शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नयाँ दिल्लीस्थित मस्जिदमा आयोजित कार्यक्रममा सहभागी ७ को मृत्यु, २४ संक्रमित

भारतीय मिडिया भन्छ, नेपाली पनि सहभागी थिए
मङ्गलबार, १८ चैत २०७६, १८ : ५७
मङ्गलबार, १८ चैत २०७६

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरस संक्रमणको एउटा डरलाग्दो धरातल प्रकाशमा आएको छ । दिल्लीस्थित मुस्लिम संस्था तबलीगी जमातको मुख्यालय रहेको निजामुद्दिनमा मार्चको दोस्रो हप्ता आयोजित एउटा धार्मिक कार्यक्रममा सहभागीमध्ये २४ जनामा कोरोनाभाइरसको संक्रमण पाइएको हो । सो सभामा भाग लिएर फर्किएका ६ जनाको तेलंगानामा मृत्यु भएको छ । त्यस्तै, अन्य राज्यमा गरेर उक्त सभामा भाग लिएका ७ जनाको मृत्यु भइसकेको भारतीय मिडिया एनडीटीभीले बताएको छ ।

जबकि केन्द्र सरकारले यसै महिनाको सुरुदेखि नै सार्वजनिक सभा–समारोह, धार्मिक कार्यक्रम, सामाजिक तथा सांस्कृतिक उत्सवका अतिरिक्त ५० जनाभन्दा बढी मानिस एक स्थानमा भेला हुन नपाउने गरी आदेश जारी गरेको थियो ।

भारतको केन्द्र सरकारले ‘लकडाउन’ घोषणा गरे पनि त्यसअघि नै निजामुद्दिनमा सहभागी हुन भारतका विभिन्न स्थान तथा विदेशबाटसमेत आएका कयौं मानिस अचानक भएको लकडाउनले घर फर्कन नसकि सोही धार्मिक स्थलमै बसेका थिए । उक्त संस्थाको विभिन्न १ सय ४० मुलुकमा सम्पर्क केन्द्र रहेको बताइन्छ ।

दिल्लीमा आयोजित धार्मिक कार्यक्रममा सहभागी हुनेमा नेपाली समेत रहेको बताइन्छ । उनीहरुको पहिचान र अवस्था खुल्न सकेको छैन । दुई हजारभन्दा बढी संख्यामा सहभागी भए पनि आधाजसो मानिस ‘लकडाउन’ कै पूर्वसन्ध्यामा फर्किएका र आधाजसो मानिस त्यहीँ बसेको बताइन्छ ।

दिल्ली प्रहरीले लकडाउनका बाबजुद ठूलो संख्यामा मानिस एकै ठाउँ बसेको सूचना पाएपछि हस्तक्षेप गरी उनीहरुलाई स्वास्थ्य परीक्षण गराएको हो । यस क्रममा २४ जनामा कोरोना संक्रमण पाइएको अधिकारीहरुले जनाएका छन् ।

करिब दुई हजार भक्तजन सहभागी भए पनि केही लकडाउन कै पूर्व सन्ध्यामा फर्किएको र करिब एक हजारजति घर फर्कन नसकी सोही स्थानमा बस्दै आएको फेला परेको दिल्ली प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार उक्त स्थानमा फेला परेका ७ सय सर्वसाधारणलाई क्वारेन्टाइनमा राखिएको छ भने ३ सय ३५ जनालाई अस्पतालमा निगरानीमा राखिएको छ ।

यसैबीच तेलङ्गाना राज्य सरकारका अनुसार उक्त प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु भएका ६ जना पनि सोही धार्मिक कार्यक्रममा सहभागी भएर फर्किएको तथ्य प्रकाशमा आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप