बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचारको आरोप : स्वास्थ्य मन्त्रालयले भन्यो, ‘टेन्डर गर्दा कोही आएनन्’

शनिबार, १५ चैत २०७६, २१ : १४
शनिबार, १५ चैत २०७६

काठमाडौँ । नेपाल सरकारले कोरोनाभाइरस (कोभिड–१९) को महामारीसँग लड्नका लागि आवश्यक स्वास्थ्य सामाग्रीहरु चीनबाट आयत गर्दैछ । नेपाली व्यवसायीले जम्मा गरेको स्वास्थ्य उपकरण लिनका लागि नेपाल एयरलाइन्सको जहाज शनिबार दिउँसो चीनको ग्वान्झाओका लागि प्रस्थान गरिसकेको छ । र, सम्भवतः आज राति नै सामाग्रीहरु लिएर जहाज नेपाल फर्कनेछ ।

नेपालमा कोरोनाभाइरसको परीक्षण र उपचारका लागि आवश्यक स्वास्थ्य उपकरणहरुको अभाव देखिएपछि सरकारले फास्ट ट्रयाकमा सामग्रीहरु भित्र्याउन लागेको हो । तर, सामग्रीहरु नेपाल आइपुग्न अघि नै सरकारको निर्णय विवादमा तानिएको छ । बजार मूल्यभन्दा बढीमा सामग्रीहरु भित्र्याउन लागेको र कमिसनको खेल भएको भन्दै समाचारहरु प्रकाशित भएका छन् ।

यद्यपि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने त्यस्ता समाचारमा कुनै सत्यता नभएको दाबी गरेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले एक विज्ञप्ति जारी गर्दै समाचारको खण्डन गरेका हुन् ।

कोभिड–१९ को पहिचान, परीक्षण र उपचार गर्न औषधी, प्रयोगशाला सामाग्री र पीपीई लगायत समानहरु खरिद गर्न स्वास्थ्य सेवा विभागबाट स्वदेश भित्रैका उत्पादक र वितरकलाई सार्वजनिक सूचना प्रकाशित गरी पटक पटक टेन्डर आह्वान गर्दा समेत कुनै पनि उत्पादक, वितरणबाट टेन्डर पेश नभएकाले विभागले पुनः उत्पादक र वितरकहरुसँग सामूहिक रुपमा सर्वाजनिक संवाद गरेर छितो र छरितो रुपमा सामाग्री ल्याउने सम्झौता गरेर ती सामानहरु नेपाली आउने क्रममा रहेको मन्त्रालयले स्पष्ट पारेको छ ।

‘यस विषयमा सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमहरुले भ्रामक, कपोकल्पित र समाजमा नकारात्मक प्रभाव फैलाउने समाचार प्रकाशन गरेकोमा यस मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले यस्तो विषम परिपस्थितमा प्रचलित कानूनको अधिनमा रही छिटो, छरितो र प्रतिस्पर्धी विधिबाट खरिद गरेको यथार्थलाई लुकाई आफूखुशी समाचार र स्टाटसहरु प्रकाशित भइरहेको परिप्रेक्षमा दिनरात नभनी अहोरात्र खटिइरहने चिकित्साकर्मीहरुको मनोबल हतोत्साहित हुने र समाजलाई भय सृजना हुने बताउँदै त्यस्ता नकारात्मक र भ्रामक सामाग्री प्रकाशित नगर्न सार्वजनिक अपिल समेत गरेको छ ।

नेपालले एक करोड तीन लाख डलर बराबरको स्वास्थ्य सामाग्री चीनबाट आयात गर्दैछ । जसमा पीपीई, गगल्स, सर्जिकल मास्क, एन९५ मास्क, फेस सिल्ड, इन्फ्रारेड थर्मोमिटर, कोभिड–१९ को परीक्षण किट लगायत रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप