बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जसलाई भोकको चिन्ताले सताउँछ

मङ्गलबार, १८ चैत २०७६, १७ : ४७
मङ्गलबार, १८ चैत २०७६

यतिबेला देशमा लकडाउन छ । लकडाउनसँगै दैनिक परिश्रम गरेर जिन्दगी चलाउनेहरुको चुलो निभ्न आँटेको छ । अहिले ती श्रमजीवी र भूमिहीनहरुलाई कोरोनाको चिन्ताले भन्दा ज्यादा भोकको चिन्ताले सताउन थालेको छ । स्कुल बिदा छ, बालबच्चालाई भातको मात्र होइन खाजाको पनि जोहो गर्नुपर्ने दुःख छ । यतिबेला न रामघाटमा बालुवा चालेर गुजारा चलाउन सकिन्छ न त कसैको घर ढलानमा गएर पैसा कमाउन सकिन्छ । जब बोरामा राखेको चामल पिँधमा पुग्छ । अनि मनभरि कालो बादल मडारिन थाल्छ ।

कतिपयलाई लकडाउन बिदाजस्तो भएको छ तर दिनभर दुःख गरेर छाक टार्नेहरुलाई गलपासो भएको छ । विगत पच्चीस वर्षदेखि सेतीमा बालुवा चालेर जीविका गुरारी रहेका सेते नेपालीलाई यतिबेला लकडाउनको पीडाले भन्दा भोकको पीडाले बढी गिजोलिरहेको छ । सेते भन्छन्– ‘दिनभर बालुवा चालेको खर्चले घर चलाउँथेँ । अहिले बालुवा चाल्न पनि जान पाएको छैन । चामल भरेलाई मात्र छ । कहिले तरकारीमा झोल हालेर खाएका छौँ । कहिले दालसँग मात्र छाक टारेका छौँ । तेल सकिएको पनि आज दुई दिन भयो । अब भने भरैको चिन्ताले सताउन थालेको छ । सरकारले हामीजस्ता दीनदुखीलाई सहयोग गर्ने भनेको छ रे । दियो भने त हामीलाई ठूलो राहत हुन्थ्यो ।’

लकडाउनको कर्राले हानेर थला परेका सेते नेपालीजस्तै हजारौँको सङ्ख्यामा रहेका छन् । उनीहरुको आशा र भरोसा भनेको अब सरकारले दिने राहत मात्र बाँकी छ । म्याग्दी घर भएकी रूपा विक विगत सात वर्षदेखि पोखरामा ज्यालादारी मजदुरी गर्दै आएकी छिन् । सरकारले लकडाउन गरेदेखि उनी घरमा नै थुनिएर बसेकी छन् । उनी भन्छन्– ‘हामी त बिहान कमाएर बेलुका खाने मान्छे हौँ । यतिका समयसम्म काम गर्न नपाउँदा हामी साह्रै पीडित भएका छौँ । हामी त जसोतसो एक दुई रात खान नपाए पनि बाँच्न सकिएका बालबच्चाको बिजोग हुने भो । वडाले हिजो नाम टिपेर लगेको छ । अब चिन्ता अलि घट्छ कि ?’ उनी पोखरा–१३ मा कोठा भाडा गरेर बस्छिन् । 

पोखरा महानगरपालिका वडा नं. १३ ले दैनिक जीविका चलाएर जीवनयापन चलाउनेहरुको लागि राहत सामग्री वितरण गर्दै आएको छ । वडा नं. १३ का वडा अध्यक्ष दर्शन लामाले आफ्नो वडामा कोही पनि पसिना बगाएर बाँच्ने मान्छे भोक भोकै नमर्ने बताए ।

दर्शन लामा वडा कार्यालयमा हामी पुग्दा चामल, दाल, नुन, तेल र स्वायबिनको प्याक बनाउँदै बसेका थिए । लामा भन्छन्– ‘हामीले आजसम्म सयभन्दा बढी परिवारलाई राहत सामग्री वितरण गरिसकेका छौँ । सुरुको चरणमा दीर्घरोग रहेका बूढाबूढीलाई राहत दियौँ । आज थप केही दैनिक गुजारा गर्नेहरुको परिवारमा राहत सामान पुग्नेछ ।’ वडाले आफ्नै सक्रियतामा राहतको कोष स्थापना गरेर गरिबहरुका लागि राहत उपलब्ध गराउन लागेको बताउँदै लामा भन्छन्– ‘हामीले स्थानीय स्तरबाटै वडामा एक लाख पचास हजारको कोष खडा गरेर राहत वितरणको काम गरिरहेका छौँ । अहिले महानगरले पनि राहत दिने घोषणा गरेको छ । त्यसका लागि हामीले टोल सुधार समितिसँग समन्वय गरेर नामावली मगाएका छौँ । फाइनल भएका नामावली भएको ठाउँमा हामी आफै सामान लिएर जानेछौँ । त्यसो गर्दा जनतालाई भीडभाड गरिरहनुपर्ने अवस्था आउँदैन ।’

वडा अध्यक्ष आफैँ गाडीमा राहत सामग्री हालेर ज्यालादारी मजदुरी गर्नेकामा सामान पु¥याउन पुग्छ । वडा अध्यक्ष लामा सहितको टोली राहत सामग्री बोकेर रूपा विकको घर पग्यौँ । रुपा विकको परिवारमा छ जना छन् । वडा अध्यक्ष राहत सामग्री घरमा आउँदा रुपाको अनुहारमा खुशिहरु संचारित भएको देख्न सकिन्थ्यो । राहत सामग्री पाएपछि खुसीको आँशु झार्दै उनी भन्छिन्– ‘अहिले बल्ल हामीलाई सरकार छ जस्तो लागेको छ । हामीजस्ता धेरै मान्छे बिहान कमाएर बेलुका खाने धेरै छन् । तिनीहरुलाई पनि सरकारले राहत प्रदान गरोस् ।’

राहत वितरणपछि हामीसँग कुराकानी गर्दै वडा अध्यक्ष लामा भन्छन्– ‘केही खराब नियत भएका मान्छेले पनि यो राहतको कार्यक्रमलाई अवसरका रूपमा लिएका लिएका छन् । तिनीहरुको पहिचान गरेर साँचो अर्थको दीनदुखीकोमा सरकारी राहत पु¥याउनु हाम्रो दायित्व हो । अहिलेसम्म आठ सय जनाको नामावली सङ्कलन गरिएको छ । त्यसमा केही काटछाँट गर्नुपर्ने छ । त्यो नामावली परिमार्जन गरेर हामी जतिसक्दो छिटो राहतलाई दीनदुखीका घरघर पु¥याउन लागिरहेका छौँ । सबैको सहयोगका कारण गरिब र ज्यालादारी मजदुरी गरेर जिन्दगी गुजार्नेहरुको चुलामा आगो निभ्न दिँदैनौँ । यस वडामा रहेका कोही पनि खान नपाएर भोकभोकै मर्नुपर्दैन । हामी उहाँहरुको दैनिक गुजाराको जिम्मा वडाले लिन्छ ।’

हामी वडा नं. १३ वाट वडा नं. ४ मा पुगेका थियौँ  । वडा कार्यालय पुग्दा वडा अध्यक्ष शङ्कर बाँस्तोला टोल विकास समितिहरुले पठाएको नामावली रुजु गरिरहेका थिए । पोखराको ४ नम्बर वडा धेरै भूमिहीन र मजदुर बस्ने वडाका रूपमा चिनिदै आएको छ ।

राहतबारे  वडा अध्यक्ष शङ्कर बाँस्तोला भन्छन्, ‘हामीले आफैले स्थानीय व्यापारीसँग समन्वय गरेर केही खाद्यान्न सामग्रीहरु जोहो गरेर त्यसको बाडफाँट गरिरहेका छौँ । अहिले तत्काल नै आवश्यक रहेका परिवारहरुको लिस्ट उतारेका छौँ । बेलुकासम्म ती मजदुर र गरिबहरुको घरघरमा राहत सामग्री लिएर हामी आफै पुग्ने छौँ । महानगरले पनि राहत घोषणा गरेको सुनेका छौँ । हामीलाई प्राप्त भएका लिस्टहरुमा धेरै मजदुर, गरिब र सुकुम्बासी नै छन् । केही राहतको आवश्यकता नभएका मान्छेले नि भरेका छन् ।’     
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सौगात पोखरेल
सौगात पोखरेल
लेखकबाट थप