बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाः राजविराजमा छर्किइयो कीटनाशक औषधि

सोमबार, १७ चैत २०७६, १५ : ५३
सोमबार, १७ चैत २०७६

सप्तरी । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण न्यूनीकरण गर्न सप्तरीको राजबिराज नगरपालिकाले विभिन्न वडाहरुमा किटनाशक औषधी छर्किएको छ । राजबिराज नगरपालिकाको प्रत्येक वडाका बजार क्षेत्रमा किटनाशक औषधी छर्किएको हो । बढी भीडभाड हुने स्थलमा किटनाशक औषधी छर्कन शुरु गरेको र यो अभियान निरन्तर सञ्चालन हुने नगरपालिकाले जनाएको छ । 

कोरोना भाइरसको सङ्क्रमणलाई नगर क्षेत्रभित्र फैलन नदिन किटनाशक औषधी छर्न शुरु गरिएको नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले बताए । अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन तथा सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन महानगरबासीसँग उनले आग्रह समेत गरे ।

जारी लक डाउनको पूर्ण पालना गर्न र कुनै पनि बहानामा अवज्ञा नगर्न प्रमुख यादवले नगरवासीसँग विशेष आग्रह गरे । सोडियम हाइड्रोक्लोरेडलाई पानीमा मिसाएर छर्किएकाले यसले लामखुट्टे लगायतका किटाणु मर्ने र रोगको सङ्क्रमण हुन नदिने नगरपालिकाले जनाएको छ ।

व्यवस्थित हाटबजार सञ्चालन 
लकडाउनका बेला भीडभाड घटाउन राजबिराजमा व्यवस्थित हाटबजार र अनलाइन पसल समेत सञ्चालनमा ल्याएको नगरप्रमुख यादवले जानकारी  दिए । अतिआवश्यक सामग्रीको खरिदबिक्री सहजताका लागि तरकारी हाट बजार व्यवस्थापन गरेको छ भने दुई वटा अनलाइन किराना पसल दैनिक उपभोग सामग्री पुर्याउन थालिएको जनाएको  छ ।

कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै राजबिराज नगरपालिकाले शनिबारदेखि राजरङ््गशाला र नगरपालिकाको विभिन्न ठाउँमा व्यवस्थित हाटबजार सञ्चालनमा ल्याएको छ । शनिबारदेखि प्रत्येक दिन बिहान ६ देखि ९ बजेसम्म सर्वसाधारणलाई उक्त हाटबजारबाट अत्यावश्यक खाद्यबस्तु र तरकारी किन्न व्यवस्था मिलाइएको बताइएको छ । 

नगरपालिका—७ स्थित गुद्री तरकारी हटियामा भिडभाड बाक्लो हुन थालेपछि नगरगरपालिकाले  राजबिराजको राजरङ्गशालामा व्यवस्थित हाटबजार सञ्चालनमा ल्याएको हो  ।  

कारागारबाट छाडियो कैदी

कोभिड–१९ को सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै राजविराजस्थित कारागारबाट चार कैदीबन्दीलाई छाडिएको  छ ।

जिल्ला अदालतको आदेश बमोजिम एक वर्षभन्दा कम समयको कैद सजाय पाएका चार कैदीबन्दीलाई छाडिएको राजविराज कारागारका जेलर सत्यनारायण यादवले जानकारी दिए । छाडिएकाहरु बहुबिवाह र कुटपिट मुद्दाका आरोपित हुन ।

कोरोनाको सम्भावित जोखिम न्यूनीकरणका लागि अदालतले एक वर्षभन्दा कम समयको कैद सजाय पाएका कैदीबन्दीलाई भुक्तान गर्न बाँकी रहेको समयबापतको रकम तिराएर छाड्न दिएको आदेशानुसार ती कैदीबन्दीलाई छाडिएको जेलर यादवले बताए । कूल १२५ जना क्षमता रहेको कारागारमा हाल एक बालक र १६ महिलासहित २३३ कैदीबन्दी छन् । 

विपद् व्यवस्थापन कोषमा रु ३५ लाख 
 कोरोना भाइरस सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि सप्तरीको बोदेबरसाईन नगरपालिकाले विपद् व्यवस्थापन कोषमा रु ३५ लाख रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ  । 

नगर कार्यपालिकाको बैठकले विपद् व्यवस्थापन कोषमा रु ३५ लाख रकम हस्तान्तरण गर्ने निर्णय गरेको हो । यसैगरी बैठकले नगरक्षेत्रभित्र सेनिटाइजर र सावुन वितरण, औषधी छर्कने र क्वारेनटाइन व्यवस्थापन गर्ने निर्णय समेत गरिएको स्थानीयवासी लोकेन्द्रप्रसाद यादवले जनाकारी दिए ।  

नगरपालिकाले विपद् व्यवस्थापन कोषको रकम अपुग भएको भन्दै भैपरी कोष शीर्षकबाट रु १५ लाख र समपूरक कोषबाट  रु २० लाख गरी कूल रु ३५ लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमा हस्तान्तरण गरी खर्च गर्ने निर्णय गरेको वडा नं। ३ का वडा अध्यक्ष अनोजकुमार यादवले जानकारी दिए ।

स्वास्थ्यकर्मीलाई दैनिक पाँच सय प्रोत्साहन भत्ता 

बैठकले नगरपालिकाका क्वारेन्टाइनमा खटिने स्वास्थ्यकर्मीलाई दैनिक रु ५ सयका दरले प्रोत्साहन भत्ता दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप