बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनको मौका छोपेर धमाधम युट्युवमा फिल्मको व्यापार

मङ्गलबार, १८ चैत २०७६, १४ : ३२
मङ्गलबार, १८ चैत २०७६

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को त्रास अहिले सर्वत्र छ । भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ सरकारको चैत ११ देखि लकडाउनको घोषणा गरेपछि सबैक्षेत्र अस्तव्यस्त बनेको छ । 

यसको असरबाट नेपाली फिल्म क्षेत्र पनि अछुतो छैन । सरकारको लकडाउनपछि फिल्मी गतिविधि ठप्प छन् ।  फिल्म छायाँकन, प्रदर्शनलगायत सबै फिल्मी गतिविधि ठप्प भएका हुन् । 

यस्तो अवस्थामा नेपाली फिल्मको डिजिटल व्यवसाय भने चम्किएको छ । लकडाउनमा सबै घरभित्रै रहने र समय बिताउन प्लेटफर्म प्रयोग गर्ने भएकाले डिजिटल प्लेटफर्मका व्यवसाय चम्किएका हो ।  

डिजिटल प्लेटफर्म मार्फत फिल्मको कारोबार गर्दै आएका विभिन्न कम्पनीले अहिले लकडाउनमा घरमा बसेकालाई समय बिताउन सजिलो हुने बहानमा विभिन्न नयाँ फिल्म युट्युवलगायत प्लेटफर्म मार्फत सार्वजनिक गर्दै त्यसको फाइदा उठाइरहेका छन् । 

यसरी सार्वजनिक भएका फिल्मले अहिले दर्शक समेत राम्रो पाउने गरेका छन् ।

को–को गर्दछन् डिजिटल कारोबार
पछिल्लो समय युट्युव लगायत डिजिटल प्लेटर्फमा फिल्मको कारोबार गर्नेमा मुख्यतः आधा दर्जन जति कम्पनी छन् । तीमध्ये पनि बुढासुब्बा डिजिटल, हाइलाइट नेपाल र ओएसआर डिजिटल प्रमुख हुन् । यी तीन कम्पनीले धेरै फिल्मका कारोबार गर्दछन् । 

यस बाहेक साइराम पिक्चर्स र हाइटेक जस्ता केही कम्पनी पनि फाट्ट फुट्ट फिल्म कारोबारमा देखिँदै आएका छन् ।

लकडाउनकै मौका छोपी बुढासुब्बा डिजिटल, हाइलाइट नेपाल र ओएसआर डिजिटलले नयाँ फिल्म युट्युव लगायतका डिजिटल प्लेटर्फ मार्फत बाहिर ल्याएर व्यवसाय गरिरहेका छन् । यी नै कम्पनीले आफ्ना फिल्म डिस होम र नेट टिभी लगायत मार्फत पनि व्यवसाय गरिरेहका छन् ।

तर उनीहरुको नारा व्यवसायिक नभएर समाजसेवी हुने गरेको छ । उनीहरुले लकडाउनमा घरमा रहेकालाई समय बिताउन सजिलो होस् भनेर फिल्म सार्वजनिक गरेको नारा बनाउने गरेका छन् ।

बुढासुब्बाका धेरै फिल्म 
बुढासुब्बाले अहिले युट्युव मार्फत फिल्म ‘पोइ पर्यो काले’ सार्वजनिक गरेको छ । पुजा शर्मा सौगात मल्ल र आकाश श्रेष्ठ अभिनितयो फिल्म केही महिना पहिले मात्र सार्वजनिक प्रदर्शनमा आएको थियो ।
लकडाउनमा घरमा बस्नेका लागि समय बिताउन सजिलो होस् भन्ने उदेश्यले बुढासुब्बाले यो फिल्म युट्युव लगायत प्लेटफर्ममा सार्वजनिक गरेको हो । 

यसको अलवा बुढासुब्बाले डिसहोमको ‘मूभि एण्ड डिमान्ड’ भन्ने च्यानलमा गत फागुुनबाट प्रदर्शनमा आएको फिल्म ‘आमा’ समेत राखेर कारोबार गरिरहेको छ ।

यस्तै बुढासुब्बाले नेट टिभीको ‘भिडियो अन डिमान्ड’ भन्नेमा समेत फिल्म राखेको छ । यो प्लेटफर्ममा ‘लभ डायरी’, ‘पोइ पर्यो काले’, ‘ए मेरो हजुर ३’, ‘लभ यु हमेसा’ लगायतका ५ फिल्म राखेको बुढासुब्बाले जानकारी दियो ।

लकडाउनमा घरमै क्वारेन्टाइममा बसेकाहरुका लागि समय बिताउन सजिलो हुन्छ भनेर कम्पनीले फिल्म सार्वजनिक गरेको बुढासुब्बा डिजिटलका म्यानेजर विश्व खड्काले बताए । ‘युट्युवमा साउथ र हिन्दी फिल्म मात्र कति हेर्नु’ उनले भने ‘ नयाँ नेपाली फिल्म पनि हेर्न पाउनु पर्यो नि ।’

व्यवसाय होइन, सेवा हो 
बुढासुब्बापछि अहिले डिजिटल प्लेटफर्ममा धेरै फिल्म ल्याउने ओएसआर डिजिटल पनि हो । ओएसआरले अहिले केही समयको अन्तरालमा दुई फिल्म युट्युवमा ल्याएको छ ।

अघिल्लो साता ‘प्रेम दिवस’ फिल्म युट्युवमा ल्याएको ओएसआरले अहिले फेरि ‘अनुराग’ फिल्म सार्वजनिक गरेको छ । 

लकडाउनमा सबै मानिस घरमा रहेको समय पारेर युट्युवमा नयाँ फिल्म सार्वजनिक गरेको ओएसआर डिजिटलका ओम अग्रवालले बताए । व्यवसायका लागि भन्दापनि सर्वसाधारको सुविधाका लागि फिल्म सार्वजनिक गरेको अग्रवाल बताउँछन् । 

‘अहिले युट्युवले ८० प्रतिशत आम्दानी रकम घटाएको छ’ अग्रवालले भने ‘यस्तो समयमा फिल्म सार्वजनिक गर्ने मन त  थिएन । तर लकडाउनमा घरमा रहेकालाई समय बिताउन सजिलो होस् भनेर नयाँ फिल्म सार्वजनिक गरिएको हो ।’

अहिलेको समय युट्युवमा फिल्म व्यवसायिक भन्दापनि सेवामुलक उद्देश्यले रिलिज गरिएकोअग्रवालको दावी छ ।
  
हाइलाइटको ‘पन्चेबाजा’ 
फिल्मको डिजिटल कारोबार गर्दै आएको हाइलाइट नेपालले भने यो लकडाउनको समय एकमात्र फिल्म ‘पन्चेबाजा’ सार्वजनिक गरेको छ ।

पछिल्लो समय सबैभन्दा बढी फिल्मको डिजिटलाइट किन्ने हाइलाइटले करिब एक वर्ष अगाडि प्रदर्शनमा आएको अभिनेता सौगात मल्ल अभिनित ‘पन्चेबाजा’ गरेको हो । 

यो फिल्मले सार्वजनिक प्रदर्शनबाट व्यवसायिक लाभ उठाउन नसकेपनि समीक्षकको भने मन जितेको थियो । हाइलाइटले केही समयपछि ‘बोबी’ फिल्म समेत ल्याउँदैछ ।

लकडाउनमा घरमा बस्नेका लागि समय बिताउन सजिलो होस् भनेर आफुले युट्युवमा फिल्म ‘पन्चेबाजा’ राखेको हाइलाइट नेपालमा जनक तामाङले बताए । 

डिस होममा धेरै फिल्म
धेरै फिल्म हेर्न मिल्ने डिजिटल प्लेटफर्म मध्य डिस होम पनि एक हो । डिसहोमले फिल्म पैसा तिरेर र नतिरी दुबै तरिकाले हेर्न मिल्ने गरेर ल्याएको छ । 

डिस होमको च्यानल नम्बर १०८मा पैसा तिरेर हेर्नका लागि अघिल्लो वर्ष प्रदर्शनमा आएको फिल्म ‘छक्का पन्जा ३’ राखिएको छ । यो फिल्म हेर्नका लागि प्रत्येक पटक २२५ तिर्नुपर्ने हुन्छ । 

त्यस्तै डिस होमले च्यानल नम्बर १०३ मा भने फ्रिमा फिल्महरु केही दिन अगाडिदेखि देखाउँदै आएको छ ।

डिसहोमले आजदेखि २९ गतेसम्म निःशुल्क सार्वजनिक गर्ने फिल्मको विवरण समेत सार्वजनिक गरेको छ ।

जसमा आज मंगलबार हैरान,  छक्का पन्जा २, झमक बहादुर,, १९ गते बुधबार सिन्दुर, गोपी, चौका दाउ, राहदानी, २० गते बिहीबार जेरी, गाजलु, क्याप्टेन, २१ शुक्रबार माया प्रेम, २२ गते शनिबार हामी तीन भाइ, अल्लारे, ट्रक ड्राइभर रहेका छन् । 

त्यस्तै २३ गते आइतबार निसानी, बिन्दावन, रुन्द्र, कीर्तिपुर, २४ गते सोमबार जेरी, ए सोल्टिनी, कलिउड, मत तिम्रो होनी, २५ गते मंगलबार भैरव, जयश्री दाम, अमेरिकन ब्वाइज र कर्कस, २६ गते बुधबार मामाघर, अनुराग, जीवन लिला, पण्डित बाजेको लौरी, २७ गते बिहीबार ट्रक ड्राइभर, बसमा छैन यो मन, यो मायाको सागर, २८ गते शुक्रबार रानी र २९ गते शनिबार धुम, सुपरस्टार लगायत रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप