस्वीकार गर्न सक्ने कतार सरकारले व्यवस्था गरेको छ । 

करार पत्र रद्द गर्नुपरेको खण्डमा रोजगारदाता र श्रमिक दुवै पक्षले कतारको श्रम कानुन र करारपत्रको पूर्ण पालना गर्नुपर्ने हुन्छ ।

सोमबारसम्म कतारमा ५९ नयाँ केस सहित  ६९३ जना कोरना संक्रमित देखिएका छन्।  भने ५१ जना निको भएका र १ जनाको कोरना भाइरसका कारण मृत्यु भएको छ।

मलेसियाले पनि कोरोनाका कारण क्वारेन्टाइनमा बस्ने श्रमिकलाई समेत न्यूनतम तलब र सुविधा दिने उल्लेख गरेको मलेसियामा रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।

मलेसियास्थित नेपाली दूतावासले सबै श्रमिकलाई यो जटिल परिस्थितीमा न्यूनतम पारिश्रमिक दिने भन्दै ढुक्क रहन आग्रह गरेको हो । 

मलेसियाले कोरोना रोकथामका लागि १४ अप्रिलसम्म लकडाउन गरेको छ।सार्वजनिक यातायातदेखि अत्यावश्यक बाहेकका बजारहरु बन्द छन् ।
कम्पनीमा काम बन्द हुँदा मलेसियामा अहिले कतिपय श्रमिकहरू क्वारेन्टाइनमा  छन् ।भने कतिले काम गरिरहेका छन् ।

मलेसियामा आजसम्म १ सय चालिस नयाँ केस सँगै २ हजार ७ सय छैसठ्ठी संक्रमित रहेका छन्।भने पाँच सय सैतिस जना निको भएका छन्। त्रिचालीस जनाको कोरना भाइरसको कारण मृत्यु भएको छ।
 
यता साउदी अरबले कोरोना भाइरसबाट संक्रमित विदेशी कामदारको पनि नि:शुल्क उपचार गर्न बताएको छ।

साउदीका स्वास्थ्य मन्त्री तवाफिक विन फवाजान अल रविआहले पत्रकार सम्मेलन गर्दै साउदी राजा सलमान द्वारा जारी गरिएको आदेशबारे जानकारी दिएका थिए।

सलमानले कोरोना भाइरसबाट संक्रमित भएका स्थानीय नागरिक सहित विदेशी कामदारको निःशुल्क उपचार गर्न आदेश दिएका हुन् ।  

साउदी अरबले सबैखालका कामदारका लागि समान नीति अनुसार सरकारी तथा निजी अस्पतालतबाट कोरोना संक्रमितको उपचार निःशुल्क हुने बताएको छ ।  उक्त निर्णयले गैरकानुनी रूपमा बसेका कामदारले समेत उपचार पाउने  भएका छन्।
 
आज  थप ११० जना नयाँ संक्रमित सहित साउदी अरबमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ हजार ५ सय ६३ पुगेको छ । संक्रमित मध्ये १सय ६५ जना निको भएका छन् भने १० जनाको मृत्यु भएको छ ।

साउदी अरबमा अहिलेसम्म नेपाली कामदारलाई कोरना संक्रमण देखिएको छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप