शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अष्ट्रेलियाबाट जन्मथलोका लागि  राहत कोषमा सहयोग

शुक्रबार, १४ चैत २०७६, २१ : ५४
शुक्रबार, १४ चैत २०७६

अष्ट्रेलियामा अध्ययनरत भैरहवाकी बन्दिता काफ्लेले  सिद्धार्थनगरपालिका भैरहवाले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण राहत कोषमा रु एक लाख एघार हजार एघार सय एघार सहयोग गरेकी छन् ।

विदेशमा रहेकी बन्दिताले गरेको सहयोगले अन्य मुलुकमा रहेका नेपालीलाई पनि सहयोग गर्न उत्प्रेरणा प्रदान गर्ने नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले बताए ।

काफ्ले भैरहवा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनका सदस्यसमेत रहेकी थिइन् । 

भैरहवामा रहँदा विभिन्न सङ्घसंस्थामार्फत सामाजिक सेवामा सक्रिय काफ्ले सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेकी छोरी हुन् ।


यसैगरी नगरको राहत कोषमा नगरका प्रमुखले  रु २१ हजार, उपप्रमुखले रु १५ हजार र वडाध्यक्षले १० हजारको दरले जम्मा गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले बताउए ।

सिद्धार्थनगरमा १३ वटा वडा  छन् । सिद्धार्थनगरको बिहीबारको नगरकार्यपालिकाको बैठकले कोरोना भाइरस नियन्त्रण राहत कोष स्थापना गरेको थियो । 

कोषमा नगरले यसअघि नै रु ११ लाख ५१ हजार जम्मा गरिसकेको छ । लकडाउनका कारण खाद्यान्न र तरकारी अभावलाई ध्यानमा राखी नगरले वडा कार्यालयको समन्वयमा टोलस्तरमा अत्यावश्यक वस्तुको प्रबन्ध मिलाउने तयारी गरेको छ । 

यसैगरी बिहानबेलुका हातमुख जोहो गर्न नसक्ने परिवार तथा ज्यालादारीमा काम गर्ने श्रमिको लगत सङ्कलन पनि शुरु भएकोल वडाका सबै जनप्रतिनिधि, राजनीतिक दल र नागरिक अगुवालाई त्यस्तो व्यक्ति पहिचान भएमा तत्काल नगरका प्रमुख र उपप्रमुखलाई सम्पर्क गर्न आग्रह गरिएको छ । 

उपप्रमुख काफ्लेले भनिन् ‘हामीले श्रमिकको लगत सङ्कलन शुरु गरेका छौंँ । सबैलाई यो अभियानमा सहयोग गर्न आग्रह गरेका छौंँ । लगत सङ्कलनपछि राहत वितरण गर्छौँ ।’

नगरपालिकाले समाजसेवी कृष्णप्रसाद न्यौपाने, नारायणप्रसाद अग्रवाल, सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपाने, उद्योग व्यापार सङ्गठनका अध्यक्ष नारायणप्रसाद भण्डारी, बैंकर्स एशोसियशनका अध्यक्ष रामराज उपाध्यायसहितको श्रमिकका लागि अत्यावश्यक खाद्यान्न व्यवस्थापन सहयोग समितिसमेत गठन गरेको छ । 

यसैबीच नगरपालिकामा लकडाउनको प्रभाव पूर्ण रुपमा परेको छ ।  सडकमा सवारी साधन तथा मान्छेको आवतजावत ठप्प भएको छ । लुम्बिनी प्रवेशद्वार भैरहवामा नगरपालिकाको सक्रियतामा शैक्षिक तालीम केन्द्रमा आइसोलेशन निर्माण भएको छ ।

भीम अस्पतालमा विशेष कोरोना उपचार केन्द्र बनिरहेको छ भने  युसिएमएसमा डब्लु एचओको मापदण्डानुसार ज्वरो मापन केन्द्र सञ्चालनमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप