बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनको चौथौ दिन: तिलोत्तमा  नगरपालिकाले विपन्नको घरमा पुर्‍याइदियो खाद्यान्न

शुक्रबार, १४ चैत २०७६, १७ : ३३
शुक्रबार, १४ चैत २०७६

बुटवल । लकडाउनको आज चौथौ दिन रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका अति विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न उपलव्ध गराएको छ । लकडाउन अवधिमा विपन्न वर्गलाई छाक टार्न समस्या भएपछि नगरपालिकाले टोल विकास संस्थाहरुको सिफारिसमा शुक्रबारदेखि खाद्यान्न उपलव्ध गराउन सुरु गरेको हो ।

शुक्रबार नगरपालिकाको वडा नम्बर ४ बाट सुरु गरिएको खाद्यान्न वितरण सबै वडामा चल्नेछ । वडा नं. ४ को सीमानगरमा नगर प्रमुख बासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चौधरीले खाद्यन्न वितरण सुरु गरेका हुन् । शुक्रबार वडा नं. ४ र ५ का विपन्न परिवारलाई खाद्यान्न उपलव्ध गराइएको र यसले दैनिक ज्याला मजदूरी गरेर खाने विपन्न वर्गलाई थोरै भएपनि राहत पुगेको नगर प्रमुख वासुदेव घिमिरेले बताए ।

कोभिड–१९ संक्रमणको जोखिमका कारण देशव्यापी ‘लकडाउन’ भएकाले मजदुरी गर्न नपाउँदा छाक टार्नै समस्या हुने परिवारका लागि तत्काल प्रतिपरिवार १० किलो चामल, दुई किलो दाल र एक किलो नुन घरमै पुर्‍याइदिने गरी नगरपालिकाले हिजो निर्णय गरेको थियोे ।

तिलोत्तमाले दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई काममा लगाउने निर्माण व्यवसायी, उद्योग÷धन्दा, ठेकेदार, घरधनीले उचित व्यवस्थापन गर्न पनि अनुरोध गरेको छ । नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले नगरपालिकाले कोही पनि नगरबासीलाई भोकै मर्न नदिने बताइन् ।

नगरका १७ वटै वडामा रहेका टोलविकास संस्थाहरुले विपन्नहरुको पहिचान गरी वडा कार्यालयमा जानकारी गराएपछि वडाको सिफारिसको आधारमा नगरपालिकाले खाद्यान्न उपलव्ध गराउने व्यवस्था मिलाइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप