शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरस र यौनसम्बन्धः केही आवश्यक प्रश्नका जवाफ

मङ्गलबार, १८ चैत २०७६, १२ : ३०
मङ्गलबार, १८ चैत २०७६

सेलेस्टिना ओलुलोडे /बीबीसी

यदि मैले यौनसम्बन्ध स्थापित गरेँ भने मलाई कोरोना लाग्ला ? तपाईंको मनमा यो कुरा धेरै पटक आएको हुनसक्छ तर लज्जा वा डरका कारण सायद सोध्न सक्नुभएको छैन ।

तथ्यलाई भ्रमबाट अलग गर्नका लागि बीबीसीका संवाददाताले यस्ता प्रश्नलाई स्वास्थ्यविज्ञ सामू राखेका छन् ।

डाक्टर एलेक्स जर्ज एएण्डई डाक्टर हुन् र लभ आइल्याण्डका पूर्व कन्सलटेन्ट पनि हुन् । एलेक्स फक्स एक सेक्स जर्नलिस्ट हुन् र बीबीसी रेडियोकी कार्यक्रम प्रस्तोता पनि हुन् । साथै उनी द मोर्डन म्यान पोडकास्टकी सह–प्रस्तोता पनि हुन् । यी दुई विज्ञमार्फत् यौनसम्बन्ध र कोरोना भाइरससँग जोडिएका प्रश्नको जवाफ ।

कोरोना भाइरसको संक्रमणमा यौन सम्बन्ध राख्नु सुरक्षित छ ?

डा. एलेक्सः यदि तपाईं सम्बन्धमा हुनुहुन्छ र कसैसँग बसिरहनुभएको छ र एकै ठाउँमा बसिरहनुभएको छ भने यसले तपाईंको स्थितीमा परिवर्तन हुनु हुँदैन । यद्यपि, तपाईंमध्ये कोही एकमा कोरोनाको लक्षण देखिएको छ भने दुरी स्थापित गर्नुपर्छ र आफ्नै घरमा आइसोलेशनमा बस्नुपर्छ । एक आदर्श दुनियाँमा प्रत्येक व्यक्ति एक अर्कासँग एक–दुई मिटरको दुरीमा बस्नुपर्छ । आफ्नै घरभित्रै नै किन नहोस् । तर हामीलाई थाहा छ कि यस्तो गर्न सजिलो छैन ।

एलिक्स फक्सः

यदि तपाईंहरुमध्ये एकमा कोरोना भाइरसको हल्का लक्षण देखिएको छ भने तपाईंले पार्टनरसँग टाढै बस्ने कोसिस गर्नुपर्छ ।

नयाँ व्यक्तिसँग यौन सम्बन्ध स्थापित गर्न सुरक्षित छ ?

डा. एलेक्सः म निश्चित रुपमा यस्तो बेला नयाँ यौन साथी बनाउन सल्लाह दिन्नँ । यसमा तपाईंलाई कोरोना भाइरसको संक्रमण हुने खतरा बढी छ ।

एलिक्सः यो बिर्सनु हुन्नँ कि कतिपय कोरोना भाइरस संक्रमितमा केही लक्षण नै देखिँदैन । तपाईंले आफूलाई एकदम फिट महसुस गरिरहनु भएको छ भने पनि तपाईंले यसको संक्रमण दोस्रो व्यक्तिमा सार्नुभएको हुनसक्छ । नजिकको सम्पर्क र चुम्बन गर्दा यो भाइरस थप व्यक्तिमा पुग्न सक्छ ।

मैले हालै कसैलाई चुम्बन गरेको छु, उनलाई अब कोरोनाको लक्षण देखिएको छ । मैले अब के गर्नुपर्छ ?

डा. एलेक्सः यदि तपाईंले कसैलाई चुम्बन गर्नुभएको छ वा तपाईं यस्तो व्यक्तिको सम्पर्कमा आउनुभएको छ जसमा अब कोरोनाको लक्षण देखिएको छ भने तपाईंले आफूलाई आइसोलेट गर्नुपर्छ । आफ्नो लक्षणमाथि निगरानी राख्नुहोस् । यदि तपाईंमा पनि लक्षण देखिए सतर्क हुनुहोस् । यदि लक्षण गम्भीर भए तपाईंलाई स्वास्थ्य सहयोगको आवश्यकता छ ।

एलिक्सः हामी एक–अर्काका लागि जिम्मेवार हुनुपर्छ । साथै हामीले हाम्रो सम्बन्धमा आफ्नो लागि पनि जिम्मेवार बन्नुपर्छ । यदि तपाईंमा लक्षण देखिएको छ र तपाईंले कसैलाई चुम्बन गर्नुभएको छ भने आफ्नो स्थितीबारे तपाईंले उनलाई जानकारी दिनुपर्छ । तपाईंले चुम्बन गरेको व्यक्तिमा अब लक्षण देखिएको छ भने आफूलाई सेल्फ–आइसोलेशनमा राख्नुहोस् ।

कोरोना भाइरस अघि म पार्टनरसँग कण्डम प्रयोग गर्दिनथेँ । के अब मैले यसको प्रयोग गर्न सुरु गर्नुपर्छ ?

एलिक्सः यसको जवाफ होः तपाईंले अहिलेसम्म कण्डम किन प्रयोग गरिरहनुभएको थिएन ?

यदि तपाईंहरु गर्भनिरोधका लागि अन्य तरिका प्रयोग गरिरहनुभएको छ भने त ठिक छ तर तपाईंले ‘पुल आउट’ जस्तो तरिकामाथि विश्वास गरेर कण्डम प्रयोग गरिरहनुभएको छैन भने तपाईंले कण्डम प्रयोग गर्न अत्यधिक आवश्यक छ ।

कसैको यौनाङ्ग छुँदा पनि कोरोना हुनसक्छ ?

डा. एलेक्सः यदि तपाईंले कसैको यौनाङ्ग छोइरहनु भएको छ भने तपाईंहरु चुम्बन पनि गरिरहनुभएको हुनसक्ने सम्भावना छ । र हामीलाई थाहा छ कि यो भाइरस –यालबाट पनि फैलन्छ । यो जोखिमयुक्त छ । यस्तोमा जुन पार्टनरसँग तपाईं बसिरहनुभएको छैन उनीसँग तपाईंले सम्पर्क राख्नुहुँदैन ।

अहिलेको स्थितीमा आफ्नो सम्बन्ध कसरी कायम राख्न सकिन्छ ? म अब सिंगल बस्दिनँ ।

एलिक्सः यो महामारीले मानिसहरुलाई उत्कृष्ट यौन जीवन के हो भनेर सोच्न बाध्य बनाएको छ । मैले सुनेकी छु कि मानिसहरु एकअर्कालाई रोमान्टिक कहानी लेखिरहेका छन् । जो मानिसहरु आइसोलेशनमा छन् र छुट्टा छुट्टै बसिरहेका छन् उनीहरुले यो दुरीको फाइदा पनि उठाइरहेका छन् । केही मानिसहरु निकै सृजनशीलसमेत भएका छन् ।

यदि तपाईं र तपाईंको पार्टनर एकै घरमा आइसोलेशनमा बसिरहनुभएको छ भने यसतबेला तपाईंले आफ्नो पार्टनरबारे धेरै कुरा बुझ्न सक्नुहुन्छ । एक–अर्कालाई मनपर्ने मननपर्ने कुरा बुझ्न सक्नुहुन्छ ।

यदि मलाई एचआइभी छ भने मलाई कोरोनाको कति खतरा छ ?

एलिक्सः टेरेन्स हिगिन्स ट्रस्टका डा. माइकल ब्रेन्डीले केही महत्वपूण सल्लाह दिएका छन् । यदि तपाईं एचआइभीका लागि औषधी खाइरहनुभएको छ र यदि तपाईंको सीडी४ काउन्ट राम्रो छ भने तपाईंलाई कमजोर प्रतिरोधी प्रणाली छ भन्न मिल्दैन । यसको अर्थ यो हो कि तपाईंलाई कोरोनाभाइरसको संक्रमण हुने थप आशंका भने छैन । यस्तोमा यदि तपाईं एचआइभी पोजिटिभ हुनुहुन्छ भने औषधी खाइरहनुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप