शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय सेनाको मेडिकल टिम नेपाल आउने ? : नेपाली सेना भन्छ, ‘भारतीय मिडियाले हल्ला फैलाए’

शनिबार, १५ चैत २०७६, २१ : ३४
शनिबार, १५ चैत २०७६

काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि भारतीय सेनाको मेडिकल टिम नेपाल आउन लागेको भन्ने समाचारको नेपाली सेनाले खण्डन गरेको छ ।

भारतीय सञ्चारमाध्यमहरुले नेपालमा कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि सघाउने उद्देश्यले भारतीय सेनाको मेडिकल टिम नेपाल जान लागेको समाचार प्रकाशित गरेका छन् । रातोपाटीले यसबारे नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेसँग जानकारी माग्दा पाण्डेले उक्त समाचारमा सत्यता नरहेको प्रष्ट पारे ।

उनले भने, ‘यो गलत समाचार हो, नेपाल सरकारको कुनै पनि निकायले भारतसँग यस प्रकारको कुनै सहयोग मागेको छैन ।’

यसैबारेमा परराष्ट्रमन्त्रालयका प्रवक्ता भरतराज पौडेलसँग सम्पर्कको प्रयास गरे पनि उनी सम्पर्कमा आएनन् ।

उल्लेखनीय छ, भारतीय न्यूज च्यानल ‘एबीपी’ ले भारत सरकारले चाँडै नै भारतीय सेनाको एउटा मेडिकल टिमलाई नेपाल पठाउन लागेको समाचार प्रशारण गरेको छ ।

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपालमा क्वारेन्टाइन सेन्टर निर्माण गर्न तथा कोरोना परीक्षण र उपचारका लागि तालिम दिन सहयोग गर्ने उद्देश्यले भारतीय सेनाको मेडिकल टिम नेपाल पठाउन लागेको उक्त न्यूज च्यानलले जनाएको छ ।

आर्म्ड फोर्सेज मेडिकल सर्भिसेज (एएफएमएस) का महानिर्देशक लेफ्टिनेन्ट जनरल अनूप बनर्जीलाई उद्धृत गर्दै एबीपी न्यूजले जनाएअनुसार भारतले नेपालमा तत्काल एउटा रेपिड रेस्पोन्स टिम पठाउने तयारी गरेको छ । यस्तो टोलीमा भारतको स्थल सेना, हवाई सेना र जल सेनाका चिकित्सक र प्यारामेडिकल स्टाफ पनि रहने जनाइएको छ ।

यस्तो टिम भारतले केही अघि माल्दिभ्समा पठाएको पनि समाचारमा उल्लेख छ । माल्दिभ्सबाट हाल भारतीय टिम फर्किसकेको र हाल नेपालमा पठाउने तयारी भइरहेको उल्लेख गर्दै समाचारमा सार्क राष्ट्रका अन्य मुलुकमा पनि आवश्यकता अनुसार त्यस्तो टोली पठाउन भारत सकारात्मक रहेको जनाइएको छ ।

नेपाली सेनाले भने भारतबाट त्यस प्रकारको सहयोग नमागिएको र समाचारमा सत्यता नरहेको बताइरहँदा भारतीय मिडियाबाट प्रवाह भएको समाचारको विश्वसनीयतामा प्रश्न उठेको त छ नै, उक्त समाचारको उद्देश्यबारे समेत अनेक आशंका उब्जिएको छ ।

पछिल्लो समय भारत आफैँ कोरोना संक्रमणसँग नराम्ररी जुधिरहेको अवस्था छ । यस्तो अवस्थामा भारतीय सेनाको मेडिकल टिम नेपाल पठाउने तयारी भइरहेको हल्ला भारतीय मिडियामार्फत किन फैलाइयो भन्ने विषय प्रष्ट हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप