शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कतार एयरलाइन्सबाट फर्केका एक यात्रुले भोगेको पीडा : भन्छन्, ‘सरकार गैरजिम्मेवार छ’

सोमबार, १७ चैत २०७६, १४ : २५
सोमबार, १७ चैत २०७६

–ओमप्रकाश साफी

कोरोनाभाइरसका कारण सरकारले अहिले देशव्यापी लकडाउन गरेको छ । थप आठ दिन लकडाउन लम्ब्याउने निर्णय सरकारले गरिसकेको छ । नेपालमा हालसम्म कोरोनाभाइरसका संक्रमित पाँचजना फेला परेका छन् । संयोग नै मान्नुपर्छ, ती सबै विदेशबाट आएका हुन् । त्यसैले पनि वैदेशिक रोजगारबाट आएका व्यक्तिमाथि सरकारले अहिले निगरानी बढाएको छ ।

म पनि चैत ४ गते कतार एयरलाइन्सको विमानमार्फत कतारबाट नेपाल आएँ । नेपालको एयरपोर्टमा स्वास्थ्य चेकजाँच गर्यो । स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि त्यहाँबाट छाड्यो, अनि म गाडी चढेर घर फर्केँ । घर फर्केपछि परिवारसँग घुलमिल भएँ । परिवारमा खुशियाली छायो । म आफ्नो दैनिकीमा लागेँ ।

चैत ११ गते अचानक मेरो जीउ दुख्यो । ज्वरो आएको जस्तो अनुभव भयो । म स्थानीय क्लिनिकमा गएँ । ज्वरो जचाएँ । १०० भन्दा बढी ज्वरो थियो । कतारबाट आएको थाहा पाउने बित्तिकै त्यहाँको डाक्टर (उपेन्द्र यादव) ले मलाई जाँचका लागि जनकपुर पठाइदिनुभयो । ‘मलाई केही छैन, घरमा कामहरु गरेको कारण अलिअलि थकाई लागेको हो, म जनकपुर जचाउन जान्नँ’ भन्दाभन्दै प्रहरी बोलाएर उहाँले मलाई जनकपुर पठाउनुभयो ।

मसँग कसैलाई जान पनि दिनुभएन । न पैसा बोकेँ, न मोबाइल लिन पाएँ । मेरो साथमा केही थिएन । मलाई जनकपुरको रमदहिया जानकी मेडिकलमा लगियो । चैत ४ गते कतारबाट आएको हो भन्ने थाहा पाएपछि मलाई त्यहाँ भर्ना नलिई सिधै प्रादेशिक अस्पतालमा पठाईदियो । तर कतारबाट आएकै कारण सो अस्पतालले पनि भर्ना लिएन र काठमाडौं लैजान भन्यो ।

अब काठमाडौँ जानलाई समस्या भयो । त्यसपछि डाक्टर उपेन्द्र यादवले प्रदेश २ का आर्थिक मामिला मन्त्री विजय यादवलाई फोन गरिदिनुभयो । मन्त्री विजय यादवले सामाजिक विकास मन्त्री नवल साहको नम्बर दिनुभयो । डाक्टर साबले मन्त्री नवलकिशोर साहलाई फोन गरेपछि उहाँले आफ्नो पीएको नम्बर दिनुभयो । उहाँको पीएलाई फोन गर्दा उहाँले कोरोना भाइरस सम्बन्धी फोकल पर्सन रहनु भएका डाक्टर डा.कुलदीप पाण्डेको नम्बर दिनुभयो ।

डा.पाण्डेलाई फोन गर्दा ‘प्रादेशिक अस्पतालको इमर्जेन्सीले जे भनेको छ, त्यही गर्नुस्’ भनि जवाफ दिनुभयो । अर्थात् काठमाडौं जानबाहेक अरु कुनै विकल्प मसँग थिएन । मलाई मेरो गाउँ (औरही, सिरहा) बाट ल्याएको एम्बुलेन्सले बर्दिवाससम्म छाडिदियो । बर्दिवासबाट अर्को एम्बुलेन्समा काठमाडौंको टेकु अस्पतालमा पुर्याईदियो । चैत ११ गते राति १०ः३० बजे टेकु अस्पतालमा पुगेँ ।

कतारबाट आएको भन्ने थाहा पाएर त्यहाँका डाक्टरहरु पनि मसँग डराइरहेका थिए । डाक्टरहरुको व्यवहार नै छुट्टै थियो । अछुतोजस्तो व्यवहार गरियो । राति नै मेरो रगतको नमूना लिइयो । जाँचका लागि पठाइयो । अरु पनि जाँचहरु गरियो ।

गाउँदेखि काठमाडौँसम्मका डाक्टरको व्यवहार हेर्दा त मलाई पनि साँच्चै कोरोना लागेको हो कि जस्तो भयो । म डरले कामिरहेको थिएँ । मसँग मेरा कोही पनि आफन्त आएका थिएनन् । अस्पतालमा म एक्लै थिएँ । मसँग मोवाइल पनि थिएन कि कसैसँग सम्पर्क गर्न सकौँ । आमाबुवालाई सम्झेँ । आफन्तलाई सम्झेँ । पशुपतिनाथलाई सम्झेँ । बाँच्छु कि बाँच्दिन भन्ने कुनै ठेगान थिएन ।

कोही सामुन्नेमा पनि आउँदैनथ्यो । कति खुशी हुँदै म विदेशबाट आएको थिएँ । घरपरिवारसँग रमाईरहेको थिएँ । अचानक मलाई यो के भइदियो ? जचाउन नगएको भए पनि त हुन्थ्यो भन्ने कुरा मनमा खेल्न थाल्यो ।

सबैभन्दा अच्चमको कुरा त मेरो ठेगानामा सिरहा कतार लेखिएको थियो । म सिरहाको मान्छे तर सिरहा कतार लेखिएको रहेछ । त्यसपछि झन् ज–जसले त्यो रिपोर्ट हेरे, उनीहरुको व्यवहार नै छुट्टै हुन्थ्यो ।

आइसोलेशनको बेडमा बसेर आफ्नो रिपोर्टको प्रतीक्षामा थिएँ । जतिजति रिपोर्ट आउन ढिलो भइरहेको थियो, त्यति नै मेरो मुटुको धड्कन बढिरहेको थियो । डाक्टरलाई सोध्दा केही जवाफ दिँदैनथे । कोही राम्रो मुखले बोल्न पनि मानिरहेको थिएन । चैत १४ गतेमात्र थाहा पाएँ कि मेरो रिपोर्ट नेगेटिभ रहेछ । त्यतिबेला मेरो खुशीको सीमा नै रहेन । भगवानलाई सम्झेँ । गाउँका डाक्टर (उपेन्द्र यादव) लाई मैले सुरु मै ‘मलाई केही भएको छैन, जवर्जस्ती मलाई किन पठाउनु भएको ?’ भनेका कुरा पनि सम्झेँ ।

मलाई आइसोलेशन वार्डबाट जनरलवार्डमा सारियो । मलाई त्यहाँका डाक्टर तथा नर्सले सोध्न थाले– तिम्रो मान्छे खोइ ? तिमीलाई केही छैन, तिम्रो रिपोर्ट निगेटिभ छ । अब घर जाँदा हुन्छ ।

मसँग कोही पनि त आउन पाएका थिएनन् । मैले मेरो गाउँ (औरही) कै एम्बुलेन्सका ड्राइभरको नम्बर लिएको थिएँ । तिनै ड्राइभरलाई फोन गरेँ । उहाँले मलाई काठमाडौंमा बस्ने एकजना (सुरेशकुमार यादव) को नम्बर दिनुभयो । डाक्टरलाई भनेर त्यो नम्बरमा फोन गर्न लगाएँ ।

डाक्टरले चैत १५ गते उहाँलाई फोन गर्नुभयो र मेरोबारेमा जानकारी दिनुभयो । जति छिटो अस्पतालबाट लैजानुहुन्छ, उति नै राम्रो भनेर डाक्टरले उहाँलाई फोनबाटै भन्नुभयो ।

मलाई पनि यहाँबाट जति सक्यो छिटो निस्किहालौँ जस्तो भयो । त्यसको भोलिपल्ट मैले उहाँलाई फोन गरेँ । ‘मलाई यहाँबाट छिटो निकाल्नुस् । म निकै तनाबमा छु । मलाई कोरोना छैन तर डिप्रेशनले नै मर्छु जस्तो लाग्छ । मलाई यहाँ राम्रो लाग्दैन । मलाई यहाँबाट निकाल्नुस्’ भनेर उहाँलाई आग्रह गरेँ ।

त्यसपछि उहाँले ‘गाडीको व्यवस्था गर्दैछु, तपाई नआत्तिनुस्, शान्त भएर बस्नुस्, म केही न केही व्यवस्था गर्छु’ भन्नुभयो ।

मैले ‘जे गर्नुहुन्छ चाँडो गर्नुस् प्लिज’ भनेँ ।

मलाई दुई घण्टापछि फोन आयो, गाडीको व्यवस्था भएछ । एउटा प्राइभेट गाडीको व्यवस्था भएछ, चार÷पाँचजना मिलेर जाँदा एकजनाको भागमा तीन÷चार हजार रुपैयाँ भाडा पर्ने भयो ।

त्यसका लागि म तयार भएँ । म खुशी थिएँ । घर जान पाउने भएकोमा खुशी लाग्नु स्वाभाविक थियो ।

१०ः३० बजेतिर मेरो गाउँले अस्पतालमै आउनु भयो । उहाँ मेरो गाउँले भए पनि उहाँलाई मैले चिन्दिनथेँ । नचिने पनि एउटा गाउँलेको नाताले मलाई सहयोग गर्न आउनु भएकोमा म खुशी थिएँ । उहाँले डिस्चार्जको कागज बुझ्नुभयो । अनि बाइकमा राखेर मलाई सिधैं कोटेश्वरको प्रहरी चौकीमा पुर्याउनुभयो । उहाँले जुन गाडीवालासँग कुरा गर्नुभएको थियो, त्यो गाडीवालालाई त्यहीँ बोलाएर त्यहाँबाट प्रहरीको अनुमति दिन लगाएर पठाउन खोज्नु भएको थियो । तर ती गाडीवाला आई दिनुभएन ।

प्रहरीले समेत ती गाडीवालालाई ‘कोरोनाको बिरामी डिस्चार्ज भएको छ, उहाँलाई घर जान समस्या नहुने डिस्चार्ज पेपर देखाउँदै जानुस्’ भन्दा गाडीवालाले मान्नुभएन । मेरो गाउँलेले गाडीवाला र प्रहरीबीच फोनमा पनि कुरा गराईदिनुभयो तर गाडीवालाले लिखित नै चाहिन्छ भन्नुभयो । प्रहरीले ‘हामी लिखित दिन सक्दैनौँ, बिरामी लिएर जानु हुन्छ भने बाटोमा कसैले रोकटोक गर्दैन, त्यसको जिम्मा लिन्छौं, डिस्चार्जको पेपर देखाउँदै जानुस् तर हामीले लिखित दिन मिल्दैन’ भन्नुभएको थियो ।

हामी त्यही कुराहरु मिलाउन धेरै बेरसम्म कोटेश्वर प्रहरी चौकीमै बस्यौं । त्यहाँ धेरै बेरसम्म बस्नुपर्दा प्रहरी जवानहरु हामीलाई त्यहाँबाट भगाउन थाल्नुभयो । मेरो गाउँलेले ती प्रहरीसँग प्रतिवाद पनि गर्नुभयो ।

तर, के गर्नु अवस्था नै त्यस्तै थियो । मेरो गाउँलेले सिडिओ कार्यालयबाट पास बनाउने भनि कसैसँग फोनमा कुरा गर्नुभयो । गाडीको ड्राइभरलाई सिडिओ कार्यालय जान भन्नुभयो र हामी पनि त्यहीँ गयौँ । ‘कोरोना भाइरस परीक्षण नतिजा निगेटिभ भएको प्यासेन्ट छ, उहाँलाई अस्पतालले डिस्चार्ज गरिदिएको छ । काठमाडौंमा राख्ने अवस्था पनि छैन, जसरी पनि घर पठाउनु छ, एउटा पास बनाई दिनुपर्यो’ भनि सिडिओ समक्ष गुहार मागियो ।

सिडिओले ‘देश लकडाउनमा छ । कोही कतै जान पाउँदैनन् । काठमाडौंमै घरमा राख्नुस् । घर छैन भने कहीँ केही व्यवस्था गरेर राख्नुस् तर पास पाउँदैन र घर पठाउन मिल्दैन’ भनि कडा जवाफ दिनुभयो । मेरो गाउँलेले सबैतिर फोन गर्नुभयो । मन्त्रीदेखि लिएर मन्त्रीको पिए, सांसद, नेता सबैलाई उहाँले एउटा पासका लागि फोन गर्नुभयो तर कसैबाट पास बनाउन सम्भव भएन ।

उहाँले एम्बुलेन्सबालाहरुलाई पनि फोन गर्नुभयो तर कोही पनि काठमाडौँभन्दा बाहिर जान तयार भएन । यता गाडीवालाले विना पास गाडी लिएर नजाने भन्दै थियो ।

हामी सिडिओ कार्यालयकै अगाडि थियौं । विभिन्न व्यापारी तथा नेताहरुलाई सवारी साधनको पास धमाधम दिइदैँ थियो । नाम बोलाई बोलाई पास वितरण भइरहेको थियो । तर कोरोना संक्रमण जँचाएर स्वस्थ प्रमाणित भइ घर फर्किन चाहने व्यक्तिलाई पास दिइरहेको छैन । यो कस्तो गैरजिम्मेवार सरकार हो जस्तो पनि लाग्यो ।

जाँच भइसकेपछि सरकारले नै पठाई दिनुपर्ने हो तर एउटा पास माग्दा पनि नदिने सरकारबाट अरु के नै आशा गर्न सकिन्छ ?

एम्बुलेन्स आइपुगेको थिएन । आउँछ कि आउँदैन भन्ने चिन्ता पनि लागेको थियो तर मेरो गाउँलेले निश्चिन्त भएर बस्नु एम्बुलेन्स जसरी पनि आउँछ भन्नुभयो । उहाँले हाम्रो लागि अर्को गेस्ट हाउसको व्यवस्था गर्दिनु भयो तर एम्बुलेन्स आउँछ भने अर्को गेस्ट हाउसमा किन बस्ने भनेर बरु प्रहरीले नदेख्नेगरी बाहिरै बस्ने निधो ग¥यौँ ।

बाध्य भएर मेरो गाउँले (सुरेश) ले गाउँमा फोन गर्नुभयो । जुन एम्बुलेन्सले मलाई लिएर आउनु भएको थियो, त्यही एम्बुलेन्सलाई पठाईदिन भन्नुभयो । त्यो एम्बुलेन्स आउन तयार भयो । औरही गाउँपालिका अन्तर्गतको स्वास्थ्य शाखाको त्यो एम्बुलेन्स पठाउन उपेन्द्र यादव तयार भएको कुरा मैले आफ्नै गाउँलेबाट थाहा पाएँ । एकचोटी फेरि म खुशी भएँ ।

गाउँबाट हिँडेपछि त्यो एम्बुलेन्स काठमाडौँ आइपुग्दा रात नै परिसक्छ । त्यही भएर मेरो गाउँलेले मलाई तिलगंगाको एउटा गेस्टहाउसमा लगेर राख्नु भयो, जहाँ सिरहाकै चार÷पाँचजना बसिराख्नु भएको थियो । उहाँहरु पनि सिरहा जाने तयारीमा हुनुहुन्थ्यो । लकडाउनका कारण उहाँहरु काठमाडौँमा घेरिनु भएको थियो ।

एक बजे हिँडेको एम्बुलेन्स सात÷आठबजेतिर काठमाडौँ आइपुग्छ भनि हामी ढुक्क थियौँ । त्यही भएर मेरो गाउँले (सुरेश) मलाई त्यहाँ छाडेर फर्किनुभयो ।

तर, गेस्ट हाउसका मालिकले हामीलाई गेस्ट हाउसबाट निकालिदिनुभयो । कतारबाट आएको र टेकु अस्पतालबाट जँचाएर आजै फर्केको थाहा पाएर गेस्टहाउसबाट म लगायत सबैजनालाई निकालिदिनुभयो । मेरै कारणले अरु अरुले पनि दुःख पाउनुभयो । उसलाई (मलाई) किन ल्याउनु भएको भन्दै पहिलेदेखि बस्दै आउनु भएका चारैजनालाई त्यो गेस्ट हाउसबाट बाहिर निकाल्दिनुभयो । मैले गेस्टहाउसका मालिकलाई भनेँ, ‘सर, मेरो रिपोर्ट नेगेटिभ छ, मलाई केही भएको छैन । म दुई÷तीन घण्टामात्र यहाँ बस्छु । एम्बुलेन्स आउँदैछ हामी गइहाल्छौँ, प्लिज हामीलाई ननिकाल्नुस् । हामी यो लकडाउनका बेला राति कहाँ जाउँ ?’ भने । तर उहाँले मेरो कुरा सुन्नुभएन ।

कुनै पनि हालतमा बस्न दिन्नँ भन्दै उहाँले हामीलाई निकाल्दिनुभयो । मेरो गाउँलेले पनि गेस्ट हाउसका मालिकसँग फोनमा कुरा गर्नुभयो तर उहाँले कसैको कुरा सुन्नुभएन ।

एम्बुलेन्स आइपुगेको थिएन । आउँछ कि आउँदैन भन्ने चिन्ता पनि लागेको थियो तर मेरो गाउँलेले निश्चिन्त भएर बस्नु एम्बुलेन्स जसरी पनि आउँछ भन्नुभयो । उहाँले हाम्रो लागि अर्को गेस्ट हाउसको व्यवस्था गर्दिनु भयो तर एम्बुलेन्स आउँछ भने अर्को गेस्ट हाउसमा किन बस्ने भनेर बरु प्रहरीले नदेख्नेगरी बाहिरै बस्ने निधो ग¥यौँ ।

बल्ल राति ११ बजे एम्बुलेन्स आइपुग्यो । लामो सास लियौं ।

त्यो एम्बुलेन्समा पाँचैजना फर्कियौँ । १२ः३० बजे राति काठमाडौंबाट हिड्यौं । एम्बुलेन्स भएको कारणले बाटोमा कतै रोकटोक भएन । सकुशल घर आइपुगेँ । अझै मलाई १२–१३ दिन घरमै सुरक्षित बस्न भनेको छ । क्वारेन्टाइनमा बस्न भनेको छ । यतिको दुःख पाएँ । अझै घरमै बस्नु पर्यो भने बसौँला ।

(ओमप्रकाश साफीसँग रातोपाटीले गरेको कुराकानीमा आधारित)  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप