शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनमा जनतालाई पिट्ने सशस्त्र प्रहरीलाई होला त कारवाही ? (भिडियोसहित)

सोमबार, १७ चैत २०७६, १८ : ००
सोमबार, १७ चैत २०७६

काठमाडौं । सुरक्षाकर्मीहरुबाट सर्वसाधारणमाथि हुने अभद्र व्यवहार बेलाबेला विवादमा तानिन्छन् । सप्तरीमा भएको यस्तै एउटा प्रहरीको दुर्व्यवहारको भिडियो सार्वजनिक भएको छ । सप्तरीमा सशस्त्र प्रहरीले नेपाल–भारत बोर्डरमा दुई जना युवालाई कुटपिट गरेको भिडियो सार्वजनिक भएसँगै भाइरल हुन पुगेको छ  । 

सप्तरीको बलान विहुल गाउँपालिका वडा नम्बर ३ का हरिकृष्ण साह र रामकृष्ण यादवले आइतवार दिउँसो भारतबाट खाद्यान्न तथा औषधी ल्याउदै गर्दा सशस्त्र प्रहरीका जवानले बलान नदिमा कुटपीट गरेका थिए । 
नागरिकलाई कुटपिट गरेको दृश्य बाहिरिएपछि संलग्न जवानलाई कारवाही गर्नेे सशस्त्र प्रहरी गण सप्तरीका एसएसपी उद्धव न्यौपानेले प्रतिवद्धता जनाएपनि उनलाई कस्तो कारवाही हुन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।

न्यौपानेसहितका प्रहरीहरु आइतबारै कुटाइ खाने युवाको घर समेत पुगेका थिए । पीडितको घरमा पुगेका न्यौपानेले कुटपिट गर्ने प्रहरीलाई कारवाही गर्ने भन्दै घट्नालाई अनावश्यक नउछाल्न पीडित परिवारलाई आश्वसन समेत दिएका थिए ।

‘आवेगमा आएर घटना भएको हो, ती प्रहरी जवानको पहिला पनि गलत रिर्पोर्टहरु मकहाँ आएका छन् । काररवाही हुन्छ । घटनालाई तपाइहरले पनि अघि नबढाइदिनुस,’एसएसपी न्यौपानेले दिएको आश्वसन उधृत गर्दै हरिकृष्ण साहका दाई सन्तोष यादवले बताए । हरिकृष्णका अर्का दाजु पनि सुरक्षाकर्मी नै हुन् । 

कुटपिट गर्ने जवानलाई कार्यालयमा झिकाएर आवश्यक छानविन सुरु भएके एसएसपी न्यौपानेले रातोपाटीसँगको कुराकानीमा बताए । लकडाउनको मौकामा पटक पटक भारत गएर त्यसरी समान ल्याउने गरेको भन्दै उनले एउटै व्यक्तिले पटक पटक यसरी सामान ल्याउने कुरा पनि छानविनका विषय बनेको एसएसपी न्यौपानेको भनाई छ । तर जस्तोसुकै गल्ती गरेपनि त्यसरी कुट्न नहुने कुरामा भने आफु सहमत रहेको न्यौपानेको भनाई छ । 

उनका अनुसार भारतबाट ती दुई युवाबाहेक अरुले पनि समान ल्याइरहेका थिए । सशस्त्र प्रहरी जवानलाई देख्ने वित्तिकै अरु भागे पनि उनीहरु भने प्रहरीले के गर्न सक्छ भन्दै अपशब्द प्रयोग गर्न थालेपछि प्रहरी जवान रिसाएर कुटपिटमा उत्रिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसएसपी न्यौपानेको दावी छ । 

तर कुटाइ खाने हरिकृष्ण साहले एसएसपी न्यौपानेले भनेजस्तो आफूहरुले कुनै अपशब्द प्रयोग नगरेको र त्यो कुरा भिडियोबाट पनि थाहा पाउन सकिने बताए । उनले आफ्नी आमाका लागि डाइवीटिजको औषधी लिन भारत गएको फर्किदा घरका लागि थोरै चिनी र मसालाहरु किनेर ल्याएको दावी गरे । उनले प्रहरीसँग भेटभएपछि औषधी लिन गएको भन्दाभन्दै अन्धाधुन्ध कुटपिट गर्न थालेको गुनासो गरे ।

साहका अनुसार सशस्त्र प्रहरीहरु रक्सी खाएका थिए । उनीहरु कुनै कुरा सुन्ने पक्षमा थिएनन् । जे बोल्दा पनि कुट्न शुरु गर्थे । भिडियोबाट पनि प्रहरीको व्यवहार र हाउभाउ प्रष्ट बुझ्न सकिन्छ ।

गाउँपालिका अध्यक्ष दायानन्द गोइतले सशस्त्र प्रहरीले बेकसुर जनतालाई कुटपिट गरेर ठूलो गल्ती गरेको भन्दै कुटपीट गर्ने प्रहरीलाई कारवाही गर्नुपर्ने बताए । आफूहरुले सशस्त्र प्रहरीका एसएसपी न्यौपानेसँगको कुराकानीमा पनि कुटपिट गर्ने प्रहरीलाई कारवाही गर्ने प्रतिवद्धता जनाएको बताए । उनले कुटाइ खानेहरुको स्वास्थ्य उपचार भइरहेको र स्वास्थ्यमा सुधार आएको पनि जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप