बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या, लकडाउनमै सिसडोलबासीको अवरोध

महानगर भन्छः ‘समस्या हटिसक्यो’
आइतबार, १६ चैत २०७६, १८ : २६
आइतबार, १६ चैत २०७६

काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापनमा बारम्बार समस्या भोग्दै आएको काठमाडौं महानगरपालिकाले लकडाउनको समयमा पनि यो समस्याबाट मुक्ति पाउन सकेन । 

विश्वमै महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको साताव्यापी लकडाउनको समयमा पनि महानगरपालिकाले फोहोर व्यवस्थापनमा अवरोधको सामना गर्नु परेको हो । सरकारले लकडाउन घोषणा गरेको २ दिनपछि नै उपत्यकामा फोहोर व्यस्थापनमा समस्या देखिएको हो ।

फोहोर उठाउने निजी क्षेत्रका कामदारले एकातिर फोहोर नउठाएको र अर्कोतिर फोहोर व्यवस्थापन क्षेत्र (डम्पिङ्ग साइट) सिसडोल–बञ्चरेडाँडामा स्थानीयबासीको अवरोधका कारण उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या आएको काठमाडौं महानगरपालिकाले जनाएको छ । 

लकडाउनका बीच निजी क्षेत्रले फोहोर नउठाइदिँदा र ल्याण्डफिल्ड साइटका स्थानीय सिसडोलबासीले अवरोध गरिदिँदा केही दिन उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या आएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए ।

‘महानगरपालिकाका अतिरिक्त निजी क्षेत्रहरुले पनि फोहोर उठाउने गर्छन् । कोरोनाको सन्त्रासकाबीच लकडाउनका कारण ती निजी क्षेत्रहरुले पहिले झैं नियमित फोहोर उठाइदिएनन् । जसले गर्दा केहि दिन समस्या आयो,’ उनले भने, ‘उता ल्याण्डफिल्ड साइट सिसडोलबासीहरुले पनि यहि बीचमा विभिन्न माग राखेर अवरोध गरे, जसले फोहोर व्यवस्थापनमा समस्या आएको थियो । तर अहिले समस्या हटिसकेको छ ।’ 
हाल फोहोर व्यवस्थापनमा कुनै समस्या नरहेको उनले बताए । ‘पहिलेझैं नियमित रुपमा उपत्यकाको फोहोर उठिरहेको छ,’ उनले भने ।

डंगोलका अनुसार ल्याण्डफिल्ड साइट–सिसडोलबासीहरुले कोरोनाको सन्त्रासका बीच प्रभावित क्षेत्रमा सम्भावित दुर्घटना र रोगको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाको माग गरेका थिए । स्थानीयबासीले कोरोनाको रोकथाम र सुरक्षाका लागि भन्दै विभिन्न स्थानमा हात धुने साबुन पानीको प्रवन्ध गरिदिन र आवश्यक मास्क, सेनिटाइजर लगायत मेडिकल किट्सको व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन् । 
अहिले सरकार र सिसडोलबासीबीच द्विपक्षीय वार्ता भई सहमति जुटिसकेको र फोहोर उठ्न थालेको डंगोलले रातोपाटीलाई बताए ।

निजी क्षेत्रहरुले पनि निर्वाधरुपमा पहिलेझैं नियमित रुपमा फोहोर उठाउन थालिसकेको डंगोलले बताए ।

पास नहुँदा फोहोर व्यस्थापनमा समस्या
लकडाउनका बेला सवारी सञ्चालन अनुमतिपत्र (पास)को व्यवस्था नहुँदा फोहोर व्यवस्थापनमा समस्या आएको ललितपुर महानगरपालिकाले बताएको छ । सरकारले अत्यावश्यक पानी, दुध, फोहोर लगायतका ढुवानीका साधनहरुलाई नरोक्ने भने पनि काठमाडौं महानगरपालिकाले फोहोर बोक्ने गाडीलाई समेत रोकेपछि समस्या आएको ललितपुर महानगरपालिकाका कार्यालय प्रमुख प्रेमप्रसाद भट्टराईले बताए । 

ललितपुर महानगरपालिकाभित्र फोहोर उठाउन, बोक्न र ढुवानी गर्न कुनै अवरोध छैन । गाडीहरुले फोहोर उठाइरहेका छन्,’ उनले भने, ‘तर यता (ललितपुर)बाट गएका फोहोरका गाडीहरुलाई काठमाडौंले रोक्यो, त्यसैले समस्या आएको हो ।’ 

कार्यालय प्रमुख भट्टराईले भने, ‘अहिले हामीले महानगरपालिकाकै पासले काम गरिरहेका छौं । तर प्रहरीले फोहोरको गाडीलाई समेत जिल्ला प्रशासनको पास खोजेपछि समस्या आएको हो । अहिले महानगरले जिल्ला प्रशासनको पाससमेत माग गरेको छ ।’

भट्टराईका अनुसार उपत्यकाको फोहोर व्यवस्थापनमा ल्याण्डफिल्ड साइट सिसडोलबासीहरुको अवरोधका कारण पनि समस्या आएको हो । अहिले उक्त समस्या समाधान भइसकेको उनको भनाइ छ ।
काठमाडौं, भक्तपुर र ललितपुर गरी तीन स्थानीय तहले सिसडोलबासीहरुको माग सम्बोधन गर्ने गरी आइतबार छलफल गर्दैछन् । अहिलेलाई समस्या टरे पनि पछि यस्तो समस्या आउन नदिन के गर्न सकिन्छ भन्नेबारे छलफल केन्द्रित रहेको बताइएको छ ।

यस्तो समस्या फेरि पनि आउन सक्ने भन्दै महानगरले पूर्ण तयारी थालेको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।

हाल काठमाडौं, भक्तपुर र ललितपुर तीनवटै स्थानीय तहका फोहोर नुवाकोट र धादिङ जिल्लाको सिमानास्थित सिसडोल, बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ । 

उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने निर्णय भए पनि हालसम्म महानगरपालिकाले नै फोहोर व्यवस्थापन गर्दै आएको छ । एकिकृत फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने गरी यस अघि नै काठमाडौं महानगरपालिका र नेप वेस्टबीच सम्झौता भइसकेको छ । सम्झौताअनुसार लगानी बोर्डले २०७५ असार १ गते नै उक्त परियोजनाको विकास सम्झौतालाई स्वीकृत गरिसकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप