बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बीएण्डबी अस्पतालमा कोरोना संक्रमणको आशंकामा १८ जनाको चेकजाँच, १ जनालाई आइसोलेसनमा राखियो

आइतबार, १६ चैत २०७६, १८ : १६
आइतबार, १६ चैत २०७६

ललितपुरको बीएण्डबी अस्पतालले कोरोना संक्रमण आशंकामा अस्पताल आइपुगेका १८ जनाको चेकजाँच गरेको बताएको छ । 

अस्पतालमा फिबर क्लिनिक सुरु भएको चैत ६ गतेदेखि चैत १५ गतेको साँझसम्म १८ जना बिरामीको स्क्रिनिङ गरिएको फिबर क्लिनिककी फोकल पोइन्ट डाक्टर सरिता पाण्डेले बताइन् । 

कोरोना संक्रमितको आशंका लागेका कतिपय बिरामीलाई विभिन्न अस्पतालले चेकजाँज नै नगरी अर्को अस्पताल वा घर पठाइको समाचार आइरहेको भन्दै आफूहरुले बिरामीको चेकजाँच तथा उपचार गर्ने गरेको डाक्टर पाण्डेले बताइन् । 

सरकारले प्रत्येक निजी अस्पतालमा पनि आइसोलेसन वार्ड बनाउन निर्देशन दिएपछि आफूहरुले २० वेडको आइसोलेसन वार्ड तयार पारेको र बिरामीको चेकजाँच तथा उपचार गराइरहेको उनले बताइन् ।
उनले भनिन्, ‘कतिपय अस्पतालले कोरोनाको आशंका गरिएको बिरामीलाई चेकजाँज नै नगरी अर्को अस्पतालमा पठाएको पनि सुनिएको छ । तर हाम्रो अस्पतालले चैत महिना लाग्ने बित्तिकैबाट फिबर यस्तो बिरामीको पनि चेकजाँज र उपचार गरिरहेको छ । चैत ६ गतेबाट हामीले फिबर क्लिनिक सञ्चालन गरी छुट्टै चेकजाँच र उपचारको व्यवस्था गरेका छौँ ।’

अहिले बीएण्डबी अस्पतालले अस्पताल हाता प्रवेश गर्ने प्रत्येक व्यक्तिको तापक्रमको नाप लिने र ज्वरो तथा रुघा खोकी लागेका बिरामीलाई फिबर क्लिनिकबाटै उपचार गर्ने गरेको फोकल पोइन्ट प्रमुख डाक्टर पाण्डेले बताइन् । 

१० दिनमा १८ ज्वरोका बिरामीको स्वास्थ्य परीक्षण, एकजनालाई आइसोलेसनमा राखियो
अस्पतालले फिबर क्लिनिक राखेको १० दिनमा १८ जना ज्वरो तथा रुघाखोकीको बिरामीको स्वास्थ्य परीक्षण गरेको उनले बताइन् । १८ जना बिरामीमध्ये एक जना बिरामीलाई कोरोनाको आशंकामा एक दिन आइसोलेसनमा राखिएको थियो । आइरिस नागरिकलाई एक दिन आइसोलेसनमा राखिएको भएपनि टेकु अस्पतालमा कोरोनाको चेकजाँच गर्दा नेगेटिभ देखिएपछि मेडिसिन वार्डमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ । 

अस्पतालले फिबर क्लिनिक सञ्चालन गरेर पर्सनल प्रोटेक्टिभ इक्युपमेण्ट (पिपिई) सहितको आवश्यक पूर्वाधार र सुरक्षा संयन्त्र भएको पोशाक लगाई बिरामीको चेकजाँच गरिरहेको छ । यद्यपि आवश्यकमात्रामा पिपिई तथा मास्कहरु नभएको अस्पतालले जनाएको छ । 

स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राख्न छुट्टै कोठा

अस्पतालले फिबर क्लिनिकमा आएका कुनै बिरामीलाई कोरोना संक्रमण देखिएको खण्डमा उक्त बिरामीलाई चेकजाँच र उपचार गर्ने स्वास्थ्यकर्मीलाई राख्नसमेत अस्पतालमा छुट्टै क्वारेन्टाइन रुम तथा वेड खडा गरेको जनाएको छ । 

डाक्टर पाण्डेले भनिन्, ‘अहिले हामीले सञ्चालन गरेको फिबर क्लिनिकमा आएका कुनैपनि बिरामीलाई कोरोनाको संक्रमण देखिएमा ती बिरामीको स्वास्थ्य जाँच तथा उपचार गर्ने स्वास्थ्यकर्मीलाई पनि हामीले अस्पतालभित्रै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएका छौँ । बिरामीको उपचारमा संलग्न चिकित्सकलाई पनि संक्रमण हुनसक्ने भएकाले उनीहरुलाई अस्पतालभित्रै क्वारेन्टाइनमा राखिने छ र उनीहरु आफ्नो घर पनि जान पाउने छैनन् । यद्यपि उनीहरुलाई पनि संक्रमण नदेखिएको वा स्वास्थ्यमा समस्या नआएसम्म भने उपचारकै लागि खटाइनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप