शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्वप्निलदेखि फिरोजलगायतको लाइभ अनलाइन कन्सर्टः जति सेयर हुन्छ त्यति रकम कोरोना रोकथाम कोषलाई

आइतबार, १६ चैत २०७६, १४ : ३५
आइतबार, १६ चैत २०७६

कोभिड–१९ अर्थात् कोरोनाभाइरस संक्रमणसँग लड्नका लागि नेपाली साङ्गीतिक क्षेत्रका विभिन्न हस्ती एकजुट भएका छन् ।

आर्बिट्ररी ग्रुप र खल्ती डट कमको संयुक्त सहकार्यमा सोमबार एक साङ्गीतिक कार्यक्रमको आयोजना हुँदैछ । दिउँसो २ बजेदेखि बेलुकी ७ बजेसम्म आयोजना हुने उक्त कन्सर्टमा आधा दर्जन बढी कलाकारले आफ्नो प्रस्तुती दिनेछन् ।

‘म्युजिक फर एड’ नाम दिइएको उक्त लाइभ अनलाइन कन्सर्टमा फिरोज स्याङ्गदेन, एड्रियन प्रधान (फिचरिङ प्रज्ज्वल प्रधान), स्वप्निल शर्मा, बिपुल क्षेत्री, इशान राज वन्त, शिरिष दली, स्वप्न सुमन, केन्जल मेहेर श्रेष्ठको प्रस्तुती हुनेछ ।

कार्यक्रमलाई संजय श्रेष्ठले उद्घोषण गर्नेछन् ।

उक्त कन्सर्ट फेसबुकमा जतिपटक सेयर हुन्छ त्यति नै रकम सरकारले कोरोना भाइरस रोकथामका लागि खडा गरेको कोषमा सहयोग स्वरुप प्रदान गरिने आयोजक आर्बिट्ररी नेपालले जानकारी दिएको छ ।

अहिलेको यो समयमा सङ्गीतलाई एक शक्तिशाली माध्यमको रुपमा प्रस्तुत गर्न र सरकारलाई सहयोग गर्ने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरेको आर्बिट्ररी समूहका प्रबन्ध निर्देशक विशाल सिंघलले रातोपाटीलाई बताए ।

‘कोरोनाको त्रासमा अहिले संसारभरीका थुप्रै देश लकडाउनमा छन् । यस्तो अवस्थामा संसारभरीका संगीतकर्मीले आ–आफ्नो स्थानबाटै सोसल मिडियामार्फत् संगीत प्रेमीलाई मनोरञ्जन प्रदान गरिरहेका छन्,’ विशालले भने ।  ‘हामीले अहिले यही ट्रेन्डलाई सामाजिक उत्तरदायित्व वहन गर्ने माध्यमको रुपमा हेरेका छौं ।’

यो कार्यक्रममार्फत् जनमानसमा कोरोना भाइरसबारे सचेतना फैलाउने र कोरोना रोकथाम कोषमा कसरी सहयोग गर्न सकिन्छ भन्ने जानकारी पनि दिइने आयोजकले बताएका छन् ।

दैनिक रुपमा उक्त कन्सर्ट जतिजनाले सेयर गर्छन् त्यति नै रकम एक हप्तासम्म प्रधानमन्त्री राहत कोषमा जाने आयोजकले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप