बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरस संक्रमणविरुद्ध लड्न डा लोहनीको ९ बुँदे सुझाव

सोमबार, १७ चैत २०७६, १६ : ४८
सोमबार, १७ चैत २०७६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कोरोना भाइरस संक्रमणविरुद्ध लड्न नौं बुँदे सुझाव प्रस्तुत गरेका छन् ।

सांसद विकास कोषको रकम कोराना प्रकोप विरुद्धको लडाईमा उपयोग गर्न, भ्रष्टाचारीलाई कारवाही गरेर जनताको विश्वास जित्नलगायतका सुझाव उनले दिएका  छन् । यसैगरी राष्ट्रपतिदेखि मन्त्रीसम्मको तलबभत्ता २५ प्रतिशत कटौति गरी कोरोना महामारी विरुद्धको लडाईमा खर्च गर्न प्रस्ताव गरेका छन् ।

सरकारले जारी गरेको लकडाउन पक्षमा अध्यक्ष लोहनीले उभिएका छन् । यद्यपि सरकारले जनताको विश्वास जित्न सकेमात्र जनताको साथ पाउने यथार्थप्रति ध्यानाकर्षण गराएका छन् ।

डा. लोहनीले कारोना भाइरस प्रकोप समाधानका लागि नौ बुँदे सुझाव दिएका छन् । सुझावहरु यस्ता छन्—

१. सरकारको लकडाउनको निर्णय सफल पारौं । देशभित्र कोरोना भाइरस (कोभिड–१९) रोक्ने यही उपाय हो । यो दशसभित्र वढ्यो भने स्थिति अकल्पनीय हुनेछ । त्यसैले सरकारी निर्णय पूरा लागू गरौं ।

२. विदेशमा रहेका लाखौँ नेपालीबारे सरकारले ध्यान देओस् । उनीहरु नेपाल फर्कनु पर्ने बाध्यात्मक परिस्थिति आए उनीहरुको कसरी व्यबस्थापन गर्ने भन्नेबारे कार्यक्रम तयार गरियोस् ।

३. देशभित्र तथा सहरी क्षेत्रमा रहेका मजदूरहरु (ज्यालादारी, रिक्सा चालक, असंगठित क्षेत्रमा काम गर्ने) कामदारहरुका लागि कार्यक्रम तयार गरियोस् ।

४. कृषिसँग जोडिएका उद्योग र ब्यवसायहरु, जस्तै डेरी, कुखुरा उत्पादन, दाना उत्पादन, तरकारी उत्पादन आदिलाई कसरि बचाउने भन्ने बारे कार्यक्रम तयार गरियोस् ।

५. पर्यटन उद्योगलाई कमसेकम एक वर्षसम्म सहुलियत प्रदान गर्ने व्यवस्था गरियोस् ।

६. माननीय सांसदहरुलाई उपलब्ध सांसद विकास कोष बन्द गरी उक्त रकम अहिलको समस्या समाधानका लागि प्रयोग गरियोस् ।

७. रास्ट्रपति, प्रधानमन्त्री, माननीय सांसदहरु संवैधानिक अंगका सदस्य सबैको तलब तथा भत्ता २५ प्रतिशत कटौति गरी कोरोन भाइरससँगको लडाईमा खर्च गरियोस् ।

८. नीजि तथा सरकारी अस्पतालहरु, नेपाल मेडिकल काउन्सिल तथा स्वास्थ्य मन्त्रालयसमेत रहेको समिति बनाई औषधि उत्पादन, वितरण तथा कोरोनसँग लड्न विभिन्न अस्पतालको व्यबस्थापनबारे कार्यक्रम बनाएर लागू गरियोस् ।

९. यो लडाईमा सफल हुन सरकारले, भनेको कुरो गर्छ, जनतासँग झुटो बोल्दैन र भ्रष्टाचार गर्दैन भन्ने कुरामा जनता विश्वस्त हुनुपर्दछ । त्यसैले भ्रष्टाचारको चर्चा बाहिर आउँदा, के भएको हो तुरुन्त स्पष्ट पार्नुपर्छ । र, भ्रष्टाचारीलाई कारवाही गर्नुपर्दछ तब मात्र जनताले सरकारलाई साथ दिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप