केन्द्रीय संस्करण

कोरोना भाइरसको रोकथाममा पूर्वीय संस्कार

person explore access_timeचैत १५, २०७६ chat_bubble_outline0

-गेहनाथ गौतम

अहिले विश्व कारोनाको कहरसँग लड्दैछ । हाम्रो दैनिकी, व्यवहार र अभ्यासमा परिवर्तन ल्याउन खोजिँदैछ । भारसको जैविक आक्रमणबाट बच्ने र मानव सभ्यतालाई जोगाइराख्न विश्व नै एकजुट भएर प्रतिरक्षा गर्नुपर्ने अवस्था आएको छ ।  

मानव जातिको बढ्दो प्रगतिसँगै प्रकृतिमाथि नै विजय प्राप्त गरेको अर्धसत्य र यससँगै फेरिँदै आएका दिनचर्याहरु अब पुनः पछाडि फर्किएर पुनरावलोकन गर्नुपर्ने आवस्था आएको छ । एउटै विश्व भए पनि भिन्नभिन्न स्थानमा बसोवास गर्दै आएका मानव समुदायका विभिन्न जात, जाति, समुदाय, भाषा, धर्म, संस्कार, संस्कृति र परम्परामा अनेकता रहिआएको छ ।

कारोना भाइरसको सङ्क्रमणबाट बच्न र बचाउन हामीले अपनाउनुपर्ने बानी व्यवहारबारे चिकित्सकीय सुझाव जेजस्ता देखिएका छन् त्यो भने चाख लाग्दो रहेको छ । विशेषतः हामी पूर्र्वीय दर्शन र आचरणबाट निश्रित सभ्यताका अनुयायीहरुलाई यस सङ्क्रमण विरुद्ध लड्न हाम्रा पुर्खाहरुले नै अभ्यस्त गराएको देखिन्छ । आदिकालदेखि अवलम्बन भइरहेको पूर्र्वीय सभ्यताअनुरूपका आनीबानी, खानपान र आचरण अहिले अझ सान्दर्भिक देखिएको छ । हाम्रा पुर्खाले अवलम्बन गरेका नियम र आचारसंहिता वास्तवमै मानव जातिका लागि हितकारक रहेको अनुभूत हुन्छ ।

दिगो विकासका लागि जसरी प्रकृतिको विनास रोक्न आवश्यक छ त्यसरी नै मानव सभ्यता बचाउन पूर्र्वीय मान्यता र आचरणको अवलम्बनमा कडाइ गर्न आवश्यक देखिएको छ । बाँच र बाँच्न देऊ भन्ने पूर्वीय दर्शनको मूल्य र मान्यता रहेको छ । यस्ता केही आचरण र व्यवहारजन्य संस्कारहरु यसरी उल्लेख गर्न सकिन्छ :

१.  अरू मानिसलाई नमस्कार गर्ने वा टाढैबाट आत्मीयता प्रदर्शन गर्ने - हाम्रो संस्कार नै दुवै हात जोडेर नमस्कार गर्ने रहेको छ । हृदय नजिक दुवै हात जाडेर विनम्रताका साथ गरिएको नमस्कार राम्रो संस्कार रहेछ । अहिले यसको महत्त्व हात मिलाउने र हग गर्ने भन्दा कैयौँ गुणा उपयुक्त रहेको पुष्टि भएको छ ।

२.  भान्सामा जाँदा बाहिरी लुगा खोल्ने - बाहिर हिँडडुल गरेर घरमा आउने र सोही पोसाकमा भान्सामा जान नपाउने, धोती, कछाड वा सझा लुगा पहिरिनुपर्ने, हात खुट््टा धोरएर मात्र घरभित्र पस्ने संस्कार अति नै वैज्ञानिक र उपयोगी रहेछ । यो विधि अपनाउन हामीलाई कुनै कठिनाइ देखिन्न ।

३.  खाना खाने कार्य सम्पन्न नभएसम्म भान्सास्थल नछोड्ने - भान्सामा रहने व्यक्तिले खानाको पूर्ण विसर्जन नगरी भन्सा नछोड्ने चलन थियो । विस्तारै यो हराउँदै गएको छ । यसले खाना ताजा र बाह्य प्रभावबाट मुक्त रहन मद्दत पुग्ने देखिन्छ ।

४.  फलफूल खाने, ताजा र तत्काल पकाउका खानेकुरा मात्र खाने - हामी सामान्यत  खानेकुरा काँचै खाँदैनौँ । तत्काल राम्ररी पकाएका र ताजा खानेकुरा खाने तथा पाकेका फलफूल खाने संस्कार निकै वैज्ञानिक देखिन्छ ।

५.  दैनिक नुहाउने र नित्य पूजा गर्ने, गायत्री मन्त्र जप गर्ने तथा ध्यान र योग गर्ने - हाम्रो पूर्वीय संस्कारको निकै महत्त्वपूण र अनुकरणीय संस्कार हो, दैनिक नुहाउने र नित्य पूजा गर्ने, गायत्री मन्त्र जप गर्ने तथा ध्यान र योग गर्ने । यसबाट जीवनपद्धतिलाई नियमित, स्वच्छ, स्वस्थ र सन्तुलित बनाउँदै ल्याएको छ । योग, व्यायामसहित चित्तशुद्धिका यी तरिकाहरु आफैँमा अनुकरणीय भएकाले अपनाउनु सबैका लागि लाभदायक छन् ।  

६.  सर्वौषधि, तील, जौको उपयोग गर्ने, अदुवाको सेवन गर्ने - हाम्रो धर्म कर्म र संस्कारमा सर्वौषधि, तील, जौको उपयोग गर्ने, अदुवाको उपयोग हुने गरेको छ । स्वास्थ्य र पोषणका दृष्टिकोणबाट पनि यो कार्य उपयोगी रहेको छ । गाउँघरमा खसी काटेर बेसारले पखाल्ने गरिएको अभ्यास पनि  उत्तिकै वेज्ञानिक देखिन्छ ।  

७.  घरमा तुलसी रोप्ने, सडकमा बरपिपल रोपेर बिहे नै गरिदिने - आफ्नो घरआँगनमा तुलसी रोप्ने, बाटो चौतारी बनाउने र बरपिपल रोप्ने संस्कार शीतलता र शुद्ध हावाको प्रवन्धमा सहयोग पुर्याउने प्रकृतिमैत्री अभ्यासका रूपमा लिन सकिन्छ ।

८.  दैनिक गाईको गोबरले घर लिप्ने रातो माटोले पोत्ने - हाम्रो परम्परागत घर सफाइको अभ्यासमा गाईको गोबरले घर लिप्ने रातो माटोले पोत्ने गरिएको पाइन्छ ।  दैनिक यसरी गरिने सफाइले घरमा किटपतङ्गको प्रकोप नरहने विश्वास पनि वैज्ञानिक देखिन्छ ।

९  पञ्चामृत र पञ्चगव्यको प्रयोग - धार्मिक संस्कारमा प्रयोग गर्नए दूध, दही, मह, सख्खर, घिउ मिसाएर बनाइएको पञ्चामृतमा मिसाइने तत्वहर सबै स्वस्थ्य र शरीरका लागि उयोगी छन् । हामीले केवल पूजाआजामा मात्र प्रयोग गर्ने अभ्यास बढायौँ । यसै गरी गाईको दूध, दही, घिउ, गोमूत्र र गोबर शुद्ध पानीमा मिसाएर बनाइने पञ्चगव्यमा रहने तत्वहरु पनि स्वस्थ जीवनका लागि पनि उपयोगी नै देखिन्छ ।

१०. मृत्यु संस्कारमा १३ दिनसम्म क्वारेन्टाइनमा बस्ने र शुद्ध आचरणमा रहने - मृत्य संस्कारमा १३ दिनसम्म अरू कसैलाई नछोई, शुद्ध आहार त्यो पनि नुन विनाको र कुशासनमा मात्र रहने, दैनिक पितृ उद्धारमा समर्पित हुने कर्म १४ दिने सेल्फ क्वारेन्टाइनसँग ठ्याक्कै मिलेको देखिन्छ ।

११. खाना खानूपूर्व शुद्ध पानीले वरिपरि छर्किने र अप्सानी हाल्ने -  हरेक पटक खाना खान बसेको समयमा शुद्ध पानीले अचाउने र विभिन्न नाममा अप्सानी लगाउने प्रचलन पनि किटाणुहरु सोझै आफ्नो थाल वा प्लेटमा आउन नदिन अपनाइएको उपाय देखिन्छ । 

१२. शरीर सफा गर्न साबुन नभए पनि शुद्ध खरानी, रिठ्ठो, पाङ्ग्राको दिउल प्रयोग गर्ने- साबुनको आविष्कार हुनुपूर्व पनि शुद्ध खरानी, रिठ्ठो र पाङ्ग्राको दिउल आदिको प्रयोग गरी शरीर वा लुगाफाटो सफा गर्ने प्रचलन थियो । यो परम्परागत घरेलु विधि आफैमा वैज्ञानिक र उपयोगी देखिन्छ ।
१३. पुनर्जन्म, स्वर्ग, मत्र्य पातालको कल्पना र पुनर्जन्ममा समेत लागू हुने दण्डविधान - कठिन अवस्थामा वा मौका मिल्नासार्थ न्यायविपरीत गरिने कायलाई किमार्थ राम्रो भन्न सकिन्न । धार्मिक मतअनुसार जन्म, मृत्यु पुनर्जन्म, स्वर्ग, मत्र्य, पाताल र नरकको कल्पनासँगै मनुष्य जीवन विगतका पुण्यको प्रभावबाट प्राप्त भएको मत राखेर मानवताको महत्त्व चिन्न र चिनाउन खोजिएको देखिन्छ । मानवबाट हुने अमानवीय कार्यले नरक जानु पर्ने र कडा सजाय भोग्नुपर्ने र पुनर्जन्ममा समेत प्रभाव पर्ने शास्त्रीय दण्डविधानमा आश र त्रास दुवैको सन्तुलन देखिन्छ । व्यापार व्यवसायमा हुने कालोबजारी रोक्न पनि यो विधान महत्त्वपूर्ण हुन सक्दछ ।
१४. शौचालय जाँदा लगाएका लुगा अरू समयमा नलगाउने ः शौचालयमा  दूषित हावा र किटाणुको जोखिम रहने कुरा हाम्रा पुर्खाले धेरै पहिले पहिचान गरेका रहेछन् । त्यसैले शौचालय जानुपूर्व शरीरमा लगाएका कपडा खोलेर वा परिवर्तन गर्ने चलन केही वर्ष अघाडिसम्म पनि थियो । अहिले पनि अघिल्लो पुस्तामा यो राम्रो प्रचलन छँदैछ । हामीले विर्सँदै आए पनि यो राम्रो आदतलाई पुनः थालनी गर्न आवश्यक छ ।

अहिले कोरोनाको सङ्क्रमणबाट बच्न पूर्वीय सभ्यतामा धेरै वर्ष पहिलेदेखि नै पहिचान गरी प्रयोग गरिएका यी परम्परागत आनीबानी, संस्कार, खानपान र जीवनशैलीको महत्त्व बोध गर्न आवश्यक छ । हामीले नयाँपनको खोजी गर्ने र आफ्नो स्वच्छ गाउँ, मुलुक तथा हाम्रो सभ्यतालाई छाड्दै आयातित आचरणमा रमाउने बानीमा सुधार गरी विर्सन थालिएका यी कालजयी संस्कार, खानपान र जीवनशैलीलाई पुनः व्यवहारमा ल्याउन सक्नु पर्दछ ।  सङ्क्रमण भइसकेका विरामीका लागि उपचारका औषधिजन्य विधिमा भर पर्नै पर्दछ । तर यस भाइरसको सङ्क्रमणबाट बच्न र बचाउन चाहिँ जीवनशैलीमा पूर्वीय मान्यताका केही राम्रा अभ्यासहरु अपनाउनु पनि निकै उपयोगी हुनसक्ने देखिन्छ ।

   उपसचिव, नेपाल सरकार
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.