बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैङ्कको एउटा निर्णयले बजारमा थपियो ३५ अर्ब

सोमबार, १७ चैत २०७६, १० : ०३
सोमबार, १७ चैत २०७६

काठमाडौं । राष्ट्र बैंकले गरेको एउटा व्यवस्थाले बजारमा ३५ अर्ब रुपैंया थपिएको छ । अनिवार्य नगद अनुपात (सीआरआर) लाई ४ प्रतिशतबाट ३ प्रतिशतमा झार्ने केन्द्रीय बैंकको निर्णयले बजारमा तत्कालै करिब ३५ अर्ब रुपैयाँ थपिएको हो । यसअघि ६३ अर्बको तरलता भएको बजारमा यो निर्णयसँगै तरलता १ खर्ब रुपैंया नजिक पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले जनताबाट उठाएको निक्षेपको रकमको निश्चित प्रतिशत सुरक्षण बापत नेपाल राष्ट्र बैंकमा राख्नुपर्छ । त्यो पैसाको ब्याज पाइदैन भने त्यो पैसा धितोमा राखेर अरु ऋण पनि पाइँदैन । यस्तो पैसा बैंकमा भएको निक्षेपको सुरक्षाको प्रयोजनका लागि मात्रै राखिएको हुन्छ । त्यस्तो अनुपातलाई राष्ट्र बैंकले १ प्रतिशत बिन्दुले घटाएर ३ प्रतिशत कायम गरिदिएको हो ।

अहिले बजारमा बैंक तथा वित्तीय संस्थाको निक्षेपको आकार करिब ३५ खर्ब छ । त्यसको ४ प्रतिशतले हुन आउने करिब १४० अर्ब रुपैंया अहिले त्यस्तो अनुपात कायम गर्न राष्ट्र बैंकमा राख्नुपथ्र्यो । यो अब करिब १०५ अर्बमा झरेको छ ।

उक्त रकमबराबर बैंकले राष्ट्र बैंकले तोेकेको ब्याज प्राप्त गर्नेछ । आवश्यकताअनुसार उक्त रकम अन्य बैंकलाई सापटी दिन वा सरकारी वण्डमा लगानी गर्न वा बजारमा निक्षेप फिर्ताको लागि भल्टमा राख्ने प्रयोजनको लागि निकाल्न पाउँछन् । अहिले निक्षेप संकलन दरलाई भने ३ प्रतिशतबाट घटाएर २ प्रतिशतमा झारिएको छ । यो भनेको राष्ट्र बैंकले बैंकहरुको निक्षेपबापत दिइने ब्याज हो ।

सीआरआर घटाए पनि सीसीडी अनुपातलाई भने खुला गरिएको छैन । अहिले बैंकहरुले पुँजीकोष र निक्षेपको आकारको ८० प्रतिशत मात्रै कर्जा प्रवाह गर्न पाउँछन् । त्यसैगरी, सरकारी बण्डमा लगानी गर्ने सीमालाई १० प्रतिशतबाट परिवर्तन गरिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप