बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगार म्यादी बीमामा समितिको नयाँ व्यवस्था, कति लाग्छ शुल्क ?

आइतबार, १६ चैत २०७६, २१ : ४३
आइतबार, १६ चैत २०७६

काठमाडौं । बीमा समितिले विदेश जाने नेपालीहरुले गर्ने म्यादी बीमाको दररेट संशोधन गरेको छ । समितिले वैदेशिक रोजगार म्यादी जीवनबीमा गर्दा यसअघि भएको व्यवस्थामा संशोधन गरी आधा आधा वर्षको अन्तरमा फरकफरक शुल्क लिनेगरी शुल्क निर्धारण गरेको हो ।

यसअघि त्यस्तो बीमा वार्षिक रुपमा मात्रै गर्न पाइन्थ्यो । अर्थात् विदेश जानेले १ वर्ष, २ वर्ष, ३ वर्ष, ४ वर्ष लगायत पूर्णकालीन अवधिका लागि मात्रै बीमा गर्न पाइन्थ्यो । अर्धवार्षिक बीमाको अवधारणा ल्याइएको छ । अब कसैले साढे २ वर्ष वा साढे ३ वर्षको बीमा गर्छु भन्छ भने त्यो पनि पाउँछ ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले वैदेशिक रोजगार म्यादी जीवनबीमामा श्रमिकको अतिरिक्त खर्च कम गराउन यस्तो व्यवस्था ल्याइएको बताए ।

२ वर्षको लागि विदेश जानेले २ वर्ष मात्रै बीमा गरेर पुग्दैन । उसको जाने आउने प्रक्रियामा केही समय लाग्न सक्छ । त्यस्तो अवस्थामा उसले ३ वर्ष बीमा गर्नुपथ्र्यो । २/४ महिनाका लागि पूरा वर्षको शुल्क तिर्नुपरेको गुनासो आएको थियो । त्यसैले हामीले विदेश जानुअघिको ३ महिना र फर्केर आएपछिको ३ महिना जोखिम बहन गर्नेगरी यसलाई ६ महिनाको अन्तरमा झारेका हौं । त्यसो गर्दा बीमा शुल्क नघटे पनि लागत भने घट्छ । बीमा शुल्कको दरमा भने खासै परिवर्तन गरिएको छैन ।

म्यादी जीवनबीमाका लागि समितिले श्रमिकको उमेरअनुसार छुट्टाछुट्टै दररेट तोकेको छ । १८ देखि ३५ वर्ष, ३६ देखि ५० वर्ष र ५१ देखि ६४ वर्षको उमेर समूह तय गरेर समितिले १ देखि ६.५ वर्षसम्मको शुल्क निर्धारण गरेको हो । ६४ वर्ष भन्दा माथिको हकमा भने बीमाशुल्क निर्धारण गरिएको छैन । तर त्यस्ता व्यक्तिको बीमा गर्न चाहने बीमकले ५१ देखि ६४ वर्षको उमेर समूहको भन्दा ५० प्रतिशत भन्दा बढी शुल्क लिन पाउने छैन ।

उमेर उक्त बीमाको बीमांक १० लाख रुपैंया तोकिएको छ । वार्षिक अतिरिक्त रु ४०० तिर्नेलाई यो योजनामा ५ लाख रुपैंया बराबरकाृ घातक रोगको उपचार बीमा समेत समावेश गरिनेछ ।

इलेक्ट्रोनिक भुक्तानीको व्यवस्था गर्नुपर्ने

वैदेशिक रोजगारीमा रहेकाहरुले यस्तो बीमा गर्दा इलेक्ट्रोनिक माध्यमबाट भुक्तान गर्न र इलेक्ट्रोनिक माध्यबाटै आउने प्रस्तावलाई मान्यता दिने व्यवस्था गर्न समेत भनिएको छ । बीकमहरुले यस्तो व्यवस्था गरेपछि यस्तो बीमा गर्नको लागि बीमककहाँ गइरहनुपर्ने झन्झट हट्नेछ ।

कार्यक्षेत्रमा काम गर्देगर्दा हुने दुर्घटनाबाट हुनसक्ने क्षतिका लागि यस्तो बीमा गरिन्छ । अहिले यस्तो बीमालाई वाध्यकारी बनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप